+
+
देवेन्द्र पौडेलसँग अन्तर्वार्ता :

‘नयाँ पुस्ता नल्याए कमिटीहरु बुढैबुढाले भरिन्छन्’

हामीले ४० वर्ष मुनिका २० प्रतिशत युवा अनिवार्य गरेका छौं । यदि यसो नगर्ने हो भने सेलदेखि स्थायी कमिटीसम्म बुढैबुढाले भरिने भयो । सबैले मैले हिजो यसो गरेको, उसो गरेको भन्ने पुस्ता रहन्छ र यस्तो गर्नुपर्छ भन्नेहरुका निम्ति ढोका खुल्दैन ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १० गते १९:३०

१० पुस, काठमाडौं । नेकपा माओवादी केन्द्र आइतबार शुरु हुने राष्ट्रिय सम्मेलनबाट बहुपदीय प्रणालीमा जाने भएपछि स्थायी कमिटीका धेरै नेताहरुले पदाधिकारीमा आकांक्षा राखेका छन् ।

तर पदाधिकारी छनोटमा निर्वाचन गर्ने वा नगर्ने अन्योल कायमै भएकाले नेताहरुले अन्य दलमा झैं फलानो पदमा उम्मेदवारी दिन्छु भनेका छैनन् । उपाध्यक्षका आकांक्षी देवेन्द्र पौडेल पनि पार्टीले विश्वास गरेर दिने जुनसुकै जिम्मेवारीका लागि तयार रहेको बताउँछन् ।

नेतृत्वमा भने प्रचण्डको विकल्प देख्दैनन् । भन्छन्, प्रचण्डको नेतृत्व स्थापित गर्ने कुरामा म दृढ छु । तर (प्रचण्ड) पथ के गर्ने भन्ने चाहिँ स्थगित गरिएको विषय हो ।’

प्रस्तुत छ, भोलि आइतबार शुरु हुने राष्ट्रिय सम्मेलनका सन्दर्भमा नेता पौडेलसँग अनलाइनखबरकर्मी सइन्द्र राईरघुनाथ बजगाईंले गरेको कुराकानीको सम्पादित अंश :

माओवादी केन्द्रमा पहिलोपटक प्रदेश नेतृत्व मतदानको माध्यमबाट भयो । यो अभ्यास केन्द्रीय नेतृत्व चयनमा पनि लागू होला ?

धेरैजसो कम्युनिष्ट पार्टीहरु जनवादी केन्द्रीयताको संगठनात्मक प्रणाली अनुसार चल्ने गर्छौं । त्यो भनेको सकेसम्म सहमतिका निम्ति प्रयत्न गर्ने, सहमति हुन सकेन भने प्रतिस्पर्धाको आधारमा नेतृत्व चयन गर्ने हो । हामी पार्टी विधानमा पनि त्यही व्यवस्था गरेका छौं । नयाँ अभ्यास अरु दलहरुले गर्दै आएका थिए, तर औपचारिक लोकतन्त्रभन्दा वर्ग र समुदायको प्रतिनिधित्व नछुट्ने लोकतन्त्र हामीलाई चाहिएको छ ।

समकालीन राजनीतिमा प्रचण्ड जतिको गतिशील नेता, जसलाई समाज र माओवादी आन्दोलनले स्वामित्व लिन्छ, अरु देखा परेन । त्यसकारण फेरि एकपटक प्रचण्ड वरिपरि गोलबद्ध भएर यो पार्टीलाई पुनर्जीवित गर्नुपर्छ ।

औपचारिक लोकतन्त्रको अभ्यास दुई सय वर्षदेखि धेरै देशमा हुँदै आएको छ । हामीले चाहेको भनेको वर्ग, वर्गीय पक्षधरता र वर्गीय दृष्टिकोणको मापनलाई बिग्रन नदिने प्रतिस्पर्धा हो । त्यसैले सहमतिको कुरा पनि उठाएका छौं । एकाध ठाउँमा फरक प्रकृतिको अभ्यास पनि गर्दैर्छौं । बिगतमा अपवादबाहेक यसरी नेतृत्व चयन गरेको अभ्यास थिएन । सकेसम्म सहमति जुटाउने अभ्यास गरेका थियौं, तर सहमति जुट्न नसक्दा यस्तो अभ्यास (मतदानबाट नेतृत्व चयन) गरेका छौं । शुरुशुरुमा पचाउन गाह्रो पर्ला, अभ्यास गर्दै जादाँ सहज हुन्छ ।

तर प्यानल लिएर तलसम्म गुट हुने, माथिका गुटले तलका गुटको संरक्षण हुने भयो भने राम्रो हुन्न । क्षमता, योग्यता, त्याग तपस्या, मिहिनेत र इमान्दारी भन्दा पनि गुटगत भोट ब्यांकमा परिणत हुन थाल्यो भने गलत हुन्छ । तर निष्पक्ष र सहज तरिकाले उही प्रकृतिका साथीहरुबीच आंगिक अवधिको जिम्मेवारी दिन प्रतिस्पर्धा गराउँदा ठीक हुन्छ । राष्ट्रिय सम्मेलनमा पनि सहमति भएन भने सम्भवतः यो अभ्यास प्रयोग गर्न सक्छौं ।

तपाईंहरुले पहिले केन्द्रीय कमिटी अनि पदाधिकारी चयन गर्ने विधि अपनाउनुभएको छ । यस्तो किन गर्नुपरेको ?

संसारमा दुईवटा अभ्यास छन्, प्रत्यक्ष निर्वाचन र प्रतिनिधिले नेतृत्व चुन्ने । अमेरिकाको राष्ट्रपतिको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुन्छ । हुन त, प्रतिनिधिहरु निर्वाचित हुन्छन्, तर त्यसको परिभाषा प्रत्यक्ष निर्वाचित नै हो ।

हाम्रो प्रणाली भनेको प्रतिनिधिले नेतृत्व चुन्ने हो । जनताबाट प्रतिनिधि चयन हुन्छन्, उनीहरुले प्रधानमन्त्री चुन्छन् । जननिर्वाचित प्रतिनिधिले सभामुख चुन्छन्, यस्तो प्रणाली अभ्यास गरिरहेका छौं । पार्टीको विधानले प्रतिनिधिले कमिटी चुन्ने र कमिटीले पदाधिकारी चुन्ने व्यवस्था गरेको छ ।

माओवादीमा पनि मतदानको माध्यमबाट नेतृत्व चयन हुने ढोका खुलेको हो भन्न सकिन्छ ?

खुलेको हो । विगतमा विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को नेतृत्व प्रतिनिधिहरुको मतकै आधारमा चयन भएको थियो । तर यसपटक सहमति जुट्न सकेन, त्यसपछि अपनाइएको प्रणाली पनि नजिकबाट हेरेका छौं । प्रदेश कमिटीको संरचना चाहिँ मतदान नै भएर आउनु पुरानो अभ्यास होइन । नयाँ अभ्यासमा छौं, यसले एक प्रकारले निकास दिन्छ ।

उही प्रकृतिका साथीमध्ये कसलाई जिम्मेवारी दिने भन्ने टुंग्याउन पनि सजिलो हुन्छ । अहिले कस्तो छ भने समस्या भएपछि अध्यक्ष कमरेडलाई लगेर थुपारिदिने, एउटालाई जिम्मेवारी दियो भने अर्को रिसाउने अवस्था छ । युद्ध प्रधान भएको समयमा त्यो (मूल नेतृत्वले टुंग्याउनु) सही थियो, कमाण्डरले भनेपछि मान्ने हुन्थ्यो । तर अहिले फरक प्रकृतिको अभ्यासमा गइसकेपछि सबै समस्या मूल नेतृत्वसम्म लैजाने र नेतृत्वले निर्णय लिने कुरा निरन्तरता दियौं भने सम्बन्धित कमिटीको नेतृत्वलाई पनि बोझ धेरै हुन्छ । लोकतन्त्रको अभ्यास पनि नहुने भयो ।

अब माओवादीको नेता हुनलाई माथिको नेतालाई मनाउने भन्दा पनि कार्यकर्ताको मन जित्नुपर्ने भयो ?

हिजो पनि त्यस्तो हुन्थ्यो । कार्यकर्ताको ध्वनि मतको आधारमा निर्णय गरिन्थ्यो । अब ध्वनि मत मात्रै होइन, गणित पनि प्रयोग गर्ने अभ्यासमा गएका छौं । यसो गर्दैगर्दा विभाग र अन्तर्राष्ट्रिय संरचनामा रहेकाहरुलाई पनि समेट्नुपर्छ किनकी यो क्षेत्रमा रहेकाहरु कार्यकर्तासँग कम घुलमिल भएका हुन्छन् । कार्यकर्तासँग घुलमिल हुने जिम्मेवारी दिइएको हुँदैन ।

तर कार्यकर्तासँग घुलमिल नहुने, कार्यकर्ताको मन जित्न नसक्ने, कार्यकर्ताप्रति उत्तरदायी नहुने व्यक्ति नेताका रुपमा अगाडि बढ्न सक्दैन ।

माओवादीमा नेता हुन कार्यकर्ताको मन जित्नुपर्छ, उत्तरदायी हुनुपर्छ । नेतृत्वलाई रिझाएर मात्रै हुँदैन ?

अब माथि नेता खुशी पारेर मात्रै नेता हुन सकिँदैन । माथितिर होइन, अब तलतिर फर्किनुपर्छ । कार्यकर्ताको विश्वास जितेर मात्रै नेता हुन सकिन्छ भन्ने संकेत पार्टीभित्र देखिन शुरु गरिसकेको छ ।

अनुभव र उमेरले पनि साथ दिने भएकाले पार्टी र साथीहरुले विश्वास गरेर दिने जुनसुकै जिम्मेवारीका लागि पनि तयार छु ।

यसको अर्थ हिजो माओवादीमा जनवादभन्दा बढी केन्द्रीयता हाबी हुन्थ्यो भन्ने पनि त पुष्टि हुने भयो ?

वर्ग, वर्ग दृष्टिकोण र वर्ग पक्षधरता हाम्रो सिद्धान्त हो । त्यो सिद्धान्तलाई तिलाञ्जली दिएर निरपेक्ष प्रतिस्पर्धाको कुरा गर्दैनौं । कुनै कमरेड ४० वर्ष पूर्णकालीन भएर जनताको सेवा गरेको छ, तर तीन वर्षभित्रै हिरोइज्म प्रकट भएर आएको व्यक्तिसँग पराजित भयो भने त्यहाँ अन्याय हुन्छ ।

त्यसैले औपचारिक लोकतन्त्र मात्रै नभएर वर्गीय सिद्धान्तलाई पनि सम्बोधन गर्ने लोकतन्त्र हुनुपर्छ । त्यसका लागि आवश्यक प्रक्रियाहरु संस्थागत गर्न बाँकी छ । अभ्यास गर्दै जाँदा निर्वाचनको प्रणाली पनि लागू गर्ने र वर्गीय आन्दोलनमा रहेका नेताहरु पनि जोडेर कमिटीलाई साझा बनाउनेबारे सोच्न जरुरी छ ।

वर्गीय दृष्टिकोण बोक्ने र लामो योगदान भएकालाई समेट्दै प्रतिस्पर्धाबाट योग्य नेतृत्व चयन गर्न सजिलो होला र ?

जिम्मेवारी प्राप्त गर्ने नेताले कार्यकर्ताको विश्वास जित्न सक्नुपर्छ नि ! कार्यकर्तासँग घुलमिल हुने, सहकार्य गर्ने र मेरो नेता हो भन्ने प्रत्याभूति दिलाउन सकिएन भने त उसले नेतृत्व गर्न सक्दैन ।

हिजो औपचारिक जनवाद प्रयोग नगर्दा पनि कार्यकर्ताले जसलाई बढी रुचाएका छन्, ध्वनि मतका आधारमा तिनै नेतालाई जिम्मेवारी दिने गरेरै पार्टी चलेको थियो ।

अनियन्त्रित रुपमा संगठित सदस्यता वितरण गर्ने अनि कार्यकर्ताको मतका आधारमा नेतृत्व चयन हुँदा संसदीय भासमा कम्युनिष्ट फस्दै जाने आरोपबाट कसरी जोगिने ?

आन्दोलन त सिफ्ट हुनेवाला छ । हामी पञ्चायतदेखि लागेको पुरानो भनेर युवा पुस्तालाई आउन नदिएर ढोका बन्द गरियो भने आन्दोलन अगाडि बढाउन सकिदैन । पुरानो ब्याज भजाएर नयाँ आन्दोलनको नेतृत्व गर्न सकिँदैन । त्यसैले पुरानोलाई सम्मान गर्ने हो । वर्गीय आन्दोलनमा गरेको योगदानलाई पार्टीले कतै न कतै सम्मान गर्नुपर्छ । तर हिजोको पृष्ठभूमि नभए पनि अबको र आजको दुनियाँ बुझेको नयाँ पुस्तालाई पनि त ठाउँ दिनुपर्छ नि ।

त्यसैले हामीले ४० वर्ष मुनिका २० प्रतिशत युवा अनिवार्य गरेका छौं । यदि यसो नगर्ने हो भने सेलदेखि स्थायी कमिटीसम्म बुढैबुढाले भरिने भयो । सबैले मैले हिजो यसो गरेको, उसो गरेको भन्ने पुस्ता रहन्छ र यस्तो गर्नुपर्छ भन्नेहरुका निम्ति ढोका खुल्दैन । त्यसकारण आगमन र निकास दुवै हुनुपर्छ ।

अनुभव प्राप्त गरेको मानिस केन्द्रीय सल्लाहकार र जेष्ठ कम्युनिष्ट मञ्चमा जानुपर्छ, उहाँहरुलाई पार्टीको नीति निर्माणमा सहभागी गराइनुपर्छ । तर नयाँ पुस्तालाई पनि ल्याउनुपर्छ भनेर महिला, दलित, अल्पसंख्यक, युवाहरुलाई अनिवार्य कमिटीमा राख्ने व्यवस्था गरेका छौं ।

राष्ट्रिय सम्मेलनबाटै माओवादीमा रुपान्तरण (सिफ्ट) हुन्छ त ?

माओवादी हिजोको ढंगले चलेर हुँदैन । सिफ्ट नहुनु नै माओवादीको आन्तरिक समस्या हो । सिफ्ट हुन नसक्दा, पछिल्लो परिस्थिति अनुरुप आफूलाई परिवर्तन गरेर संगठनात्मक रुपमा, नयाँ कार्यक्रम अनुरुप कार्यक्रमिक रुपमा र विचार–सिद्धान्तको हिसाबले अब पुग्ने लक्ष्यप्रति प्रतिबद्ध भएर प्रशिक्षण दिने प्रणाली बनाउन नसक्दा माओवादीमा समस्या देखिएको हो ।

माओवादीमा नयाँ पुस्ता आउन सकेको छैन, अब ल्याउने भनेर बुझौं ?

हिजो माओवादीमा ठूलो संख्यामा नयाँ जेनेरेसन (पुस्ता) आएकै हो । लाखौं पूर्णकालीन थिए । जनमुक्ति सेनामा झण्डै ४० प्रतिशत महिला थिए । यो कोटा बनाएर भएको थिएन । ३५ प्रतिशत अनिवार्य महिला भनेर कोटा बनाएका थिएनौं । बरु कोटा बनाउँदा महिला झनै कम भएको छ । मुख्य कुरा वर्ग, नीति र कार्यक्रम प्रधान हो । जनताका पक्षमा आकर्षक नाराहरु लिएर गयौं भने सवै प्रकृतिका मानिस पार्टीमा आउँछन् ।

शान्ति प्रक्रियामा आएपछि माओवादीले संगठनात्मक संरचनामा एउटा धार सिफ्ट गर्न सक्नुपर्थ्यो । एजेण्डा, मुद्दा र संविधान ल्याउने बेलासम्म दुःख र महेनत गर्‍यो, तर संगठनात्मक क्षेत्रमा सुधार गर्न सकेन । घुमिफिरी अनुहार र साथीभाइ हेर्ने हुँदा माओवादी संगठनात्मक क्षेत्रमा अल्झियो । टुटफुट पनि भयो । विभाजनको कारणले मनोवैज्ञानिक असर तलसम्म पर्‍यो । अहिले माओवादी पुनर्जीवनको प्रक्रियामा छ । हामीले आठ लाख सदस्य बनाएका छौं, यो सानो संख्या होइन ।

माओवादी पुनर्जीवनको प्रक्रियामा फर्कियो भन्नुभयो । तर तपाईंहरुले बुर्जुवा र संसदीय भन्ने कांग्रेसमा युवा पुस्ता निर्णायक ठाउँमै पुगेको छ । यसलाई कति चुनौतीका रुपमा हेर्नुभएको छ ?

यसमा त उहाँहरुले हामीबाट अझै सिक्नुपर्छ । जुन उमेर समुहका साथीहरु युवा भनेर आउनुभएको छ । जनयुद्ध र आन्दोलनमा सहभागी भएर राजतन्त्र अन्त्य गरेर आएको पुस्ता अहिले माओवादीमा छ । त्यसैले भर्खरै उहाँहरुबाट सिकिहाल्नुपर्ने त्यस्तो केही पनि छैन ।

उहाँहरु (कांग्रेस) ६० वर्ष आसपास पुगेकालाई युवा मान्नु हुन्छ । ६० आसपास नपुग्दै ठूलो जिम्मेवारी सम्हाल्ने नेताहरु माओवादीमा छ । तर शान्ति प्रक्रियामा आइसकेपछि पनि पुरानै नेताहरु भएको हुनाले फरक प्रतिनिधि चाहियो भनेर हामीले ४० वर्ष उमेर मुनिका २० प्रतिशत युवा अनिवार्य गरेका हौं । अब हिजोको माओवादी हिजोका पुस्ताले हाँक्यो, नयाँ पुस्ताले नयाँ माओवादी हाँक्नुपर्छ ।

कांग्रेस र हामीले प्रयोग गर्ने लोकतन्त्र फरक छ । उहाँहरु निरपेक्ष लोकतन्त्र मान्नुहुन्छ, भोटमा मात्रै विश्वास गर्नुहुन्छ । त्यहाँ पराजित हुनेहरुलाई सम्बोधन गर्ने प्रणाली छैन । तर हामी पराजित भए पनि वर्ग आन्दोलनमा निष्ठापूर्वक लागेर आएका साथीहरुलाई समेटेर जानुपर्छ ।

युवा अनिवार्य त भन्नुभएको छ । तर वर्गीय पक्षधरताको आधार भनेर अर्को मानक निर्माण गर्नु हुन्छ । यो एकप्रकारको नियन्त्रित जनवाद पनि भयो । कसरी नयाँ पुस्ता निर्णायक तहमा आउँछन् त ?

नियन्त्रित जनवाद प्रयोग गरेका छैनौं । जनवादी केन्द्रीयता भनेका छौं । जनवादको जगमा अडिएको केन्द्रीयता नै वैज्ञानिक छ । कांग्रेसको बढी केन्द्रीयता छ । २० प्रतिशत केन्द्रीय सदस्य सभापतिले स्वतः मनोनीत गर्न पाउँछन् । कम्युनिष्ट पार्टीमा भन्दा धेरै अधिकार सभापतिलाई दिइएको छ ।

हामीले जे हो, त्यही भन्यौं । जनवादी केन्द्रीयता भन्यौं । नीति निर्माण र केन्द्रीय नेतृत्व चयन गर्नेबेला जनवाद प्रधान हुन्छ । अनि नीति निर्माण भइसकेपछि र कमिटी बनिसकेपछि केन्द्रीयता प्रधान हुन्छ ।

देशभरबाट आएका माओवादीले राष्ट्रिय सम्मेलनमा निर्धक्क आफ्नो जनवाद प्रयोग गर्न पाउँछ ?

पाउँछन् । त्यही जनवाद प्रयोग गर्नकै निम्ति राष्ट्रिय सम्मेलन गर्दैछौं ।

सम्मेलनमा चाहिँ अध्यक्षले केन्द्रीय सदस्यहरुको प्रस्ताव ल्याउनुहोला । अनि त्यही पारित होला । यस्तो अवस्था बन्यो भने कसरी जनवादी प्रयोग भन्ने ?

जनवाद नै प्रयोग गरेर साथीहरु निर्वाचित भइसक्नुभयो । कतिपय ठाउँमा बहुमतले कुनै व्यक्तिलाई प्रस्ताव गरेपछि नेता चयन भएका छन्, खाली मतदान मात्रै नभएको हो । बहुमत भएपछि त त्यही व्यक्ति पदमा जाने हो ।

अर्कोतिर समावेशी विधानको व्यवस्था गरेका छौं । कोटा निर्धारण गरेका छौं । समाजको सापेक्षित उपस्थितिमा कमिटीमा छ । हाम्रो जतिको समावेशी अरु दलको कमिटी नै छैन । यो जनवादको अभ्यास हो । जनवाद भनेको लोकतन्त्र हो ।

राष्ट्रिय सम्मेलनमा पनि जनवादको भरपुर उपयोग गर्छौं । प्रचण्डकै प्रतिस्पर्धामा कोही नआउला । प्रतिस्पर्धा नगर्ने भनेरै नीति बनाएर होइन ।

प्रचण्डको भन्दा राम्रो नीति कसैले ल्याउन सक्ला र नेतृत्वमा दावी गर्न सक्ला भन्ने विश्वास लाग्दैन ?

नयाँ कुरा कसैले लिएर आयो भने खुला छ । अहिले भएकै साथीहरु मध्येबाट नयाँ कुरा कसैले लिएर आयो भने त्यो खुला छ । किन नसक्ने ? त्यो नै विकासको गति हो । त्यो हुन सकेन भने नयाँपन हुँदैन । अहिलेको समस्या त्यो पनि हो, एउटा ।

वैचारिक विकास अगाडि बढाउनलाई नै राष्ट्रिय सम्मेलन, लगत्तै महाधिवेशनमा जाने र बृहत वैचारिक बहस चलाउछौं । व्यक्तिलाई पद दिएर होइन, विचार र दृष्टिकोण दिएर मात्रै पार्टीमा आवद्ध गराउन सकिन्छ ।

राष्ट्रिय सम्मेलनले राजनीतिक बहसको ढोका खुला गर्छ ?

खुला गर्छ । समाजवाद भनेका छौं । के हो समाजवाद ? कसले र कसरी ल्याउने भन्ने बहस शुरु गर्छौं । त्यसको बहस यो सम्मेलनले खुला गर्छ र आउने महाधिवेशनमा स्पष्ट रुपमा अबको क्रान्तिका बाँकी कामहरु तय गर्छौं ।

कतिपय नेताले प्रचण्डपथबारे बोलेको सुनियो । यो बहसका रुपमा हो वा सन्दर्भ विशेषको अभिव्यक्ति मात्रै ?

प्रचण्डपथ भनेको युनिभर्सल ट्रुथका रुपमा नभएर हाम्रो देशको विशिष्ट विचार भनेका थियौं । विभिन्न पक्षसँग एकता गर्नुपर्ने परिस्थिति र शान्ति प्रक्रियामा आएपछिका राजनीतिक मुद्दाहरुलाई पनि समेटेर लैजानुपर्ने अवस्था आयो । कतिपयको असहमति पनि रह्यो । हामीले प्रचण्डपथको विचारलाई अगाडि बढाउने, तर अरुले लिएको विचारलाई समेट्नुपर्ने भएकाले उहाँकै (प्रचण्ड) प्रस्तावमा त्यसलाई स्थगन गरिएको हो । र एकता गर्दै जाँदा एमालेसँग एकता गर्ने स्थितिसम्म पनि पुग्यौं ।

प्रचण्डपथ नै भएको भए, त्यहाँ पुगिने थिएन । त्यो भन्दा अगाडि भएका एकताहरु पनि सम्भव थिएन । प्रचण्डपथ स्थगन गरेर बढाइएको एकताले गलत कि ठीक गर्‍यो भन्नेमा विश्वविद्यालयकै रुपमा शिक्षा दियो । विभिन्न एकताले शिक्षा दियो, त्यो एकीकरणसँगै जनयुद्धकै माओवादीहरु पनि विभाजित हुनु र टुटफुट हुनुले फरक प्रकारको शिक्षा दिएको छ ।

अर्का मन्त्रीले भनेको जस्तो प्रचण्डपथले लिएको विचारलाई व्यवस्थित र संस्थागत गरेर लैजानुपर्थ्यो । त्यहाँ कहीँ न कहीँ त्रुटि भएकै हो । नेतृत्व भनेको विशिष्ट अवस्था र विशिष्ट रुपमा आन्दोलनले सिर्जना गर्ने जिम्मेवारी हो । विचार र कार्यक्रम नेतृत्वसँग जोडिएको हुनाले नेतृत्व वरिपरि गोलबद्ध र केन्द्रीकृत हुने कुरा बेलाबखत त्रुटि भयो ।

हिजो प्रचण्डपथका ठूला कुरा गर्ने साथीहरु पनि छोडेर जानुभयो । विचारधारा नै भन्ने साथीहरु अन्तै पुग्नुभयो । प्रचण्डपथको संश्लेषण गरेर प्रस्तावकै रहनुभएका साथीहरु पनि हुनुहुन्न । प्रचण्डपथ बढी भयो भन्ने साथीहरु फेरि यही हुनुुहुन्छ । यी अनुभव हुन् ।

तर समकालीन राजनीतिमा प्रचण्ड जतिको गतिशील नेता, जसलाई समाज र माओवादी आन्दोलनले स्वामित्व लिन्छ, अरु देखा परेन । त्यसकारण फेरि एकपटक प्रचण्ड वरिपरि गोलबद्ध भएर यो पार्टीलाई पुनर्जीवित गर्नुपर्छ । किनकि उहाँ सक्रिय हुनुहुन्छ, नयाँ कुरा दिन पनि सक्नुहुन्छ । गतिशील पनि हुनुहुन्छ । उमेरले पनि बुढो भइसक्नुभएको छैन ।

अर्को, हामीलाई समाजवादमा पुग्ने प्रष्ट विचार चाहिएको छ । त्यो शब्द माओवादी आन्दोलनको दबावमा संविधानमा लेखिएको हो । अब जसले यो ल्याएको हो, उसैले रक्षा गर्छ । रक्षा मात्रै गरेर भएन, अगाडि बढ्नुपर्‍यो । यसको समाजवादमा जाने कार्यक्रम चाहिएको छ । अरुले यो परिवर्तन पनि बुझ्दैन, र अगाडि जाने कार्यक्रम पनि बुझ्दैन । त्यसकारणले प्रचण्डकै नेतृत्वमा पार्टीलाई पुनर्जीवित गर्ने भनेका छौं ।

प्रचण्डपथ भन्दा त माओवादीभित्रकै एउटा हिस्सा असहमत होला नि त ?

प्रचण्डपथ भनेरै कुनै कमिटीमा प्रस्ताव, छलफल भएको छैन । तर प्रचण्ड वरिपरि गोलबद्ध हुने भन्ने हो । राष्ट्रिय राजनीतिमा उहाँ गतिशील नेता हुनुभएकाले उहाँलाई मानेर यो पार्टीलाई पुनर्जीवित गर्ने हो । यो पार्टीलाई मात्रै पुनर्जीवित गरेर हुँदैन, मुद्दा र एजेण्डा मिल्ने अरुलाई पनि संगठित गर्नुपर्छ ।

प्रचण्ड जति शक्तिशाली र निर्णायक हुनुहुन्छ, त्यो भन्दा पनि शक्तिशाली बनाउने भन्ने हो ?

यसले अलिकति बहसको माग गर्छ । तपाईंहरुले भनेकै कारणले सार्वजनिक गर्नु उपयुक्त हुँदैन । प्रचण्डको नेतृत्व स्थापित गर्ने कुरामा म दृढ छु । तर पथ के गर्ने भन्ने चाहिँ स्थगित गरिएको विषय हो ।

बितेको झण्डै दुई वर्षयता जुन भूमिकामा सक्रिय देखिनुभएको थियो । त्यसैको पुरस्कार पनि भनौं, अहिले मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ । माओवादी बहुपदमा जाँदैछ, तपाईंले कुनै पद पाउने अवस्था छ ?

पार्टीले चुनावमा पठायो, त्यहाँ गएँ । स्थायी कमिटीको भूमिका दियो, त्यो निर्वाह गरेँ । केही समय गण्डकी प्रदेशको इन्चार्ज बनायो, सक्रिय भएर लाग्दा गण्डकी सरकार परिवर्तन भयो । राजनीतिमा नयाँ कोर्सको शुरुवात भयो ।

अहिले मन्त्रीको जिम्मेवारीमा छु । पार्टीले दिने कुनै पनि भूमिका निर्वाह गर्न स्वास्थ्यले पनि ठीक छु । पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गरेको अनुभव छ । जनयुद्धको अनुभव, शान्ति प्रक्रियामा प्रत्यक्ष सहभागी भएको अनुभव र उमेरले पनि साथ दिने भएकाले पार्टी र साथीहरुले विश्वास गरेर दिने जुनसुकै जिम्मेवारीका लागि पनि तयार छु । कुन जिम्मेवारी लिने भन्दा पार्टी र साथीहरुले विश्वास गरेर जुन जिम्मेवारी दिन्छ, त्यही लिने ।

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?