
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारसँग योजनाबद्धरुपमा देशको अर्थ प्रणालीलाई अगाडि बढाउने लक्ष्य नभएको टिप्पणी गरेका छन्।
- सांसद पौडेलले वैधानिक रेमिट्यान्सभन्दा आधा प्रतिशत अर्थात् १० खर्ब रेमिट्यान्स गैरकानूनी बाटोबाट भित्रिरहेको भन्दै यो सरकारको असफलता भएको बताए।
- उनले विकासका क्षेत्रहरुमा लक्ष्य हासिल गर्नेगरी बजेट नआएको र योजना आयोगको १६औं योजना अनुसार लक्ष्य हासिल गर्न नसक्ने उनको दाबी छ।
३१ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारसँग विकासको लक्ष्य नभएको भन्दै आलोचना गरेका छन् ।
मंगलबार प्रतिनिधिसभामा वैकल्पिक विकास वृत्त परिचालन सम्बन्धी विधेयकको छलफलमा भाग लिँदै सांसद पौडेलले सरकारसँग योजनाबद्धरुपमा देशको अर्थ प्रणालीलाई अगाडि बढाउने लक्ष्य नभएको बताए ।
‘म यो देशलाई यहाँसम्म पुर्याउँछु भन्ने प्रक्षेपण सरकारसँग हुनुपर्यो नि यी कतिपय क्षेत्रहरुमा, कृषिको क्षेत्रमा, पर्यटनको क्षेत्रमा, उर्जाको क्षेत्रमा, यातायातको क्षेत्रमा खानेपानीको क्षेत्रमा, त्यो प्रक्षेपण सरकारसँग भएन’, उनले भने ।
‘बजेटमा एक खर्बको प्रक्षेपण गरिएको छ जबकि २० अर्ब रेमिट्यान्स आउँछ, अरु बाटो, स्रोत र तरिकाहरु प्रयोग गरेर १० खर्ब रेमिट्यान्स आउँछ, यही जेठमा पौने २ खर्ब रेमिट्यान्स आयो’, उनले भने ।
अहिले पनि वैधानिक रेमिट्यान्सभन्दा आधा प्रतिशत अर्थात् १० खर्ब रेमिट्यान्स गैरकानूनी बाटोबाट भित्रिरहेको भन्दै उनले यसलाई सरकारको असफलताका रुपमा चित्रण गरे ।
‘यो विधेयक त आएको छ, विधेयकको सफलताको पनि कामना गर्न चाहन्छु, तर, देशलाई खासगरी उर्जाको क्षेत्रमा, सडकको क्षेत्रमा, रेलमार्गको क्षेत्रमा, सुरुङमार्गको क्षेत्रमा, औद्योगिक पार्कको क्षेत्रमा, सहरी पूर्वाधारको क्षेत्रमा म यति वर्षमा यहाँ पुर्याउँछु भन्ने प्रतिबद्धता सरकारसँग भएन’, उनले भने ।
विकासका क्षेत्रहरुमा लक्ष्य हासिल गर्नेगरी बजेट नआएको उनको टीप्पणी छ । बजेटले योजना आयोगको १६औं योजना अनरुप लक्ष्य हासिल गर्न नसक्ने देखिएको सांसद पौडेलको भनाइ छ ।
‘यो वर्षको आर्थिक नीति कार्यक्रम र खासगरी बजेट प्रस्तुत हुनेबेलासम्म, सातै प्रदेशमा प्रस्तुत भएको बजेटको विरोध, च्याताच्यातको प्रकृति हेर्ने हो भने सबभन्दा भद्रगोल छ’, उनले भने ।
प्रतिक्रिया 4