११ पुस, काठमाडौं । नेपाली चलचित्र ‘काँडेतार’को सम्पूर्ण छायांकन सकिएको छ । निर्देशक तथा कलाकार नवल खड्काले चलचित्रको छायांकन सकिएको अनलाइनखबरलाई जानकारी दिए ।
‘प्रदेश १ र २ का विभिन्न जिल्लामा ३५ दिन लगाएर चलचित्रको छायांकन सकेका छौं,’ उनले भने । यो चलचित्रमा नवलले शीर्ष भूमिकामा अभिनय गरेका छन् । त्यस्तै गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, रविन्द्र रञ्जन झा, मुरलीधर लगायतले चलचित्रमा शीर्ष भूमिकामा अभिनय गरेका छन् ।
प्रशान्त यादव, सञ्जय खतिवडा, रोमियन लिम्बू, प्रेम सुब्बा, पर्शुराम चौधरी, राजेन्द्र भगत, पन्नालाल चौधरी, प्रकाश अनुराग, पुष्प श्रेष्ठ, महेश गिरी, रवि शाह, रामेश्वर बुर्लाकोटी, केशव रायमाझी, अञ्जु केसी, खेम नेपाली, ज्ञानेन्द्र कोइराला, रामविश्वास थारु, मातृका घिमिरे, रितु चौधरी, प्रेम कार्की, प्रतीक श्रेष्ठ, छवि बैरागी घिमिरे लगायतले समेत चलचित्रमा अभिनय गरेका छन् । नादिया खड्का र सनया खड्काले बालकलाकारका रुपमा अभिनय गरेका छन् । चलचित्रलाई सौरभ लामाले खिचेका हुन् ।
शिवम् अधिकारी र नवल खड्काको लेखन रहेको चलचित्रको कार्यकारी निर्माता सत्यकला राई हुन् । चलचित्रले नेपाल–भारतको सीमानामा काँडेतार लगाउनुपर्छ भन्ने विषयलाई उठान गर्ने नवलले बताएका छन् ।
निर्देशक तथा कलाकार खड्काले भने, ‘सीमानामा काँडेतार लगाउँदा मुलुकबीचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन, असल छिमेकीसँगको सद्भाव पनि कायम राख्छ भन्ने चलचित्रको कथासार हो ।’ अहिलेसम्म २ करोड २५ लाख रुपैयाँ खर्च भइसकेको जानकारी दिँदै नवलले चलचित्रमा ३ करोड बढी लगानी हुने बताए ।
यो चलचित्र सार्वजनिक प्रदर्शनभन्दा अगाडि विदेशमा प्रदर्शन गरिने निर्माण टिमले जनाएको छ । त्यस्तै, देशका अधिकांश जिल्लामा चलचित्रको च्यारिटी शो गरिने नवलले बताए । ‘नयाँ सालबाट विदेश तथा देशभित्र च्यारिटी शो शुरु गर्छौं । त्यसपछि बल्ल वितरक, हल सञ्चालकसँगको सरसल्लाहमा प्रदर्शनमा ल्याउनेछौं,’ उनले भने ।
श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको नृत्य निर्देशन रहेको चलचित्रका गीतमा मणि थापा र दीपक शर्माको संगीत रहनेछ । चलचित्रलाई तारा थापा ‘किम्भे’ले सम्पादन गर्नेछन् । नवलले यसअघि ‘दशगजा’, ‘भीमदत्त’ जस्ता देशभक्तिले भरिएका चलचित्र बनाएका थिए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4