+
+
Shares

भन्सार एजेन्टको परीक्षा तत्काल सञ्चालन गर्न माग

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ पुष ११ गते १९:३१

११ पुस, काठमाडौं । भन्सार विभागले २०७७ चैत्र १७ गते भन्सार एजेन्टका लागि ६६० जना आवश्यक रहेको विज्ञापन आह्वान गर्‍यो । विज्ञापनअनुसार झण्डै साढे ९ हजारले आवेदन पनि दिए । २०७८ जेठमै परीक्षा हुने भनिएको थियो । तर अहिलेसम्म पनि विभागले परीक्षा नगराएर अन्याय गरेको भन्दै आवेदन दिएका परीक्षार्थीहरुले आइतबार प्रदर्शन गरे ।

भन्सार विभागमा धर्ना दिन पुगेका उनीहरुले तत्काल परीक्षा सञ्चालन गर्न माग गरेका छन् । पुराना भन्सार एजेन्टको स्वार्थमा परीक्षा नगर्ने चलखेल भएको आरोप उनीहरुको छ । प्लेकार्डसहित विभाग परिसरमा भेला भएका झण्डै पाँच दर्जन परीक्षार्थीहरुले तत्काल परीक्षाको मिति तोक्न विभागको ध्यानाकर्षण गराएका थिए ।

परीक्षा गराउन नचाहने तत्वको प्रलोभनमा विभाग परेको उनीहरुको आरोप छ । पैसासँग परीक्षा नसाट्न, तत्काल परीक्षा मिती तोक्न माग गरिएको प्लेकार्ड बोकेर उनीहरुले प्र्रर्दशन गरेका थिए ।

कोरोनाका कारण त्यसबेला परीक्षा स्थगित गरिएको भएपनि अहिले आएर विभागले परीक्षा सञ्चालन गर्न चासो नदिएको उनीहरुको आरोप छ ।

‘यस अघि २०६७ मा खुलेको विज्ञापन पनि पुराना भन्सार स्वार्थले खारेज भयो, यो पटक पनि त्यही गर्न खोजेका छन् । जसरी पनि परीक्षा गराउनु पर्छ,’ प्रर्दशनमा सहभागी एक परीक्षार्थीले भने ।

नयाँ दरबन्दी थप हुँदा असर पर्ने भन्दै पुराना भन्सार एजेन्ट परीक्षा रोक्न लागेको भन्दै उनीहरुले विभागको ध्यानाकर्षण गराएका छन् । भन्सार एजेन्टको आवेदकसँग विभागले प्रतिआवेदन ३ हजारको दरले शुल्क उठाएको छ । साढे ९ हजार परीक्षार्थीबाट उठाएको शुल्क मात्र झण्डै तीन करोड हाराहारी भएको आवेदकहरुको दाबी छ ।

अर्थदेखि लोकसेवा धाउँदै परीक्षार्थी

विभागले कसैको प्रभावमा परेर परीक्षा रोकेको भन्दै परीक्षार्थीहरु दबाव समूह बनाएरै विभिन्न निकाय धाइरहेका छन् ।

परीक्षा गराउन माग गर्दै मंसिर पहिलो साता भन्सार विभागका महानिर्देशक नारायाणप्रसाद सापकोटालाई भेटेका उनीहरुले त्यसको केही समय पछि अर्थमन्त्री जनार्दन शर्मालाई भेटेका थिए । परीक्षा तत्काल गर्न अर्थमन्त्रीले विभागलाई निवेदककै अघि टेलिफोन निर्देशन दिए पनि विभागले नटेरेको एक परीक्षार्थीले बताए ।

अर्थमन्त्रीको निर्देशन पछि पनि परीक्षा मिति नतोकिए पछि विभागले परीक्षा गर्न लोकसेवा आयोगलाई भनेको जवाफ आफूहरुले पाएको र यसबारे लोक सेवामा गएर बुझ्ने काम भएपनि परीक्षाको मिति नतोकिएको ती परीक्षार्थीको गुनासो छ । विभाग र लोकसेवा आयोगले परीक्षा गराउन आन्तरिक तयारी गरेको भन्ने जवाफ दिए पनि व्यवहारमा परीक्षाबारे कुनै सूचना नआएको उनको गुनासो छ ।

परीक्षार्थीहरुको आरोप-पुराना एजेन्ट परीक्षा भाँड्ने कसरतमा

गत जेठमा कोभिडका कारण परीक्षा रोकिएपछि विभागले साउनमै परीक्षा गर्ने तयारी गरेको विभाग स्रोतको दाबी छ । तर, २० वर्षदेखि भन्सार एजेन्टको रुपमा एकलौटी काम गरेका पुराना भन्सार एजेन्ट परीक्षा रोक्न सबै उपायमा लागेको एक अधिकारी बताउँछन् ।

२०६७ सालमा खुलेको आवेदन रोक्न यसैगरी खारेज गर्न सफल भएका भन्सार एजेन्टहरु यस पटक पनि सोही कसरतमा लागेको ती अधिकारीको दाबी छ । ‘हाल १६९ जना रहेका यस्ता भन्सार एजेन्ट एक जनाले मासिक एक करोडसम्म आम्दानी गर्छन, आफ्नो रोजी रोटी बाँडिने गरी थप ६६० भन्सार एजेन्ट आउँछन् भन्ने पीर उनीहरुलाई छ,’ ती अधिकारीले भने ।

भन्सार एजेन्टको परीक्षा भाँड्न लागि परेका उनीहरुले यस पटकको परीक्षा रोक्न सार्वेच्चमा रिट हालेका थिए । उनीहरुले नयाँ एजेन्टको परीक्षामा आफूहरुलाई सहभागी नगराइएको भन्दै परीक्षा रोक्न रिटमा माग गरेका थिए । तर,सर्वोच्चमा रिट हालेकाहरुले नै परीक्षामा सहभागी हुन आवेदन फारम भरेको लिखित प्रमाण भन्सार विभागले सार्वोच्चमा बुझए पछि उनीहरुको रिट खारेज भएको थियो ।

आयात र निर्यातको माल वस्तु छुटाउन र भन्सार सम्बन्धी प्रशासनिक कामका लागि निकासी–पैठारीकर्ताले भन्सार एजेन्ट राख्नु पर्ने कानुनी व्यवस्था छ । कानुनमै स्पष्ट कमिशन तोकिएका यस्ता भन्सार एजेन्ट २०५७ साल याता नयाँ थप नहुँदा देशभरका २८ वटा भन्सार कार्यालयको एजेन्टको हालीमुहाली तिनैको हातमा छ ।

परीक्षा रोकिन्न : विभाग

कोभिड र सर्वोच्च अदालतमा परेको रिटका कारण परीक्षा सञ्चालन गर्न ढिलाई भएको दाबी भन्सार विभागले गरेको छ ।

रिट खारेजीको पूर्णपाठ आइसकेपछि नयाँ आवेदनमा परीक्षा गर्न लोक सेवा आयोगमार्फत आन्तरिक तयारी भइरहेको विभागका निर्देशक एवं सूचना अधिकारी पुण्याबिक्रम खड्काले बताए । एकै पटक धेरै परीक्षार्थीलाई सहभागी गराएर परीक्षा गर्नु पर्ने भएकाले परीक्षा मिति र समयबारे लोक सेवा आयोगसँग परामर्श भइरहेको उनले बताए ।

देशभरबाट सहभागी हुने परीक्षार्थीको बाटोको समयलाई समेत ख्याल गरेर विभागले छिट्टै परीक्षा तालिका सार्वजनिक गर्ने उनले बताए । एजेन्टको परीक्षा शनिबारको दिन गर्नु पर्ने र लोकसेवाको परीक्षाको यस अघिनै घोषित तालिका कारण पनि परीक्षा मिति तय गर्न कठिन भएको खड्काले बताए । ‘परीक्षा हुन्छ, हामी आन्तरिक तयारी तीब्र रुपमा गरिरहेका छौं, परीक्षार्थीले अब केही समय धैर्य गरिदिनुस्’ निर्देशक खड्काको आग्रह गरे ।

परीक्षा भाँड्न कुनै चलखेल भएको छैन  : महासंघ

भन्सार एजेन्ट महासंघले भने नयाँ एजेन्टको परीक्षा भाँड्न कुनै चलखेल नगरेको दाबी गरेको छ ।

हाल २० वर्षदेखि काम गरिरहेका एजेन्टहरुको अनुभवलाई सम्बोधन नगरी ठूलो संख्यामा नयाँ एजेन्ट खुलाइनु विभागको कमजोरी भएको महासंघका महासचिव विष्णुमणि खनालले बताए ।

विभागले अध्ययन नगरी आवश्यकता भन्दा बढी मात्रामा एजेन्ट थप्न लागेको आरोप पनि उनको छ । ‘केही भन्सार प्रतिनिधिहरुले परीक्षामा सहभागी हुन नपाएकाका कारण रिट हालेका हुन्, त्यो जायज पनि थियो,’ महासचिव खनालले भने । महासंघ भन्सार एजेन्ट थप गर्ने पक्षामा रहेपनि विभाग एकलौटी ढंगबाट अघि बढेको महासचिव खनालले आरोप लगाए ।

लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?