
१२ पुस, काठमाडौं । क्रिसमस मनाउनका लागि आफ्नो फार्म हाउस पुगेका बलिउड अभिनेता सलमान खानलाई सर्पले टोक्यो । सर्पले टोकेपछि सलमान तत्काल अस्पताल पुगे । उनको ६ घन्टासम्म अस्पतालमा उपचार गराएर फर्किएका थिए । सलमानले आफूलाई सर्पले ३ पटकसम्म टोकेको बताएका छन् ।
यसैबीच, सलमानले आइतबार राति परिवार र साथीहरुको साथमा फार्म हाउसमा आफ्नो ५६ औं जन्मदिन मनाएका छन् । उनले जन्मदिन मनाउँदै गर्दा आफ्नो नयाँ चलचित्रको विषयमा समेत जानकारी दिएका छन् ।
सलमानले चलचित्र ‘बजरंगी भाइजान’को सिक्वेलको नाम ‘पवनपुत्र भाइजान’ हुने जानकारी समेत दिएका छन् ।
यस्तै, उनले अनिष बज्मीको नयाँ चलचित्रमा समेत काम गर्न लागेको बताएका छन् । उनले चलचित्र ‘आरआरआर’का निर्देशक एसएस राजमौलीसँग कुनै चलचित्रमा काम गर्न नलागेको बताएका छन् ।
सलमानले अभिनेता शाहरुख खानको नयाँ चलचित्र ‘पठान’ आफ्नो चलचित्र ‘टाइगर ३’ भन्दा अगाडि रिलिज हुने समेत सञ्चारकर्मीलाई जानकारी दिएका छन् । सलमानले आफूलाई सर्पले टोकेको विषयमा रमाइलो किस्सा समेत सुनाएका थिए ।
उनले रमाइलो शैलीमा भने, ‘कन्दारी कन्दारी सुनेर सर्पले पनि अब टोक्नुपर्छ भनेर सोच्यो होला । मानिसहरु कराएपछि फेरि उसले मलाई टोक्यो । भीड निक्कै बढेपछि उसले फेरि एक पटक मलाई टोक्यो । अस्पताल गएपछि मलाई सर्पको विषको हरेक प्रकारको एन्टिडोज दिइयो । म फार्म हाउस फर्किंदा पनि सर्प यही नै थियो । उसलाई मैले समातेर सेल्फी खिचे अनि छाडिदिएँ । सर्पसँग मेरो मित्रता गाँसियो । अहिले पनि यतै कतै फार्म हाउसमै होला ।’
सन् १९६८ साल डिसेम्बर २७ तारिखमा जन्मिएका सलमानले अभिनय गरेको पछिल्लो बलिउड चलचित्र ‘अन्तिम’ हो ।
प्रतिक्रिया 4