+
+

नयाँ पर्यटकीय गन्तव्य बन्दै गुण्डुको पाथीभरा वैष्णोदेवी

अभिजित थापा अभिजित थापा
२०७८ पुष १२ गते १३:५९

१२ पुस, काठमाडौं । मन्दिरको मुख्यद्वार अगाडि नै ‘मेरो सन्तान मलाई नै नचढाऊ’ भन्ने उक्ति सूचना पाटीमा राखिएको छ । चारैतिर डण्डीले बारेको मन्दिरभित्र बाघमाथि बसेकी देवीको मूर्ति देख्न सकिन्छ । यो भक्तपुरको गुण्डुमा अवस्थित शाकाहारी पाथीभरा देवीको मन्दिरमा देखिने दृश्य हो ।

पाथीभरा देवी भन्नेबित्तिकै पशुबली अनिवार्य मानिन्छ । पाथीभरामा मात्रै होइन, देशभरका अधिकांश शक्तिपीठमा देवीलाई अनिवार्य बली दिने गरिन्छ । तर, पाथीभराकै प्रतिमूर्ति मानिएको गुण्डुकी पाथीभराको भने फरक विशेषता पाइन्छ, त्यो हो शाकाहारी शक्तिपीठ ।

पाथीभरालाई वैष्णोदेवीको स्वरुपमा पूजा अर्चना र आरती गरिन्छ । मन्दिरबाट सर्वसाधारणको सुलभताको हेतु विवाह अधुरा काम पूरा गर्ने, विदेश यात्रा वा परिवारको नाममा एक वा दुई समय नै भोग लगाउने ब्राह्मण उपलब्ध गराई समन्वय पनि गरिन्छ ।

गुण्डुकी पाथीभराको अवस्थिति

मझौला पहाडका भित्ताहरुमा अवस्थित गुण्डुका गाउँहरुमा भर्खरै सहज मोटरबाटो बनिरहेको छ । हाल बन्दै गरेको बाटोले गाउँगाउँ घुम्ने आन्तरिक पर्यटकहरु र वरपरका मन्दिर एवं तीर्थधामहरु जान इच्छुक तीर्थालुहरुलाई सहज बनाएको छ । सूर्र्यविनायक नगरपालिका–७ मा २०७५ मा निर्माण भएको पाथीभरा वैष्णोदेवी माताको स्थल एउटा रमणीय र मनमोहक पहाडी भेगमा अवस्थित छ । सामान्यतया शक्तिपीठ भन्नेबित्तिकै बली प्रथा र आस्था र परम्परामा आश्रित जनमान्यताहरु बुझिन्छ । तर यहाँको कथा अलिक फरक छ ।

काठमाडौंमा नौवटा शाखा रहेको श्रीमद्भागवत तथा गौसंरक्षण केन्द्रको मुख्य पुजारी गुरु श्री १०८ तथा भागवत रसिक अरविन्द शास्त्रीज्यूको रोहबरमा पाथीभरा मातालाई कुनै उपयुक्त स्थलमा प्राणप्रतिष्ठा गर्ने मानसिक तयारी र संकल्प गरिएको थियो । गुण्डु निवासी स्थानीय अर्जुन बस्नेतले साढे ६ रोपनी जग्गा दान गरेपछि यही ठाउँमा मन्दिर निर्माण गरिएको हो । पाथीभरा मातालाई यहाँ प्राणप्रतिष्ठा गर्नुअघि गुरु महाराज शास्त्रीसँगै यस केन्द्रका पुजारीहरु ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा गएर त्यहींका मन्दिर व्यवस्थापन र पुजारीसँग समन्वय गरी माताकै अनुग्रहमा अखण्ड दीप बालिएको थियो ।

सो अखण्डदीपलाई केही लालटिनहरुमा राखेर केन्द्रकै पुजारीहरुको निवासस्थल कौशलटारमा निरन्तर ५ वर्षसम्म राखिएको थियो । यसै अवधिमा गुरु महाराज अरबिन्दबाट १०८ पटक विभिन्न स्थलमा श्रीमद्भागवत महापुराण वाचन गर्ने संकल्प गरी सो पुण्य कार्य पूरा गरिएको थियो । अर्काे चरणमा गुरु र अन्य पुजारीहरु ताप्लेजुङ पाथीभरा माताको स्थलमा गएर अखण्डदीप सेलाउने काम गरिएको थियो ।

अहिले मन्दिरस्थलका पुजारीद्वय अविनाश तिमल्सिना, डेगराज गौतम र कार्यालय सचिव चक्रपाणि अधिकारीसँगै अन्य सहयोगीहरुद्वारा यस पूज्यस्थलको व्यवस्थापन भइरहेको छ ।

एउटा ठूलो ढलोटको डमरुसहित त्रिशूल पनि यहींबाट साथमा लगी पाथीभरा पुर्‍याएर फर्काइएको थियो । सो मनमोहक त्रिशूल अहिले मन्दिर क्षेत्रमा उभ्याइएको छ । यसै स्थानमा मनै लोभ्याउने मझौला कदकी अत्यन्त्य राम्रो पाथीभरा वैष्णोदेवीको मूर्ति राखिएको छ । थान अगाडि आकर्षक गणेश र शिवलिंग पनि स्थापना गरिएको छ । पाथीभरा माताको पश्चिम प्रांगणमा भारतको गुजरातमा रहेको द्वारिकानाथबाट सानो विग्रह ल्याएर द्वारिकाको पनि प्राणप्रतिष्ठा गरिएको मन्दिरका पुजारीहरु बताउँछन् । हाल सानो टिनको मन्दिरमा प्रतिष्ठित गरिएको द्वारिकानाथ र अगाडिको पाथीभरा माताको पूजास्थानलाई बृहत् गुरुयोजना बनाई एउटा आकर्षक धाम बनाउने तयारी भइरहेको व्यवस्थापनले जनाएको छ ।

माताको मुख्य थान दशैंको नवमीमा मात्र सर्वसाधारणको लागि खुला रहन्छ । तर अन्य सबै दिनमा माताको दर्शन गर्न सकिन्छ । किनकि हाल मन्दिर थान खुल्ला रुपमा देख्न सकिनेगरी बनाइएको छ । मात्र मूर्तिसम्म पुग्न पाइँदैन ।

धार्मिकसँगै पर्यावरणीय पर्यटकको लागि गन्तव्य

मन्दिरबाट उत्तरपूर्वको कच्चीबाटो हुँदै रमणीय जंगलको बीचबाट सूर्यविनायक गणेशथान पुग्न सकिन्छ । बाटैमा श्रीयुद्धभैरव गणले तालिम गर्दागर्दै छाडेको पुरानो हवाई जहाज टेन्ट र वरपर रमाइलो गर्ने भीडहरु देख्न सकिन्छ । नजिकै पहाडको फेदीमा अवस्थित साना मन्थली गाउँ र कार्की गाउँहरु छन् । त्यहाँबाट पश्चिम बाटो समाउँदै बाटो मुन्तिर लाग्दा मनमोहक लिखानारायणको मन्दिर पुगिन्छ । यो हाल निर्माणाधीन अवस्थामा छ । यही बाटो हुँदै डाँडाको टुप्पामा रहेको सवर्णेश्वर मन्दिर पनि जान सकिन्छ । अर्थात्, पाथीभरा वैष्णोदेवीको मन्दिरबाट दक्षिणपूवै लागेर माथि पाइलट बाबाधाम पनि पुग्न सकिन्छ । त्यहींबाट साहसिक पर्यटनको लागि विकास गरिएको जिपलाइन पनि पुग्न सकिन्छ । यस अर्थमा गुण्डु स्थल वरिपरि हाइकिङ, वनभोज र रमाइलो यात्राका पर्याप्त स्थलहरु छन् । हाल मन्दिर छेउ स–साना चियापसलहरु छन् । तर यहाँ पुग्नेहरुले खानपिनको आफ्नै व्यवस्था गर्दा बेस हुन्छ ।

पाथीभरादेवी मातालाई भक्तालुहरुको मनोकामना पूरा गर्ने देवीको रुपमा लिइन्छ । माता विभिन्न स्थालहरुमा प्रकट हुने वा विशेष दैविक शक्ति भएका दैविक अनुग्रह पाएका धार्मिक व्यक्तिहरुको सपनामा आई कुनै विशेष स्थलमा रहन चाहेको कुरा भन्ने गर्छिन् भन्ने लोकास्था रहेको छ । नजिकै सुवर्णेश्वर महादेव, अनन्तलिंगेश्वर महादेव र पाइलटबाबा धामले पनि यस क्षेत्रलाई वास्तवमै विशेष तीर्थस्थल बनाएको छ ।

(थापा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?