१२ पुस, कञ्चनपुर। साढे चार वर्षअघि कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित नेपाल-भारत सीमा क्षेत्रको विवादमा गोविन्द गौतम शहीद बने । नगरपालिका-४ कारगिलडाँडा नजिकै नेपाली भूभागमा कल्भर्ट निर्माणको विषयले उग्ररुप लिँदा भारतीय सुरक्षाकर्मीको गोली लागेर गौतमले सीमामै शहादत प्राप्त गरेका थिए ।
सिङ्गो मुलुकको ध्यान पुनर्वासतिर तानियो । स्थानीयस्तरदेखि राष्ट्रिय राजनीतिमा समेत चर्चा पाएको उक्त विषय अहिले सेलाए पनि त्यहाँ नेपाल–भारतबीचको सीमा समस्या उस्तै छ ।
गौतम शहीद बनेको तीन वर्षपछि सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं हालका आन्तरिक आर्थिक मामिलामन्त्री तारालामा तामाङले पूर्वाधार विकासको बजेट उपलब्ध गराएपछि शहीदको शालिकका साथै स्मृति पार्क निमार्ण गरिएको छ ।
स्थानीय आइबीआरडी बजारदेखि घटनास्थल (कारगिल डाँडा)सम्म सडकको नामकरण आनन्द मार्ग राखिएको छ । नेपाल–भारत मुख्य सीमास्तम्भ नं २०० नहुँदा उक्त क्षेत्रमा सीमा विवाद हुन पुगेको स्थानीयवासीको भनाइ थियो । ‘दाइ घर निर्माणको तरखरमा हुनुहुन्थ्यो ।’ शहीद गोविन्दकी भाइबुहारी राधिका गौतमले भनिन्, ‘न त दाइको घर पूरा भयो न दाइ लडेको सीमा विवाद नै सुल्झियो ।’

उक्त घटनापछि झण्डै एकवर्ष सो नाकाबाट नेपाली र भारतीयबीच आवागमन नै ठप्प रहेपछि पछिल्लो वर्षमा आवतजावत निर्वाधरुपमा भइरहेको उनले बताइन् । ‘विगतको भन्दा सीमामा त्यस्तो थिचोमिचो नभएकै कारण हामी पारी भारतीय बसही बजारमा किनमेल गर्न गइरहेका हुन्छौँ’, राधिकाले भनिन्, ‘सीमा छुट्याउने विषय टुङ्गो नलाग्दा कहिले फेरि विवाद र लफडा हुन्छ भन्ने पिरलो मनमा रहिरहन्छ ।’
उक्त घटना र कोरोनापछि नेपाली पक्षले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बाक्लो उपस्थिति बनाएकाले त्यहाँको वातावरण शान्त नै रहेको स्थानीयबासीको भनाइ थियो । गाउँको मुख्य चोकमै राष्ट्रिय प्रजातन्त्र पार्टीले शालिक बनाउने भनेको थियो’, गौतमले भनिन्, ‘पछि सासूससुराको आग्रहमा आफ्नै जग्गामा शहीद पार्क र शालिक बनाइयो ।’
शहीद गौतमका परिवारले घटनाका बेला अनेक आश्वासन पाए पनि अहिले कतैबाट वास्ता नभएको दु:खेसो गरेका छन् । सहीद गौतमकी श्रीमती लक्ष्मी काठमाडौं बस्छिन्। स्थानीयवासी बृद्ध खड्कबहादुर सुनारले भने, ‘यो नाकाबाट आवागमनमा कुनै रोकतोक छैन नेपाली र भारतीयले सीमाको क्षेत्र दाबी गर्नेक्रम आ-आफ्नै किसिमको छ ।’
उनले कल्भर्टको करिब ५०० मिटर परसम्म नेपाली भूभाग रहे पनि दशकौँयतादेखि नै भारतीय पक्षले नियन्त्रणमा लिएको जिकिर गरे । ‘नेपाल–भारत सर्भेक्षण टोली आएर सीमा समस्या समाधान गर्ने कुरो भए पनि यहाँ पनि केही सुरसार भएको छैन’, बृद्ध सुनारले भने, ‘दुवै पक्षले समाधान गरे त झन्झटै सकिन्थ्यो ।’
कारगिल डाँडामा रहेको सशस्त्र प्रहरी बल बिओपी पोष्टका सशस्त्र प्रहरी नायब निरीक्षक टेकबहादुर सिंहले पनि हाल सीमा क्षेत्रमा कुनै समस्या नरहेको बताए । ‘यहाँ २०० नम्बर सीमा नहुँदा दशगजा छुट्याउनु पर्ने भएको छ’, उनले भने, ‘दुवै देशबीचको सर्भेक्षण पछि यो विषय टुङ्गो लगाउन आवश्यक छ ।’ प्रहरी नायब निरीक्षक सिंहले हरेक हप्ता वा १० दिनमा सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बलको संयुक्त सीमा गस्ती भइरहेको बताए ।
‘संयुक्तरुपमै यहाँका सीमा पिलर र सीमा क्षेत्रको शान्तिसुरक्षा र अपराध नियन्त्रणमा हातेमालो भइरहेको छ’, उनले भने, ‘विगतको भन्दा सीमामा अहिले हाम्रो उपस्थिति बढ्दै गएको छ ।’
गुल्लरको रुखलाई सीमास्तम्भ मान्दा…
कारगिल डाँडानजिकै रहेको खोलामा अहिले चारवटा ह्युमपाइप राखिएका छन् । सोही कल्र्भटमाथि विवाद हुँदा सीमा विवाद चुलिएको थियो । सोही कल्भर्ट नजिकै रहेको गुल्लरको रुखलाई भारतीय पक्षले २०० नम्बर सीमास्तम्भ भएको जिकिर गरिरहेको छ ।
‘भारतले गुल्लरको रुखलाई सीमास्तम्भ भनी जिकिर गरे पनि अहिले भारतीय पोष्ट रहेको त्यो ठाउँ दशगजा थियो । ‘विसं २०२८ देखि सोही क्षेत्रमा बसोबास गर्दै आएका नेत्रबहादुर शाहीले भने, ‘भारतले रुखलाई सीमा भन्नुमा कुनै तुक छैन ।’ उनले हाल रहेको गुल्लरको रुखबाट पर दुई दशकअघि ढल्ने अवस्थामा रहेको सुकेको रुखमा विगतमा सीमा भएको जिकिर गरिएको थियो भने ।
‘सुकेको रुखमा कालो अक्षरले सीमा नम्बर लेखिएको थियो, पछि काटेर दाउरा चिरेकाले रुख नै रहेन’, शाहीले भने, ‘त्यही रुख सुनेर अहिले भारतीय पक्षले नेपालतर्फ रहेको गुल्लरको रुखलाई सीमा मानिरहेका छन् ।’

पुनर्वास नगरपालिकाको प्याराताल क्षेत्रदेखि पश्चिम बेलौरी हुँदै बेल्डाँडी गाउँपालिकाको सीमा क्षेत्रसम्म भारतसित लामो समयदेखि सीमा विवाद छ । ‘गुल्लरको रुख वर आफ्नो जमिन जोत्ने क्रममा भारतीय वन विभागले मलाई २०५४ सालमा नियन्त्रणमा लिएका थिए ।’ उनले भने, ‘अहिले गोविन्द गौतमको घटनापछि कल्भर्टबाट हिँडडुल नभएपछि छेउछाउबाट किनमेल गर्न भारत आउन जान दिइएकै छ ।’
आफ्नै जग्गामा टेक्न नपाएपछि…
०५९ सम्म आफ्ने खेत भोगचलन गरिरहेका स्थानीयबासी करनबहादुर सुनारलाई यतिबेला सोही खेतमा जान असहज भइरहेको छ । भारतीय पक्षले सीमा भनेको गुल्लरको रुखबाट १०० मिटर दक्षिण–पश्चिम सुनारको १५ कट्ठा खेतीयोग्य जमिन भारतीय पक्षले भोगचलन गर्न दिएको छैन । ‘सीमा विवाद समाधान गरेर जग्गा तेरो होइन, दशगजामा पर्यो भन्दिए पनि टन्टैसाफ हुने थियो’, उनले भने, ‘हरेक वर्ष तिरो तिर्छु तर, जग्गामा खुट्टा राख्न पाइँदैन ।’
सुनारले भारतीय पक्षले उक्त भूमि आफ्नो क्षेत्रको भन्दै आफूलाई भोगचलनमा रोक लगाएको गुनासो गरे । ‘अहिले पनि लाल पुर्जा मसित छ र बेलौरी नगरपालिकामा तिरो तिर्दैछु’, उनले भने,’ जग्गाका लागि धेरै गुहारेँ तर कहीँ कतैबाट सुनुवाइ नै भएन ।’
सुनारले आफ्नो जमिनसँगै जोडिएको जग्गाधनी मानबहादुर सुनारले भने भोगचलन गरिरहेको बताए । ‘मानबहादुरजीले जग्गा भारतीयलाई बन्धकी दिएका छन् ।’ सुनारले भने, ‘मैले जग्गामा टेक्न नपाएर अरूको मजदूरी गरेर खाद्यान्न जोहो गर्नुपरेको छ ।’ शहीद गौतमको घटनापछि नेपाल–भारतबीच संयुक्त सर्भेक्षण टोली बनाएर सीमा विवाद समाधान, सीमास्तम्भ पुनःनिर्माण र व्यवस्थान गर्न टोली गठन भएको थियो ।
कैलाली र कञ्चनपुरसित सीमा जोडिएको क्षेत्रको स्थलगत अनुगमन र सीमाको व्यवस्थापनका लागि गठित संयुक्त सर्भेक्षण टोलीले आफूहरूको क्षेत्रको विवाद तत्काल समाधान गर्नुपर्ने पुनर्वासबासीको माग छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4