
१२ पुस, काठमाडौं । गत शुक्रबार आगलागी भएको पानीजहाजका मालिकलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
करिब ७०० यात्रुहरू दक्षिणी जिल्ला बार्गुनानजिकै सुतिरहेको अवस्थामा जहाजमा आगो लागेपछि कम्तीमा ३९ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए ।
अनुसन्धानकर्ताहरूले सुरक्षाको बेवास्ता गरेको भन्दै उक्त घटनामा जहाज व्यवस्थापन र लगानीकर्तालाई दोषी ठहर गरेपछि प्रहरीले अनुसन्धानका लागि जहाज मालिकलाई पक्राउ गरेको हो । कूल ४२० जना मानिसलाई मात्र बोक्ने क्षमताको जहाजमा भारबहन क्षमताभन्दा अत्यधिक बढी यात्रु राखिएको र तीन तले उक्त जहाजबाट सुगान्धा नदीमा हाम फाल्नु परेको डरलाग्दो कथाहरू सुनाउँदै दोषी उपर कारबाहीको माग घटनामा बाँच्न सफल यात्रुहरूले गरेका छन् ।
मृतकमध्ये अधिकांश जहाजभित्र जलेर र निस्सासिएर मरेका थिए भने केही भाग्न खोज्दा पानीमा डुबेको उनीहरूले बताएका छन् । पानीजहाजका मालिक हुम जलाल शेखलाई सोमबार पक्राउ गरिएको प्रहरी प्रवक्ताले सञ्चारकर्मीहरूलाई बताए ।
ओबिजान–१० का क्याप्टेन र चालक दलसहित आठ जनालाई अदालतले पक्राउ पुर्जी जारी गरेको एक दिनपछि जहाजका मालिकलाई पक्राउ गरिएको हो । समुद्री प्रहरी अधिकारी महबुबुर रहमानले उक्त जहाजमा पानीको गहिराइमा रहेको समय दुर्घटनाको सामना गर्न पर्याप्त अग्नि नियन्त्रक र साधनहरू नभएको बताए ।
उनले एएफपीलाई भने, ‘हामीले बाँचेकाहरूसँग कुरा गर्यौं र उनीहरूले क्याप्टेनले जहाजको इन्जिन कोठामा आगलागी भएको झण्डै एक घण्टापछि मात्र जहाजलाई नदी किनारमा अवतरण गरेका थिए । यदि तिनीहरूले डुङ्गालाई रोकेर तुरुन्तै लङ्गर लगाएको भए यसले यी सबै बहुमूल्य जीवन बचाउन सक्थ्यो।’
बङ्गलादेशका विशेषज्ञहरूले मर्मत–सम्भारको कमी, सुरक्षा स्तर वेवास्था र समुद्री यात्रामा राखिएको अत्यधिक सङ्ख्या दुर्घटनाको कारण हुनसक्ने बताएका छन् ।
गत अगस्त महिनामा पनि यात्रुहरूले भरिएको एउटा जहाज बालुवाले भरिएको मालवाहक जहाजसँग ठक्कर खाँदा कम्तीमा पनि २१ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया 4