+
+

ओमिक्रोन भेरियन्ट र रुघाखोकीको लक्षण मिल्दोजुल्दो : अध्ययन

ओमिक्रोनबाट संक्रमित भएपछि ज्वरो आउने, निरन्तर टाउको दुख्ने, स्वाद वा गन्ध थाहा नहुने जस्ता कोभिड-१९ आम लक्षण देखिन्छन् । तर बेलायतमा गरिएको एक अध्ययन अनुसार ओमिक्रोनका संक्रमितमा यसअघिको भेरियन्टको संक्रमणमा नदेखिएका केही नयाँ लक्षण समेत रहेका छन् र कतिपय लक्षण रुघाखोकीसँग मिल्छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते १७:१५

१२ पुस, काठमाडौं । हाल विश्वव्यापी बनिरहेको कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टका लक्षण यसअघिका भेरियन्टभन्दा केही फरक देखिएका छन् ।

यस अघिका कोभिड भेरियन्टभन्दा ओमिक्रोन संक्रामक रहेको तर संक्रमित मानिस गम्भीर बिरामी हुने सम्भावना कम रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । यसैबीच, ओमिक्रोन र रुघाखोकीका लक्षण मिल्ने एक अध्ययनले देखाउँछ ।

ओमिक्रोनबाट संक्रमित भएपछि ज्वरो आउने, निरन्तर टाउको दुख्ने, स्वाद वा गन्ध थाहा नहुने जस्ता कोभिड-१९ आम लक्षण देखिन्छन् । तर बेलायतमा गरिएको एक अध्ययन अनुसार ओमिक्रोनका संक्रमितमा यसअघिको भेरियन्टको संक्रमणमा नदेखिएका केही नयाँ लक्षण समेत रहेका छन् र कतिपय लक्षण रुघाखोकीसँग मिल्छन् ।

बेलायतको कोभिड ट्र्याकिङ एप जेडओईमा उल्लेख गरिएका ओमिक्रोनका लक्षण रुघाखोकीसँग मिल्छन् । अर्थात् ओमिक्रोनबाट संक्रमित भएपछि रुघाखोकी लागेको बेलामा झैं नाकबाट पानी बग्ने, टाउको दुख्ने, थकान महसुस हुने, हाछ्युँ र घाँटी दुख्ने जस्ता लक्षण देखिन्छन् ।

‘ओमिक्रोन पोजिटिभ देखिएका अधिकांश मानिसले सामान्य रुघाखोकीका लक्षण महसुस गर्छन् अर्थात् संक्रमणपछि घाँटी दुख्न, नाकबाट पानी बग्न र टाउको दुख्न थाल्छ’, किङ्स कलेज लण्डनमा जेनेटिक ईपिडिमियोलोजीका प्राध्यापक एवं जेडओई एपका संस्थापक टिम स्पेक्टरले बताए ।

रुघाखोकीका लक्षण देखिने ५० प्रतिशत मानिसमा कोभिड संक्रमण देखिन थालेको हुँदा सार्वजनिक सन्देश प्रवाहको तरिका फेर्नुपर्ने पनि स्पेक्टरको भनाइ छ । ‘रुघाखोकी जस्ता लक्षण भएका आधा मानिसमा कोभिड देखिएको हुँदा तत्काल सार्वजनिक सन्देश प्रवाहको तरिका बदलेर मानिसको ज्यान बचाउँन आवश्यक छ’, उनले भने ।

त्यस्तै, कतिपय ओमिक्रोनका संक्रमितलाई वाकवाकी लाग्ने पनि स्पेक्टरको भनाइ छ । उनका अनुसार पूर्ण एवं बुस्टर खोप लगाएका मानिसमा समेत यो लक्षण देखिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?