+
+

पोखरामा १५ वर्षअघि हत्या गरेर फरार व्यक्ति बहराइनमा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते १९:००

१२ पुस, काठमाडौं । पोखरामा १५ वर्षअघि भएको एक हत्यामा संलग्न व्यक्ति बहराइनमा पक्राउ परेका छन् ।

इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपालले गरेको अनुरोधका आधारमा बहराइनमा प्रहरीले पोखराका अशोक गुरुङलाई पक्राउ गरेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार २९ वैशाख २०६३ मा पोखराको सात मुहानेमा भएको रोजन राईको हत्यामा उनी संलग्न देखिएका थिए ।

‘तर त्यसबेला उनको संलग्नता नखुल्दा उनी भागेर वैदेशिक रोजगारीका लागि बहराइन पुगेका थिए’ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुँवरले भने, ‘अहिले संलग्नता खुलेपछि २७ मंसिरमा गुरुङविरुद्ध रेड नोटिस जारी भएको थियो ।’

प्रहरीका अनुसार गुरुङले सामान्य विवादमा रोजन राईलाई दाउराको चिरपट प्रहार गरेर गम्भिर घाइते बनाएका थिए । लगत्तै उपचारका लागि अस्पताल लगिएकामा उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

इन्टरपोल नेपालका एक अधिकृतका अनुसार गुरुङलाई कूटनीतिक माध्यमबाट सुपुर्दगी गरेर कामाडौं ल्याउने प्रयास भइरहेको छ । ‘उनी संलग्न रहेको अदालती प्रमाणसहित ३० दिनभित्र उनलाई लिन टोली पठाउन भनिएको छ’ ती अधिकृतले भने, ‘त्यसैको तयारी गरिरहेका छौं ।’

एनसीबी नेपालले यही वर्ष सरकारी कागजात कीर्ते कसूरका आरोपी केदार ढुंगानालाई सुपुर्दगी गरेर पोर्चुगलबाट नेपाल ल्याइसकेको छ । साढे ३३ किलो सुन तस्करी प्रकरणका कृष्ण गोपाल अग्रवाल पनि इन्टरपोलकै सहयोगमा पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?