
१३ पुस, काठमाडौं। मलेसियाले सुरुमा कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्ट भेटिएका ८ अफ्रिकी मुलुकमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाएको छ ।
मंगलबार मलेसियाका स्वास्थ्य मन्त्री खाइरी जमालुद्दिनले दक्षिण अफ्रिकासहित ८ मुलुकमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाएको बताए । ओमिक्रोन विश्वभर व्यापक फैलिइरहेको हुँदा ८ मुलुकमाथि मात्रै यात्रा प्रतिबन्ध लगाउनु तर्कसंगत नभएको उनको भनाइ थियो ।
तर यसअघि यात्रा प्रतिबन्ध लगाइएका दक्षिण अफ्रिका, जिम्बाब्वे, मोजाम्बिक र मलावीसहितका ८ अफ्रिकी राष्ट्रलाई ‘उच्च जोखिम’ रहेका सूचीमा राखिएको पनि स्वास्थ्यमन्त्री जमालुद्दिनले बताएका छन् । ती मुलुकबाट आउने यात्रुलाई विमान स्थलमा थप कडाइ गरिने पनि उनको भनाइ थियो ।
मलेसिया सरकारले पहिलो पटक ओमिक्रोनका संक्रमित पुष्टि भएपछि कोभिडसम्बन्धी नियममा कडाइ गरेको छ । त्यहाँ क्रिसमस र नयाँ वर्षमा हुने जमघटमाथि प्रतिबन्ध लगाइएको छ भने उच्च जोखिममा रहेको उमेर समूहका मानिसले अनिवार्य बुस्टर डोज लगाउनु पर्ने छ ।
प्रतिक्रिया 4