+
+

महासचिवमा प्रचण्डले कसलाई रोज्लान् ?

वर्षमान पुन र जनार्दन शर्मालाई समदुरीमा राख्ने गरेका प्रचण्डले एक जनाको अनुपस्थितिमा अर्कालाई अघि बढाइहाल्ने सम्भावना कम देखिएको छ । त्यसैले आठौं राष्ट्रिय महाधिवेशन सकिंदासम्म पनि माओवादी केन्द्रमा प्रचण्डको उत्तराधिकारीको अनुहार स्पष्टै देखिने सम्भावना न्यून छ ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७८ पुष १३ गते १९:३४
नेकपा माओवादी केन्द्रका नेताहरु जनार्दन शर्मा (बाँया) र वर्षमान पुन ।

१३ पुस, काठमाडौं । ‘शायद म यो चुनाव (आउने चुनाव) लड्ने अन्तिम हुनसक्छ । हाम्रो महाधिवेशनमा हामी नेतृत्व परिवर्तनबारे पनि छलफल गर्दैछौं’ ९ कात्तिक २०७८ मा चितवनमा पत्रकारहरुसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए ।

प्रचण्डको यो अभिव्यक्तिले पार्टीभित्र भइरहेको नेतृत्व परिवर्तनको बहसलाई मलजल गरेको थियो । त्यतिबेला प्रचण्डले माओवादीमा आफूपछिको नेताको खोजी भइरहेको सन्देश दिएका थिए । तर पार्टीको आठौं महाधिवेशनको पूर्वसन्ध्यामा स्वयं प्रचण्डले पार्टीको मूल नेतृत्वमा आफ्नो विकल्प नदेखेको आशय प्रकट गरे ।

हालै हिमालय टीभीलाई दिएको अन्तर्वार्तामा प्रचण्डले आफूलाई प्रतिस्थापन गर्ने नेता पार्टीमा नरहेको आशय व्यक्त गरे । ‘…प्रतिस्थापन गर्ने खालको छैन’ उनले भनेका छन्, ‘सबै साथीहरुले नै नेतृत्वप्रति एउटा भरोसा, विश्वास जाहेर गरिराख्नुभएको छ । त्यसैले मैले केही समय उत्तराधिकारी तयार पार्ने प्रक्रियामा र पार्टीलाई एउटा सेटमा लैजाने भूमिका खेल्नुपर्ने महसूस छ ।’

११ पुसमा भएको महाधिवेशन उद्घाटन समारोहमा नेता मातृका यादवले प्रचण्डकै बोलीमा लोली मिलाए । प्रचण्डले बेलाबेला मलाई त छोड्न मन थियो भन्ने गरेको स्मरण गर्दै नेता यादवले भनेका छन्, ‘यसो भनेर धर पाइन्छ ? पाइँदैन । क्रान्तिलाई बीच बाटोमा छाडेर कोही नेता गएको छ र ? अवसरवादी मात्र जान्छ ।’ युवालाई नेतृत्वमा ल्याउनुपर्छ भन्नु पूँजीवादी शैली भएको भन्दै उनले माओवादीको मूल नेतृत्वमा प्रचण्डको विकल्प छैन भनेर प्रष्ट भनिदिए ।

जारी आठौं राष्ट्रिय महाधिवेशनमा पनि मूल नेतृत्व (अध्यक्ष) परिवर्तनको बहस भइरहेको छैन । बरु अध्यक्षपछिको कार्यकारी पद महासचिवमा को आउँछ ? आउने व्यक्तिले प्रचण्डको विकल्प दिन सक्छ कि सक्दैन भन्ने विषय जबर्जस्त उठेको छ ।

नेतृत्वको विकल्पका लागि प्रचण्डको भन्दा नयाँ विचार आउनुपर्ने नेता पम्फा भुसालको तर्क छ । प्रचण्डले परिवर्तित परिस्थितिमा आफूलाई ‘अपग्रेड’ गर्दै आएको र प्रचण्डले भन्दा नयाँ विचार, नयाँ कार्यदिशा लिएर जान सक्ने कोही नेता नआएकाले प्रचण्ड निर्विकल्प भएको उनको विश्लेषण छ ।

आफैं महासचिवका दावेदार रहेकी भुसाल कसैले प्रचण्डले भन्दा नयाँ विचार लिएर आए मूल नेतृत्व परिवर्तन हुने बताइन् । तर यथार्थ चाहिं के छ भने माओवादीको महाधिवेशनमा राख्न खोजिएको फरक मत समेत दर्ता हुन कठिन छ । त्यसैले नेता राम कार्कीले सञ्चारमाध्यम मार्फत फरक मत सार्वजनिक गरे ।

प्रचण्डको विकल्पका दाबेदार

नेतृत्व परिवर्तनबारे बहस भए पनि माओवादी केन्द्रले तत्काल प्रचण्डको विकल्प खोज्ने सम्भावना छैन ।

पार्टी वरीयतामा दोस्रो रहेका नेता नारायणकाजी श्रेष्ठ पार्टी नेतृत्वमा प्रचण्ड सधैं हुनुपर्छ भन्ने नभएकाे बताउँछन्, तर म अध्यक्ष हुन्छु भन्ने आँट देखाउन सकेका छैनन् । अध्यक्षमा प्रचण्डको विकल्प नदेखेका उनी जारी महाधिवेशनबाट अध्यक्षपछि कार्यकारी भूमिकामा को आउँछ ? र उसले आफूलाई कसरी विकास गर्छ ? भन्ने विषयले नेतृत्वको विकल्पबारे ठोस जवाफ दिने बताउँछन् ।

जनयुद्धकाल र शान्ति प्रक्रियामा आएको केही समयसम्म मोहन वैद्य, डा. बाबुराम भट्टराई, कृष्णबहादुर महराहरुलाई भावी नेतृत्वका रुपमा हेरिन्थ्यो । तर अहिले वैद्य र भट्टराई माओवादी केन्द्रमा छैनन् । महरा माओवादी केन्द्रमै छन् र महासचिवका आकांक्षी हुन् । तर सभामुख भएको बेला लागेको यौन दुर्व्यवहारको आरोप (जसमा उनले सफाइ पाइसके) का कारण शक्तिहीन जस्तै भएका छन् ।

महासचिवको दौडमा भने जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन र शक्तिबहादुर बस्‍नेत गुट बनाएरै अगाडि बढेका छन् । त्यसमा पनि संगठन विभाग प्रमुख शर्मा र अर्थ तथा केन्द्रीय कार्यालय प्रमुख पुनको नाम बढ्ता चर्चामा छ । दुवै नेताले पार्टी कमिटीहरु तथा भ्रातृ संगठनमा बलिया गुट बनाएका छन् ।

संगठन विभाग प्रमुख भएसँगै पार्टीमा हावी हुन थालेका जनार्दन शर्माले पार्टीमा प्रचण्डपछिको भूमिका आफूले निर्वाह गर्दै आएको बताउने गरेका छन् । ‘केपी ओलीको प्रतिगमन विरुद्ध पार्टीको तर्फबाट प्रचण्डपछि म लडेको हुँ’ उनले असोजमा भनेका थिए ।

आफूले स्थायी कमिटीमा पनि ३० लाख संगठित जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ संगठनात्मक फर्मूला प्रस्तुत गरेको उनले सुनाउने गरेका छन् । माओवादी केन्द्रलाई थप बलियो र सशक्त बनाउने भिजन आफूमा रहेको भन्दै उनले आफ्नो पक्षमा निरन्तर लबिइङ गर्दै आएका छन् ।

वर्षमान पुन पक्ष पनि कमजोर छैन । हेटौंडा महाधिवेशनपछि प्रचण्डले महरालाई महासचिव, वर्षमान सचिव थिए । महरालाई चुनौती दिने समूहका रुपमा वर्षमानको वरिपरि गोलबद्ध भएका नेताहरुमा जनार्दन समेत थिए । हाल केन्द्रीय कार्यालय इन्चार्ज र अर्थ तथा योजना विभाग प्रमुख समेत रहेका उनी बाह्य (अन्य दल र अन्तर्राष्ट्रिय) सम्बन्धमा अरु नेताहरुभन्दा आफू अगाडि रहेको दाबी गर्ने गर्छन् । ‘राजनीतिक नेतृत्व लिन र पाउन विचार, आन्तरिक र बाह्य सन्तुलन अति आवश्यक हुन्छ । आफूलाई त्यसैगरी अगाडि लैजानुपर्छ । मेरो जोडबल पनि त्यही हो’, नेता पुनले भन्ने गरेका छन् ।

शर्मा र पुनलाई प्रचण्डको उत्तराधिकारी बनाउनुपर्छ भन्ने नेताहरु यसबारे खुलेर बोल्दैनन् । अधिकांशको जवाफ छ, ‘अहिले भन्ने बेला भइसकेको छैन ।’

कसलाई टिप्लान् प्रचण्डले ?

महासचिवका दावेदार शर्मा र पुन दुवैले सार्वजनिक मञ्चहरुमा अहिले प्रचण्डको विकल्प नरहेको बताउने गर्दछन् । महासचिवका अर्की आकांक्षी पम्फा भुसाल पनि यही लाइनमा छिन् । सबैले सार्वजनिक रुपमा प्रचण्डकै वरिपरि गोलबद्ध भएर माओवादी आन्दोलन अगाडि बढ्छ भन्ने अभिव्यक्ति दिने गरेका छन् ।

प्रचण्डको सदाशयता आफूमा रहोस् भनेर नेता प्रभाकरले पछिल्लो समय ‘प्रचण्डपथ’ छाड्नु गल्ती भयो भन्ने गरेका छन् । भुसालले भने शर्माकै बोलीमा लोली मिलाइन्, पुन भने देश बाहिर भएका कारण यसबारे केही बोलेका छैनन् ।

तर आइतबार महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गर्दै प्रचण्ड स्वयंले प्रचण्डपथको च्याप्टर क्लोज गरिदिएका छन् । पार्टीमा छलफल बहस नगरी प्रचण्डपथ छोड्नु गल्ती भएको स्वीकार गरेका उनले यसलाई नयाँ विचारधारा निर्माणको सन्दर्भ सामग्री मात्र हुने बताएका छन् ।

तर महासचिव को भन्ने अन्याेल कायमै छ । स्वास्थ्यमा समस्या आएपछि उपचारका क्रममा पुन लामो समय देश बाहिर रहे । उपचार प्रक्रिया लम्बिएका कारण महाधिवेशनमा पनि आउन सकेका छैनन् । उनको अनुपस्थितिले महाधिवेशनमा एकछत्र प्रभाव जमाउन अर्थमन्त्री समेत रहेका शर्मालाई सजिलो भएको माओवादी नेता कार्यकर्ता बताउँछन् ।

तर पुनले पनि सोमबार चिनियाँ उपमन्त्री चेन झाओसँग भेटघाट गरेको तस्वीर सार्वजनिक गरेर आफू तन्दुरुस्त भइसकेको सन्देश काठमाडौंसम्म दिन सफल भएका छन् ।

कम्युनिष्ट पार्टीहरुमा महासचिवलाई संगठन विभागको जिम्मा दिने प्रचलन हुन्छ । तर प्रचण्डले पछिल्लो पटक कार्यविभाजन गर्दा शर्मालाई संगठन विभागको जिम्मेवारी दिए भने पुनलाई अर्थ तथा योजना विभागको प्रमुखसँगै केन्द्रीय कार्यालय इन्चार्ज बनाए । संगठन विभागको जिम्मेवारी शर्माले पाउँदा उनी निकटवर्तीहरुले प्रचण्डले महासचिवमा अगाडि बढाउन खोजेको तर्क गरे ।

पुन पक्षका नेताहरुले भने सबै विभागहरुले केन्द्रीय कार्यालय इन्चार्जसँग समन्वय गर्ने भएकाले संगठन विभाग प्रमुखभन्दा उनको जिम्मेवारी माथि भएको तर्क गर्ने गरेका छन् । पुन पार्टीको डिफ्याक्टो महासचिव भइसकेको भन्दै उनीहरुले भन्ने गरेका छन्, ‘केन्द्रीय कार्यालय अन्तर्गत सबै विभागहरु भएपछि महासचिव चयन नहुन्जेल इन्चार्जले नै त्यसको जिम्मेवारी सम्हाल्छ । अर्थात्, केन्द्रीय कार्यालय पेरिसडाँडा प्रचण्डपछि सिंगो पार्टीको कमाण्ड हो ।’

तर पार्टी संगठनमा आफैंले हुर्काएका र अहिलेसम्म आफ्नो साथ नछोडेका दुई नेतामध्ये कसलाई अघि बढाउने प्रचण्डलाई कठिन छ । राजनीतिका चतुर खेलाडी प्रचण्डले पुन र शर्मालाई छाडेर तेस्रो नेतालाई महासचिव बनाउने सम्भावना पनि छ ।

पुन र शर्मालाई समदुरीमा राख्ने गरेका प्रचण्डले एकजनाको अनुपस्थितिमा अर्कालाई अघि बढाइहाल्ने सम्भावना कम देखिएको माओवादी केन्द्रका नेताहरु बताउँछन् । अर्थात् जारी आठौं राष्ट्रिय महाधिवेशन सकिंदासम्म पनि माओवादी केन्द्रमा प्रचण्डको उत्तराधिकारीको अनुहार स्पष्टै देखिने सम्भावना न्यून छ ।

जनयुद्धदेखि सँगसँगै

माओवादी केन्द्रमा महासचिवको दाबेदारका रुपमा देखापरेका शर्मा र पुन सधैं संस्थापन पक्षमा सँगसँगै छन् । दुवै नेता आफ्नै क्षमता र संघर्षले अगाडि आएका र आफूलाई नेतृत्वका लागि तयार गर्दै लगेका नेताहरु हुन् ।

२०७४ को आम चुनावमा वाम गठबन्धन र ३ जेठ २०७५ मा नेकपा एमालेसँग एकता हुनुअघि वर्षमान बढ्ता हावी थिए । एमालेसँग पार्टी एकता गर्दा र एकता भंग भएर माओवादी केन्द्र ब्युँतिएपछि भने जनार्दन हावी भएका छन् ।

पार्टी सत्ता चलाउने सन्दर्भमा अलि कम बोल्ने, अलि कूटनीतिक हुने स्वभाव अनन्तको छ । प्रभाकर भने हक्की खालका छन् । माओवादीभित्र उनलाई प्रचण्डलाई घुर्क्याएर हैसियत लिने नेताका रुपमा टिप्पणी हुने गरेको छ । अर्थमन्त्री भएको बेला संगठन विभाग प्रमुख चलाउन गाह्रो होला कि भन्दा शर्माले मलाई संगठन विभाग प्रमुख नै चाहिन्छ भनेर अड्डी लिनुलाई कतिपयले यही अर्थमा लिने गर्दछन् । र अहिले पनि यसरी नै महासचिवमा दाबी गरिरहेका छन् । सहमति नभए चुनाव लड्ने उनको दाबी छ ।

चुनाव भएको अवस्थामा पनि महाधिवेशन प्रतिनिधिहरुले नभई केन्द्रीय समितिका सदस्यहरुले भोट हाल्ने हुन् । त्यो बेलामा महासचिवमा कसले बाजी मार्छन् भन्ने अनुमान गर्न कस्तो केन्द्रीय समिति बन्छ भन्ने हेर्नुपर्ने हुन्छ ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?