+
+
सेन्ट्रल जोन भलिबल :

उपाधि रक्षा गरेपछि प्रशिक्षक भट्ट भन्छन् : उपाधि जित्ने दबाब थियो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १४ गते ६:५४

१४ पुस, काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमका प्रशिक्षक जगदिश भट्टले एसियन सेन्ट्रल जोन भलिबलको साविक विजेता भएकोले नेपाललाई उपाधि जित्नै पर्ने दबाबसहित खेल्दा फाइनलमा दबाब भएको बताए ।

बंगलादेशको ढाकामा मंगलबार सम्पन्न रोमाञ्चक फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३-२ सेटमा हराएर उपाधि रक्षा गरेको थियो । लगातार दोस्रो पटक उपाधिजित्ने क्रममा रोमाञ्चक बनेको खेलमा नेपालले उज्वेकिस्तानलाई २६-२४, २४-२६, २५-१५, २२-२५, १५-११ ले हरायो ।

लिग चरणमा नेपालले उज्वेकिस्तानलाई सोझो सेटमा हराए पनि फाइनल खेलको सुरुआतदेखि नै उज्वेकिस्तानले नेपाललाई दबाबमा राख्दै कडा चुनौती दिएको थियो ।

प्रशिक्षक श्रेष्ठले निर्धारित समयमा फाइनल खेल सुरु नहुँदा आफ्नो टोलीले धेरै समय वार्म अफमा बिताउनु परेकोले खेलका बेला थकान भएकोले दबाब परेको बताए । ‘उज्वेकिस्तानका खेलाडी चढेको बस ढिला आइपुग्दा खेल निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भयो । हाम्रो खेलाडीले साढे ७ बजे ब्रेक फास्ट खाइसकेका थिए । १२ बजेपछि खेल्नु पर्दा केही गाह्रो पनि भयो,’ प्रशिक्षक भट्टले उपाधि जितेपछि ढाकाबाट अनलाइनखबरसँग भने ।

यस्तै फाइनल जित्नैपर्ने दबाब हुँदा खेलमा पनि रिसिभ र सर्भिसमा धेरै गल्ती भएकोले पाँच सेटसम्म पुगेको उनले बताए । ‘नेपाल, श्रीलंका र उज्वेकिस्तान उस्तै लेभलका टिम हो । हामीलाई उपाधि जित्न दबाब थियो । हामी उपाधि जित्ने लक्ष्य लिएर खेल्दा उनीहरू फाइनल पुग्दा नै उत्साहित थिए’ प्रशिक्षक भट्टले भने, ‘रिसिभ र सर्भिस बिग्रँदा खेल पाँच सेटसम्म पुग्यो । आज उज्वेकिस्तानले पनि राम्रो खेल्यो । प्रतियोगिताभर नै उज्वेकिस्तानले राम्रो भलिबल खेल्यो ।’

नेपाली भलिबलकै सबैभन्दा सफल प्रशिक्षकको रुपमा चिनिएका भट्टले लगातार दोस्रो पटक उपाधि जित्न पाउँदा खुशी व्यक्त गरे । सबैको सहयोग र मिहिनेतले लगातार दोस्रो पटक उपाधि जित्न सफल भयौं । सबैलाई धन्यवाद । लगातार उपाधि जित्दा खुशी छौँ ।’

भट्टको प्रशिक्षणमा नेपाली महिला टिमले सेन्ट्रल जोनमा दुई उपाधि जितिसकेको छ । यस्तै २०१९ मा नेपालमा भएको १३औं सागमा रजत पदक जितेको थियो । त्यसअघि सन् २०१७ मा नेपालको पुरुष भलिबल टिमले ऐतिहासिक रजत पदक जित्दा पनि भट्ट नै प्रशिक्षक थिए । पछिल्लो आधा दशकमा नेपाली भलिबलले अन्तर्राष्ट्रियस्तरमा हासिल गरेको उपलब्धिमा भट्टको ठूलो योगदान रहेको छ ।

ढाकामा अपराजित रहँदै च्याम्पियन बन्दा नेपालले ६ खेलमा कुल १८ सेट जित्दा ४ सेट गुमायो । प्रतियोगिताको पहिलो खेलमै श्रीलंकासँग दुई सेटले पछि परेको नेपालले पुनरागमन जित हात पारेको थियो । यस्तै अन्तिम तथा फायनल खेलमा पनि नेपालले उज्वेकिस्तानसँग दुई सेट नै गुमायो ।

कोभिड-१९ को असरले गर्दा दुई वर्षपछि अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेल्दा च्याम्पियन साख जोगाए पनि नेपाली टिमको समग्र प्रदर्शनबाट भने प्रशिक्षक भट्ट अझै सन्तुष्ट छैनन् ।

‘हामीले यति खेलेर पुग्दैन । सानो टिमसँग खेल्दा हाम्रो टिमलाई लोड नै पुग्दैन । ठूला टिमसँग खेल्दा तालमेल मिलिरहेको छैन । यतिमै म सन्तुष्ट छैन,’ भट्टले भने, ‘हामीले अब ट्रेनिङको योजना बनाएर अघि बढ्नुपर्छ । निरन्तर प्रशिक्षण गर्दा अझ राम्रो खेलाडीहरू आउँछन् ।’

भट्टले अब प्रशिक्षणमा पनि खेलाडीको संख्या बढाएर राख्नुपर्ने बताए । ‘अब खेलाडी बढाएर निरन्तर ट्रेनिङ गर्नुपर्छ । ठूला टिमसँग खेल्नका लागि निरन्तर ट्रेनिङको जरूरी छ । यतिले पुग्दैन’ उनले भने, ‘अब २० जना कम्पिटेसन गर्न सक्ने र अरु २० जना राखेर प्रशिक्षण गर्नुपर्छ । कीर्गिस्तानले दुई वर्षमा धेरै सुधार गरेको छ । श्रीलंकालाई पनि कडा टक्कर दियो । अब चार वर्षमा उनीहरू बलियो टिम बन्छ ।

नयाँ खेलाडीको राम्रो प्रदर्शन

यस पटक सेन्ट्रल जोनको उपाधि रक्षा गर्दा ६ खेलाडीले पहिलो पटक उपाधि जिते । कप्तान अरुणासहित सरस्वती चौधरी, प्रतिभा माली, सलिना श्रेष्ठ, सुनिता खड्का र सफिया पुनले लगातार दोस्रो पटक उपाधि जिते ।

यसै प्रतियोगितामार्फत राष्ट्रिय टिममा डेब्यु गरेका शान्ती थारु, कामना विष्ट र लक्ष्मी चन्दसहित पुनरागमन गरेका दुई खेलाडी कृपा अधिकारी र मनिषा चौधरी अनि १३औं सागमा डेब्यु गरेकी उषा भण्डारीले पहिलो पटक सेन्ट्रल जोनको उपाधि जिते ।

त्यसमा पनि शान्ती थारुले पहिलो रोजाइमा रहेर खेलिन् । उनले सबै खेलमा उत्कृष्ट प्रदर्शन गरिन् । कामना विष्ट र लक्ष्मी चन्दले पनि डेब्युमा अवसर पाउँदा राम्रो खेले ।

प्रशिक्षक भट्टले ढाका जानुअघि टिममा नयाँ खेलाडी आउनुले टिममा प्रतिस्पर्धा बढ्ने बताएका थिए ।

ढाका तीन जनाले उत्कृष्ट खेलेको उनले बताए । ‘शान्तीले डेब्युमै सेटमा राम्रो खेल्यो । कामनाको पनि ब्लक र स्पाइक राम्रो छ । लक्ष्मीले पनि बंगलादेश र माल्दिभ्ससँग खेल्यो । दुई तीन वर्षपछि लक्ष्मी अझै राम्रो खेलाडी बन्छ ।’

ओपन स्पाइकर उषा भण्डारीले भने सरस्वती चौधरीको स्थानमा खेल्ने अवसर पाएकी थिइन् । तर सरस्वती नेपालको मुख्य स्पाइकर रहेकोले धेरै रिस्क नलिएको भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?