+
+

निरन्तर अन्तर्राष्ट्रिय खेल खेले पदक टाढा छैन : प्रशिक्षक हान

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ पुष १४ गते १३:१५

१४ पुस, काठमाडौं । भलिबल प्रशिक्षक नेदरल्याण्ड्सका नागरिक हान अबिङ दुई पटक नेपाल आए । उनको प्रशिक्षणमा नेपालको पुरुष भलिबल टिमले दुई पटक एसियन सेन्ट्रल जोन प्रतियोगिता खेल्यो । तर दुवै पटक नेपालले कुनै पनि पदक जित्न सकेन ।

बंगलादेशमा मंगलबार सम्पन्न एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्यालेन्ज कपमा नेपाल ५ टिममध्ये चौथो भयो । तेस्रो स्थानको लागि भएको खेलमा नेपाल उज्वेकिस्तानसंग सोझो सेटमा पराजित भयो । लिग चरणमा नेपालले उज्वेकिस्तानलाई ३-१ को सेटमा हराएपनि निर्णायक खेलमा त्यही प्रदर्शन दोहोर्‍याउन सकेन ।

यसअघि सन् २०१९ मा अबिङकै प्रशिक्षणम नेपालले घरेलु कोर्टमा खेल्दा ७ टिममा पाँचौं भएको थियो । त्यतिबेला दुई समूहमा विभाजन गरेर प्रतियोगिता हुँदा नेपालले समूह चरणमा कीर्गिस्तान र माल्दिभ्ससंग हार बेहोरेको थियो ।

यस पटक नेपालले राउण्ड रोविन लिगमा माल्दिभ्ससंग बदला लियो अनि उज्वेकिस्तानलाई पनि एक पटक हरायो । तर शीर्ष तीनमा रहेर पदक जित्ने चाहना पूरा हुन सकेन ।

सेन्ट्रल जोनका लागि हानले आफैँ २० खेलाडी छनोट गर्दै करिब एक महिना प्रशिक्षण गराएका थिए । अनि त्यसैबाट अन्तिम १२ जनाको टोली छनोट गरेर सेन्ट्रल जोन भलिबल खेल्न ढाका पुगेका थिए । ओपन स्पाइकर मानबहादुर श्रेष्ठ र मिडल ब्लकर भैरवबहादुर बमले तीन वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गर्दा अरु नयाँ खेलाडी भने थिएनन् ।

दुई वर्षको ब्रेक र थोरै समयको तयारीकै बाबजुद पनि नेपालले पदकको लक्ष्य राख्न गलत थिएन । तर हानले नेपालमा तयारीकै क्रममा वास्तविकतालाई भुल्न नहुने बताएका थिए । सायद उनको संकेत नेपालले पदक जित्न अझै मिहिनेत गर्नुपर्नेमा थियो ।

नेपालको महिला टिमले मंगलबार फाइनलमा उज्वेकिस्तानलाई नै पराजित गर्दै अपराजित रहेर उपाधि जित्दा पुरुष टोली खाली हात बन्नुपर्‍यो । प्रशिक्षक हान यसबाट दु:खी हुने भन्दा पनि नेपालले देखाएको सकारात्मक पक्षबाट खुशी नै छन् ।

उनले यसअघि नेपाल आउँदा पनि नेपाली टिमले धेरै अन्तर्राष्ट्रिय खेल खेल्नुपर्ने धारणा राखेका थिए । तर नेपालले यस्तै प्रतियोगितामा बाहेक अरु बेलामा अन्तर्राष्ट्रिय खेल खेल्ने सम्भावना धेरै कम छ ।

मंगलबार महिला टिमले उपाधि जित्दा हान पनि खुशी भएका छन् । उनले नेपालको महिला खेलाडीको भविष्य राम्रो रहेको बताए । पुरुष टिमले भने अघिल्ला खेलको प्रदर्शन दोहोर्‍याउन नसकेको हानको विश्लेषण अबिङले ढाकाबाट सुनाए । ‘आज नेपालको लागि महिलाको दिन रह्यो । हामीले दोस्रो र तेस्रो दिनको जस्तो प्रदर्शन गर्न सकेनौँ । उज्वेकिस्तानसंग लेभलमा प्रतिस्पर्धा गर्दा हामीलाई त्यस्तै प्रदर्शन चाहिएको थियो’ उनले मंगलबार भने ।

नेपालले लिग चरणमा उज्वेकिस्तानसंग पहिलो सेट गुमाएपनि पुनरागमन गर्दै लगातार तीन सेट जित्दै खेल जितेको थियो । तर निर्णायक खेलमा सोझो सेटमा पराजित भयो ।

प्रशिक्षक हानले पदक जित्न नसकेपनि नेपालीको पुरुष टिमले उत्कृष्ट खेलाडीले प्रदर्शन गर्ने लेभलमा आफूले गरेको प्रदर्शनलाई हेर्न सक्ने बताए । ‘तर नेपाली पुरुष टोलीले टोलीको स्तर र व्यक्तिगत खेलाडीको स्तरमा प्रतिस्पर्धा गरेको प्रतियोगितामा फर्केर हेर्न सक्छ’ उनले भने ।

प्रशिक्षक हानले पदककै लागि खेलेपनि निर्णायक खेलमा नेपाल धेरै टाढा भएको बताए । ‘पदकको अपेक्षा गर्नु उचित होइन, यद्यपि हामीले पदकका लागि खेलेका थियौं तर पदकभन्दा धेरै टाढा थियौं । म त्यो अनुभव गर्न सक्छु’ हानले भने, ‘जब नेपाली टोलीले यस स्तरमा थप खेलहरूमा प्रतिस्पर्धा गर्नेछ, म पक्का छु कि यसले पदक जित्ने अन्तरलाई कम गर्न सक्छ ।’

प्रशिक्षक हानले प्रतियोगितामा नेपालले गरेको प्रदर्शन बिर्सन नहुने पनि बताए । ‘हामीले एक पटक उज्वेकिस्तानलाई हरायौँ त्यो बिर्सनुहुन्न । साथै श्रीलंकासंग पनि हामीले राम्रो खेल खेल्यौँ’ उनले भने ।

पहिलो खेलमै घरेलु टोली बंगलादेशसंग सोझो सेटमा पराजित भएको नेपालले दोस्रो खेलमा उज्वेकिस्तानलाई हराएको थियो । तेस्रो खेलमा श्रीलंकासंग पराजित भएको नेपालले चौथो खेलमा माल्दिभ्सलाई हराएको थियो ।

प्रशिक्षक हानले निरन्तर अन्तर्राष्ट्रिय खेलका साथै विभिन्न कार्यक्रमहरु चाहिने बताए । उनले स्टोफ, फिटनेस ट्रेनर र फिजियो टिममा आवश्यक रहेको बताए । नेपालको पुरुष र महिला टिम बंगलादेश जाँदा पनि टिममा फिजियो/ट्रेनर कोही थिएन ।

अंग्रेजी नयाँ वर्ष नजिक रहेकोले ढाकाबाटै नेदरल्याण्ड्स फर्कने गरी नेपालबाट बिदा भएका हानले नेपाली टिमसंग रमाइलो क्षण बिताएको बताए । ‘टिमसंग समय एकदम उत्कृष्ट रह्यो । ढाकामा आएर प्रशिक्षण गराउँदा रमाइलो भयो र हामीले राम्रो भलिबल पनि खेल्यौँ’ हानले भने ।

उनले नेपाली प्रशिक्षकहरु आधुनिक अन्तर्राष्ट्रिय भलिबलमा अपडेट हुन आवश्यक देखिएको बताए ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?