+
+

सप्तकोशी डेभलपमेन्ट बैंकका सीईओ र २ कर्मचारी पक्राउ

हरि अधिकारी हरि अधिकारी
२०७८ पुष १४ गते १८:५५

१४ पुस, विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख (सीईओ) नविन सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । बैंकको १५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले सुवेदीलाई पक्राउ गरेको हो ।

प्रहरीले बुधबार बेलुका सुवेदीलाई विराटनगरबाट पक्राउ गरेको हो । बैंकको रेमिट्यान्स शाखाको पार्किङ एकाउन्टबाट पछिल्लो ६ वर्षमा १५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको थियो ।

हिनामिनामा संलग्न भएको आरोपमा प्रहरीले यसअघि कर्मचारी हिमाल भट्टराईलाई पक्राउ गरेको थियो । १५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा सुवेदीको पनि संलग्नता देखिएपछि अनुसन्धानका लागि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीले बताए ।

प्रहरीले बुधबार नै बैंकका लेखा/वित्त प्रमुख देवीप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापामगर पक्राउ गरेको छ ।

बैंकबाट घोटाला भएको रकमको ठूलो हिस्सा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नविन सुवेदीको नातामा बहिनी पर्ने बबिताको खातामा पठाएको पाइएको छ । बैंकको रेमिट शाखाबाट ६ वर्षमा १५ करोड ७० लाख रुपैयाँ भन्दा बढी रकम हिनामिना भएको थियो । सो मध्ये १४ करोड रुपैयाँ बबिता सुवेदीको खातामा पठाएको पाइएको अनुसन्धानमा संलग्न प्रहरी स्रोतले बताएको छ ।

सन् २०१६ देखि २०२१ अगष्ट २ तारिखसम्ममा बबिताको नाममा रहेको प्राइम बैंकको खातामा १४ करोड रुपैयाँ ट्रान्सफर भएको स्रोतको दावी छ । तर सो रकम त्यस खाताबाट पनि निकालिएको पाइएको छ ।

सो खाताको सञ्चालन भने सीइओ सुवेदीका फूपूको छोरा अर्थात बैंकका रेमिट शाखामा कार्यरत हिमाल भट्टराईले चलाउदै आएका थिए । भट्टराई कर्पोरेट कार्यालय विराटनगरका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हुन् । पारिवारिक स्रोतका अनुसार प्राइम बैंकको खाताको विषयमा बबितालाई जानकारी समेत थिएन ।

हिनामिनामा संलग्न भएको आरोपमा भट्टराईलाई प्रहरीले मंसिर १९ गते पक्राउ गरेको थियो । भट्टराई र सीइओ सुवेदी दाजूभाई (मामा–फूपूको छोरा) हुन् । बैंकबाट घोटला भएको रकम भगवती सुवेदी, साजन पोखरेल, बानी पोखरेललगायतका खातामा रकम पठाएको बैंक स्रोतको दाबी छ । उनीहरु सीईओ सुवेदीका आफन्त हुन् ।

ठूलो रकम हिनामिना भएपछि बैंकका पाँच जना कर्मचारी शंकाको घेरामा परेका छन् । सुवेदीसँगै बैंकका अरु कर्मचारीलाई पनि प्रहरीले शंकाको घेरामा राखेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसी एकै जनाले मात्र यति धेरै रकम हिनामिना गर्न सम्भव नभएकाले अनुसन्धान भइरहेको बताउँछन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?