
१६ पुस, काठमाडौं । हास्य कलाकार तथा मोडल सागर लम्साल ‘बले’ केही महिनादेखि एउटा प्रश्नबाट भागिरहेका छन् । त्यो हो, उनी र मोडल प्रिज्मा खतिवडाको ‘ब्रेकअप’को प्रश्न ।
‘ब्रेकअप’ भएको खबर अनलाइनखबरले सार्वजनिक गरेपछि प्रिज्माले यसको जवाफ कूटनीतिक तरिकाले दिँदै आएकी छन् । उनले आफू र सागरबीच प्रेम नै नभएको भन्दै उल्टै मिडियालाई नै दोष दिँदै पनि आएकी छन् ।
प्रिज्मासँग अलग भएपछि सागर परिवारसँग नै समय बिताइरहेका थिए । उनी केही महिनादेखि म्युजिक भिडियोमा पनि देखिएका थिएनन् । अब भने सागर फेरि म्युजिक भिडियोमा फर्किएका छन् र ब्रेकअपको प्रश्नबाट टाढा भाग्ने सोचमा छैनन् ।
यसैबीच सागर आफैंले निर्माण गरेको ‘हो हो माया’ बोलको गीतको टिजर सार्वजनिक भएको छ । यो गीतलाई आइतबार सार्वजनिक गर्ने तयारी गरिएको छ ।
सागरले आफू मिडियासँग प्रस्तुत हुने र सबै जवाफ दिने बताएका छन् । ब्रेकअपपछि केही समय मिडिया र कामदेखि टाढा हुँदा उनको बल्दो करिअरलाई समेत असर गर्यो । यो कुरा राम्रोसँग बुझेका सागर प्रश्नबाट सधैं भागिरहन ठीक नहुने सोचमा पुगेका हुन् ।
प्रतिक्रिया 4