+
+

वनमा साग टिप्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १६ गते १७:३३
फाइल तस्वीर

१६ पुस, कावासोती । नवलपुरको मध्यबिन्दु-१२ मा शुक्रबार बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मध्यबिन्दु–१२, अरुणखोला निवासी ३९ वर्षीया बरिसा सारुको मृत्यु भएको हो ।

बिहान स्थानीय वनमा साग टिप्न गएकी सारुलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पन्तले बताए । सारूसँगै गएका अन्यले घटनाबारे जानकारी गराएपछि प्रहरीको टोली त्यहाँ पुगेको थियो । घटनास्थल अरुणखोला–दुम्कीबास सडकखण्डभन्दा करिब ५०० मिटर दक्षिणतर्फ रहेको प्रहरीले जनाएको छ ।

नवलपुरमा यसअघि मङ्सिर दोस्रो साता बाघको आक्रमणबाट विनयी त्रिवेणी गाउँपालिका–१, मा स्थानीय सामुदायिक वन रक्षकको मृत्यु भएको थियो । सो घटनास्थल र आजको घटनास्थल केही दूरीको फरकमा छ ।

वन आसपासमा बाघको आतङ्क बढेको भन्दै विनयी त्रिवेणी गाउँपालिकाले केही दिन अगाडि मात्रै एक सूचनामार्फत वन क्षेत्रमा नजान स्थानीयवासीलाई अनुरोध गरेको थियो । बाघको आक्रमणबाट थप एक जनाको मृत्य भएपछि चिन्तित स्थानीयवासी बाघलाई नियन्त्रण गरी निकुञ्ज क्षेत्रमा लैजान पहल गर्नुपर्ने माग गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?