+
+
मेरो जीवनशैली :

साँधेको अचार धेरै मन पर्छ, पठाओमा यात्रा गर्छु : प्रियाना आचार्य

सम्झना विक सम्झना विक
२०७८ पुष १९ गते १५:१३
तस्वीर : प्रियानाको फेसबुकबाट

१९ पुस, काठमाडौं । टेलिसिरियल भद्रगोलमा ‘मुन्नी’को भूमिकामा अभिनय गरेर चर्चामा आएकी कलाकार प्रियाना आचार्य मोडल समेत हुन् । उनले थुप्रै म्युजिक भिडियोमा आफ्नो अभिनय देखाइसकेकी छन् ।

फिल्म मेकिङमा स्नातक गर्दै गरेकी प्रियानालाई चलचित्र हेर्न एकदमै रुचि लाग्छ । उनको जीवनशैली कस्तो छ ? रुचि के केमा छ ? लगायतका विषयमा प्रियानासँग गरिएको कुराकानी :

बिहान कति बजे उठ्नुहुन्छ ? उठ्ने तालिका नियमित छ कि छैन ?

तालिका नै त छैन । कामअनुसार कहिले ४-५ बजे पनि उठ्नुपर्छ । घरमा हुँदा भने ७ बजे उठ्छु ।

उठ्नासाथ के गर्नुहुन्छ ? मोबाइल चलाउनुहुन्छ वा पूजापाठ गर्नुहुन्छ ?

दुवै गर्दिन । उठ्नेबित्तिकै पानी पिउँछु ।

बिहान फ्रेस भइसकेपछि योग ध्यान वा एक्सरसाइज गर्नुहुन्छ ?

उठेर फ्रेस भइसकेपछि एक्सरसाइज गर्छु ।

बिहान नास्ता खानुहुन्छ कि हुन्न ?

नास्ताको त पारखी नै हुँ । बिहान सधैं नास्ता खान्छु ।

के खानुहुन्छ नास्तामा ?

दूधमा ओड्स र ड्राइफुड मिसाएर खान्छु । अनि तातोपानी पनि ।

बिहानको खाना कति बजे खानुहुन्छ ?

कलाकारको काम १०-५ को अफिसजस्तो हुँदैन ।  काम जतिबेला पनि हुनसक्छ । सकेसम्म १२ बजेभित्र खाने कोशिश गर्छु ।

बिहान कस्तो खाना रुचाउनुहुन्छ ?

मलाई मःम, थाई अनि जापानिज खाना एकदमै मनपर्छ ।

तपाईंको खानामा छुट्दै नछुट्ने चिज के हो ?

दाल कहिल्यै छुट्दैन ।

माछा-मासु कत्तिको खानुहुन्छ ?

त्यस्तो धेरै मन पर्दैन, ठीकै मात्र खान्छु ।

तस्वीर : प्रियानाको फेसबुकबाट

मदिरापान गर्नुहुन्छ ?

अहिलेसम्म गरेको छैन ।

भान्सामा काम गर्ने जाँगर कति चल्छ ?

मुडअनुसार भर पर्छ । कहिले एकदम जाँगर लाग्छ, कहिले यत्तिकै नि बस्छु ।

तपाईंलाई आफैंले बनाएको कुन खानेकुरा बढी मन पर्छ ?

आलु, काँक्रा र गाँजरको साँधेको अचार मलाई बढी मन पर्छ । म यही मीठो बनाउँछु जस्तो लाग्छ, घरमा पनि सबैले मन पराउनुहुन्छ ।

बाहिर रेष्टुरेन्टको खाना मीठो कि घरमा बनाएको ?

मम्मीले बनाएको मीठो हुन्छ नि ।

एकदमै भोक लागेको तर खाना खाने अनुकूलता नमिलेको कुनै क्षण छ ?

सुटिङको बेला धेरै यस्तो हुन्छ । समूहमा काम गर्दा मिलेर गर्नुपर्‍यो, मलाई भोक लागेको बेला अरुलाई लागेको हुँदैन । त्यसबेला चिया मात्रै पनि खाएर बस्नुपर्ने हुन्छ ।

हालैको कुरा हो, म्युजिक भिडियोको सुटिङका लागि ककनी गएका थियौं । बिहान नास्तामा चाउचाउ थियो, एकदमै पीरो भएकाले मैले खानै सकिन । सुटिङ सकाएर खाने भन्ने भयो, केही खाइहालौं भनेको वरपर पसल नै थिएन । त्यसबेला ४ बजेसम्म भोकै काम गर्नुपरेको थियो ।

घरमा कुचो लगाउने, सरसफाइ गर्ने, भाँडा माझ्ने, लुगा धुने काम आफैं गर्नुहुन्छ ?

लुगा धुने बाहेक फुर्सद हुँदा सबै काम गर्छु ।

घरबाट बाहिर निस्कनुअघि मेकअपमा कति समय लाग्छ ?

कस्तो ठाँउमा जाँदै छु भन्ने कुरामा निर्भर हुन्छ । सामान्य अवस्थामा १० मिनेटमै तयार भइसक्छु भने कुनै विशेष कार्यक्रममा जानुपर्दा एक घण्टा पनि लाग्छ ।

बाहिर हिँडडुल गर्दा कस्तो लुगाफाटो सहज लाग्छ ?

क्याजुल ड्रेस नै मन पर्छ । जिन्समाथि ज्याकेट लगाउन एकदम मन पर्छ ।

गरगहनामा कत्तिको आशक्ति छ ?

मलाई सुनको गहना त्यति सुहाएको जस्तो लाग्दैन । ह्वाइट गोल्ड र हीरा एकदमै मन पर्छ ।

तपाईं कस्तो सवारीसाधन प्रयोग गर्नुहुन्छ ?

मलाई सवारी चलाउन आउँदैन । पठाओ, क्याप वा ट्याक्सीमा यात्रा गर्छु ।

प्रायः दिन कसरी बित्छ ?

काम हुँदा त बाहिर नै बित्ने भइहाल्यो । अन्य समयमा कलेज जान्छु । घरमा बस्दा भने फिल्म हेर्छु ।

साँझ कति बजे घर फर्कनुहुन्छ ?

कामअनुसार हुन्छ । साँझसम्म काम भएन भने ६ देखि ७ बजेसम्म घर पुगिसक्छु ।

रातिको खाना खाने समय कतिबेला हो ?

आठ बजेसम्म खाइसक्छु ।

रातिको खानामा के के हुन्छ ?

दाल, भात, सब्जी अनि साग ।

कति बजे सुत्नुहुन्छ ?

मोबाइल चलाउँदा चलचित्र हेर्छु । सुत्दा १२ बज्छ ।

लेखकको बारेमा
सम्झना विक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?