
२० पुस, काठमाडौं । भारतको दिल्लीमा कोभिड-१९ का संक्रमित बढ्दै गएपछि प्रतिबन्धात्म नियममा थप कडाइ गरिने भएको छ ।
दिल्लीमा सप्ताहन्त अर्थात् शनिबार र आइतबार कर्फ्यू लगाइने भएको छ । शुक्रबार राति १० बजेदेखि सोमबार बिहान ५ बजेसम्म कर्फ्यू जारी रहने छ ।
यसबाहेक, दिल्ली सरकारले सरकारी कार्यालय बन्द गर्ने फैसला समेत गरेको भारतीय समाचार माध्यमले जनाएका छन् । यस क्रममा सरकारी कर्मचारीले घरबाटै वा अनलाइनमा काम गर्नुपर्ने भएको छ ।
त्यस्तै, दिल्लीमा शतप्रतिशत क्षमतामा मेट्रो र बस सञ्चालन गर्ने निर्णय समेत भएको छ । बस स्टेशनमा यात्रुको भीड नहोस् भनेर पूर्ण क्षमतामा सञ्चालन गर्ने निर्णय हो । तर मेट्रो र बसमा यात्रा गर्दा मास्क अनिवार्य लगाउनु पर्नेछ । यसअघि त्यहाँ कोभिड-१९ को बढ्दो संक्रमणबीच मेट्रो र बसमा यात्रा गर्नेको संख्या सीमित पारिएको थियो ।
दिल्लीका उप-मुख्यमन्त्री मनिष सिसोदियाले ओमिक्रोनका संक्रमित अस्पताल भर्ना हुनुपर्ने अवस्था नआएको र यो भेरियन्टका लक्षण सामान्य भएकाले योभन्दा कडा प्रतिबन्ध लगाउन आवश्यक नदेखिको बताए ।
तर शनिबार र आइतबार अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्किन समेत सिसोदियाले आग्रह गरेका छन् । ‘म सबैलाई आकस्मिक अवस्थामा बाहेक शनिबार र आइतबार घरबाहिर ननिस्किन आग्रह गर्दछु’, उनले भने ।
पछिल्लो समय दिल्लीमा कोभिड-१९ का संक्रमित बढिरहेका छन् । त्यहाँ सोमबार ४ हजार ९९ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हिजोसम्म नयाँ ओमिक्रोन भेरियन्टका संक्रमितको संख्या ३५१ पुगेको छ ।
प्रतिक्रिया 4