+
+

मणिपाल मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता गर्ने

अनेरास्ववियुले खोल्यो ताला अनेरास्ववियुले खोल्यो ताला
२०७८ पुष २१ गते १६:३३

२१ पुस, पोखरा । बढी शुल्क असुलेको भन्दै विराटनगरको नोबेल मेडिकल कलेजमा विद्यार्थीले तालाबन्दी गरेकै दिन बुधबार पोखराको मणिपाल मेडिकल कलेजले भने अतिरिक्त शुल्क फिर्ता गर्न सहमति जनाएको छ ।

कलेजले कानुनविपरीत अतिरिक्त शुल्क उठाइरहेको भन्दै नेकपा एमाले निकट अनेरास्ववियुले मंसिर २० गते कलेज प्रशासनमा तालाबन्दी गरेको थियो । बुधबार आन्दोलनरत विद्यार्थी संगठन र प्रशासनबीच शुल्क फिर्ता गर्ने सहमति भएपछि अनेरास्ववियुले ताला खुलेको छ ।

मणिपालले चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुका साथै कुनै पनि बहानामा अतिरिक्त शुल्क नलिने प्रतिबद्धता जनाएको वार्तामा सहभागी विद्यार्थीहरुले बताएका छन् ।

तर कलेज प्रशासनले विद्यार्थीसँग लिइसकेको अतिरिक्त शुल्क अर्को वर्षको शुल्कमा मिलान गर्ने सहमति जनाएको छ ।

‘लिइएको अतिरिक्त शुल्कलाई आगामी वर्षको शुल्कमा घट्ने गरी व्यवस्थापन गर्न प्रतिबद्ध छौं,’ सहमतिपत्रमा भनिएको छ ।
अनेरास्ववियु गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले एक महिना लामो आन्दोलनपछि विद्यार्थीको हकअधिकार फिर्ता ल्याउन सकेको दाबी गरे ।

‘यसबीचमा पनि हामी प्रशासनसँग पटकपटक वार्तामा बस्यौं । तर, कुनै सहमतिको टुंगोमा पुग्न सकेका थिएनौं’, उनले भने, ‘तर, अहिले प्रशासन विद्यार्थीको माग पूरा गर्न तयार भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरेका छौं ।’

चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि काठमाडौं उपत्यकाभित्र ४० लाख र उपत्यका बाहिर ४४ लाख रुपैयाँ तोकेको छ । तर, मणिपालले भने होस्टल, सेक्युरिटीलगायतका नाममा ६ लाख रुपैयाँसम्म बढी असुल गरेको विद्यार्थीहरुको भनाइ छ ।

विभिन्न मेडिकल कलेजले होस्टल अनिवार्य गर्नेलगायत विभिन्न शीर्षकमा अतिरिक्त शुल्क उठाइरहेका छन् । चिकित्सा शिक्षा आयोगले पुस ९ गते एक सूचना जारी गरेर होस्टल र मेस अनिवार्य नगर्न मेडिकल कलेजहरुलाई आग्रह गरेको छ ।

बुधबार कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, पोखरा महानगरपालिका–१६ का वडाध्यक्ष राजेश गुरुङ, विद्यार्थीहरु रितेशकुमार यादव र अनिल महतोको रोहबरमा प्रशासन र आन्दोलनरत विद्यार्थी संगठनबीच सहमति भएको हो ।

हेर्नुहोस् सहमतिपत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?