+
+
ए डिभिजन लिग :

लिग उपाधि होडमा मछिन्द्र र मनाङ अघि, संकटा पछ्याउँदै 

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ पुष २१ गते २०:३०
लिग लिडर मछिन्द्र क्लब ।

२१ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा सातौ चरणसम्मका खेल सकिएको छ । कूल ९१ मध्ये आधा भन्दा बढी अर्थात ४९ खेल सकिएका छन् ।

१४ क्लब सहभागी लिगमा उपाधि जित्ने होडदेखि रेलिगेसनबाट जोगिनेसम्मको रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ । हरेक क्लबले १३ मध्ये ७ खेल खेलिसक्दा कुन क्लबको प्रदर्शन कस्तो र खेल्ने शैली कस्तो छ भन्ने देखिसकेको छ ।

आधा भन्दा बढी खेल सकिँदा साविक विजेता मछिन्द्र फुटबल क्लबसहित संकटा र त्रिभुवन आर्मी एफसी अपराजित छन् ।

मछिन्द्र शीर्ष स्थानमा रहँदा संकटा तेस्रो र आर्मी चौथो स्थानमा छ । ७ खेल खेल्दा आर्मीले २ जित र ५ बराबरीबाट ११ अंक मात्र जोडेको छ । आर्मी लगभग उपाधि होडबाट टाढिसकेको छ ।

यस्तोमा साविक विजेता मछिन्द्रसंगै सर्वाधिक ८ पटकको लिग च्याम्पियन मनाङ उपाधि होडमा अघि छ । यसअघि गज्जबको प्रदर्शन गरिरहेको संकटाले यी दुई टोलीलाई पछ्याइरहेको छ ।

पहिलो स्थानमा रहेको मछिन्द्र र दोस्रो स्थानमा रहेको मनाङबीच जम्मा १ अंकको मात्र अन्तर छ । संकटा भने मछिन्द्रभन्दा ४ र मनाङ भन्दा ३ अंकले पछि छ । यी तीन क्लबले एक आपसमा खेलिसकेका छन् । यस्तोमा अब तीनवटै क्लबको भाग्य आफ्नै प्रदर्शनमा निर्भर रहनेछ ।

शीर्ष स्थानमा रहेको मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले मनाङ भन्दा एक अंकले अघि रहनु आफ्नो टिमको लागि फाइदा रहेको बताए । तर उनले अहिल्यै ढुक्न हुन नमिल्ने बताए ।

‘फुटबलमा गणितीय सम्भावना धेरै रहन्छ । लिग सुरु गर्दा हामीले शून्यबाट खेलेको थियौँ । सातौं चरणपछि मनाङभन्दा हाम्रो १ अंक बढी छ । मनाङसंग हेड टु हेडमा अगाडि रहेकोले पनि हामीलाई फाइदा छ । त्यही कारणले टाइटल रेसमा अलिकति अरु भन्दा हामीलाई फाइदा छ’ कटुवालले भने ।

उनले बाँकी ६ वटै टिमसंग जित्ने लक्ष्यसहित खेल्ने बताए । ‘अहिलेसम्म हेर्दा हाम्रो चान्स बढी छ तर हामी ढुक्क त हैन । तलका प्रतिद्वन्द्वी भएपनि राम्रो टिम मानेर हामी ६ वटै टिमसंग जित्ने लक्ष्यका साथ खेल्नेछौँ ‘ प्रशिक्षक कटुवालले भने ।

मछिन्द्रसंग एक अंक र हेड टु हेडमा पनि पछि रहेको मनाङका प्रशिक्षक राजेन्द्र तामाङले उपाधिका लागि अब बाँकी सबै खेल जित्नैपर्ने बताए । ‘६ खेल अझ बाँकी छ । अन्तिमसम्म राम्रो खेल्नुपर्छ । मुख्य कुरा रिजल्ट हो । हामीले कुनै खेल हार्न भएन । मछिन्द्र बलियो क्लब हो र हामीभन्दा एक अंकले अघि छ । तर हामी आत्तिएका छैनौं’ उनले भने ।

आफूहरु सबै खेल जित्ने कोशिस गर्ने र मछिन्द्रले शत प्रतिशत जित ननिकाल्दा आफूहरु विजयी हुने प्रशिक्षक तामाङ बताउँन् ।

जारी लिगलाई नजिकबाट नियालिरहेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान राकेश श्रेष्ठले यस सिजनको लिग उत्कृष्ट र रोमाञ्चक रहेको बताए । उनले अहिलेसम्मको खेल हेर्दा मछिन्द्र बलियो देखिएको बताए । ‘अहिलेको लिग उत्कृष्ट छ । उपाधि होडमा प्रतिस्पर्धा नै छ । धेरै अंक फरक छैन’ नेपाल पुलिस क्लबले २०६७ सालमा अन्तिम पटक लिग जित्दाका कप्तान श्रेष्ठले भने ।

‘यस पटकको लिग ओभरअल हेर्दा मछिन्द्र नै राम्रो देख्छु । मछिन्द्रको सम्भावना धेरै छ । एक अंक पछि रहेको मनाङले पनि राम्रो गरिरहेको छ । संकटाले अप्रत्यासित रुपमा राम्रो गरिराछ । ६ खेल बाँकी छ, तर मछिन्द्र नै हावी हुन्छ जस्तो लाग्छ’उनी अघि भन्छन् ।

 जारी लिगमा शीर्ष तीनमा रहेका क्लबले अहिलेसम्म गरेको प्रदर्शन यस्तो छ :

मछिन्द्रको प्रदर्शन –५ जित २ बराबरी : १७ अंक

साविक विजेता मछिन्द्रले एनआरटीविरुद्ध २-१ को जितबाट उपाधि रक्षा अभियान सुरु गरेको थियो । मछिन्द्रले सातौं चरणसम्म अपराजित यात्रा कामय राख्दा ५ खेल जितेको छ भने २ खेल बराबरी गरेको छ । ७ खेलबाट १७ अंक जोड्दै मछिन्द्र शीर्ष स्थानमा छ ।

उपाधि होडमै रहेका मनाङलाई पराजित गरिसकेको मछिन्द्रले आर्मी र संकटासंग भने गोलरहित बराबरी खेलेको थियो ।

मछिन्द्रले गोल गर्न नसकेको पनि यही दुई खेल नै रह्यो । मछिन्द्रले जावलाखेललाई २-० ले, हिमालयन शेर्पालाई ३-० ले तथा मनाङ र पुलिसलाई समान १-० ले हरायो । अहिलेसम्म कूल ९ गोल गर्दा मछिन्द्रले जम्मा १ गोल खाएको छ ।

तुलनात्मक रुपमा बलियो टिमसंग खेलिसकेको मछिन्द्रले अब लिगमा अंकतालिकामा तल रहेका क्लबहरुसंग खेल्न बाँकी छ । त्यसैले पनि मछिन्द्रको उपाधि होड बलियो बनेको छ ।

मछिन्द्रले अब लिगमा फ्रेण्ड्स, ब्रिगेड ब्वाइज, थ्री स्टार, सातदोबाटो, च्यासल र एपीएफसंग खेल्न बाँकी छ ।

मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले लगातार ६ खेलमा कुनै गोल खाएनन् । उनले पहिलो खेलमा एनआरटी विरुद्ध ५४ औं मिनेटमा गोल खाएयता ५७६ मिनेटसम्म गोल हुन दिएका छैनन् ।

अर्कोतर्फ मछिन्द्रका सुनिल बल ५ गोल गर्दै सर्वाधिक गोल गर्नेमा शीर्ष स्थानमा छन् । मछिन्द्रले गोल गरेका पाँच खेलमध्ये चार खेलमा सुनिलले गोल गरेका छन् भने तीन खेलमा सुनिलकै गोल निर्णायक समेत बनेको थियो ।

मछिन्द्रको अहिलेसम्मको खेलको नतिजा

मछिन्द्र २-१ एनआरटी

मछिन्द्र ०–० त्रिभुवन

मछिन्द्र २ : ० जावलाखेल

मछिन्द्र ३-० हिमालयन शेर्पा

मछिन्द्र ०-० संकटा

मछिन्द्र १-० मनाङ

मछिन्द्र ०-१ पुलिस

000

गोल गरेको  : ९

गोल खाएको : १

सर्वाधिक गोलकर्ता : सुनिल बल (५ गोल)

मनाङको प्रदर्शन – ५ जित १ बराबरी १ हार : १६ अंक

सर्वाधिक ८ पटकको लिग विजेता मनाङले सुरुवाती दुई खेल जित्दै लिगमा राम्रो सुरुवात गरेको थियो । जावलाखेल र हिमालयन शेर्पालाई समान १-० को अन्तरमा हराएको मनाङको जित यात्रा तेस्रो खेलमा ब्रेक लाग्यो । तेस्रो खेलमा संकटासंग लगभग हार नजिक पुगिसकेको मनाङले पुनरागमन गर्दै २-२ को बराबरी खेलेर अंक खोसेको थियो ।

त्यसपछि भने मनाङले फ्रेण्ड्सलाई २-० र पुलिसलाई ३-१ ले हराएर लय समात्न थाल्यो । पाँचौ चरणमा पुलिससंग पोखरा रंगशालमा खेल्दै घरेलु मैदान लिग डेब्यु गरेको काठमाडौं बाहिर पहिलो पटक आफ्नै मैदानमा लिग खेल्ने भाग्यमानी क्लब बन्यो ।

एएफसी कपका लागि निर्णायक मानिएको छैटौं चरणमा भने मनाङ साविक विजेता मछिन्द्रसंग १-० ले पराजित भयो । सातौं चरणमा पोखरामै खेलिएको अर्को खेलमा मनाङले ब्रिगेड ब्वाइजलाई हराएर शीर्ष स्थानमा उक्लिँदै एएफसी कपको सम्भावना कायम राखेको थियो । तर अर्को दिन मछिन्द्रले पुलिसलाई हराएपछि मनाङको एएफसी कप खेल्ने सम्भावना सकियो ।

७ खेल खेल्दा ५ जित १ बराबरी र १ हारबाट १६ अंक जोडेको मनाङ दोस्रो स्थानमा छ र शीर्ष स्थानको मछिन्द्र भन्दा १ अंकले पछि छ ।

मनाङले अहिलेसम्म लिगमा १० गोल गर्दा ४ गोल खाएको छ । कप्तान अन्जन विष्टले सर्वाधिक ३ गोल गरेका छन् ।  मनाङले अब च्यासल, सातदोबाटो, थ्री स्टार, आर्मी, एपीएफ र एनआरटीसंग खेल्न बाँकी छ ।

मनाङको अहिलेसम्मको खेलको नतिजा

मनाङ १- ० जावलाखेल

मनाङ १-० हिमालयन शेर्पा

संकटा २ -२ मनाङ

मनाङ २-० फ्रेण्ड्स

मनाङ ३-१ पुलिस

मनाङ ०-१ मछिन्द्र

मनाङ १-० ब्रिगेड

000

गोल गरेको  : १०

गोल खाएको : ४

सर्वाधिक गोलकर्ता : अन्जन विष्ट (३ गोल)

संकटाको प्रदर्शन -३ जित ४ बराबरी : १३ अंक

संकटामा वर्तमान राष्ट्रिय टिमका कुनै खेलाडी छैनन् । कुनै स्टार खेलाडी छैन । तर टिमले गज्जबको प्रदर्शन गरिरहेको छ । क्लबकै पूर्व खेलाडी विष्णु गुरुङ नयाँ प्रशिक्षक बनेर आएका छन् । संकटाले टिम गेम खेल्दै मैदानमा उत्कृष्ट खेल खेलिरहेको छ ।

मछिन्द्र र आर्मीसंगै सातौं चरणसम्म अपराजित यात्रा कायम राखेको संकटा अहिलेसम्म हेर्दा यी दुई क्लबलाई टक्कर दिने क्लबको रुपमा देखिएको छ । संकटाले दुवै टिमलाई बराबरीमा रोकेको थियो ।

७ खेल खेल्दा ३ जित र ४ बराबरीबाट १३ अंक जोड्दै संकटा तेस्रो स्थानमा छ । युवा प्रशिक्षक विष्णु गुरुङको रणनीति अनुसार खेलाडीले मैदानमा प्रदर्शन गरिरहेका छन् । सुरुवात खासै राम्रो हुन नसकेपनि त्यसपछि भने संकटाले लय लिएको छ ।

पहिलो खेलमा हिमालयन शेर्पासंग बराबरी खेलेको संकटाले दोस्रो खेलमा फ्रेण्ड्सविरुद्ध एक गोलले पछि परेको अवस्थामा २-१ को पुनरागमन जित हात पारेको थियो ।

तेस्रो खेलमा मनाङविरुद्ध दुई पटक अग्रता लिएर अन्तिम समयमा गोल खाँदा संकटा अंक बाँड्न बाध्य भयो । त्यसपछि पुलिसलाई १-० ले पराजित गरेको संकटाले साविक विजेता मछिन्द्रलाई गोलरहित बराबरीमा रोक्यो । छैटौं खेलमा ब्रिगेडमाथि ३-० को सहज जित निकाल्दा सातौं खेलमा भने संकटाले रेलिगेसन जोनमा रहेको च्यासलसंग गोलरहित बराबरी खेलेको थियो ।

यस सिजन सुरुको ७ खेलमा गरेको प्रदर्शनलाई कायम राखे संकटाले मछिन्द्र र मनाङलाई उपाधि होडमा कडा चुनौती दिन अपेक्षा गर्न सकिन्छ । संकटाले अब सातदोबाटो, थ्री स्टार, आर्मी, जावलाखेल, एपीएफ र एनआरटीसंग खेल्न बाँकी छ ।

संकटाको अहिलेसम्मको खेलको नतिजा

हिमालयन शेर्पा १ -१ संकटा

संकटा २ – १ फ्रेण्ड्स

संकटा २ -२ मनाङ

संकटा १-० पुलिस

संकटा ०-० मछिन्द्र

संकटा ३-० ब्रिगेड

संकटा ०-०  च्यासल

000

गोल गरेको  : ९

गोल खाएको : ४

सर्वाधिक गोलकर्ता : निरज बस्नेत, उत्तम राई (३ गोल)

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?