+
+
प्रधानमन्त्रीको भारत भ्रमण :

देउवाको चाहना : मोदीसँग सम्बन्ध सुधार

प्रधानमन्त्री शेरबहादुर देउवाले यो भ्रमणलाई भारत सरकार र विशेषगरी प्रधानमन्त्री नरेन्द्र मोदीसँग सम्बन्ध सुधार गर्ने तथा नेपाल र भारतबीचमा रहेका सीमा विवाद, नयाँ नक्शा, व्यापार घाटा लगायत समस्या सम्बोधन गर्ने दिशातर्फ सकारात्मक वातावरण सिर्जना गर्ने उद्देश्यले प्रयोग गर्न खोजेको देखिन्छ ।

राजकुमार श्रेष्ठ राजकुमार श्रेष्ठ
२०७८ पुष २१ गते २२:३८

२१ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा ‘भाइब्रेन्ट गुजरात ग्लाेबल समिट’मा भाग लिन (२५ पुस) आइतबार भारत जाने भएका छन् । बुधबार मन्त्रिपरिषद्ले स्वीकृत गरेको देउवाको चारदिने भ्रमण राजकीय त होइन, तर गुजरातमा हुने भेट र वार्ताहरु त्योभन्दा कम नहुने भारतीय पक्षको आश्वासन छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री देउवा २५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार नेपाल एअरलाइन्सको विमानबाट नयाँदिल्ली जानेछन् ।

केही मन्त्री र उद्योगी व्यवसायीहरु रहेको नेपाली टोली पुस २५ गते नै अहमदावाद जानेछ । त्यहाँ ‘भाइब्रेन्ट गुजरात ग्लाेबल समिट’मा सहभागी हुनुका साथै प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग छुट्टै भेटवार्ता समेत गर्ने छन् ।

दुवै पक्ष चाहन्छ सम्बन्ध सुधार

नेताहरुका अनुसार २९ असारमा प्रधानमन्त्री बन्नु अघिसम्म देउवा मात्र होइन, उनले नेतृत्व गरेको दल नेपाली कांग्रेसप्रति भारतको दृष्टिकोण फरक थियो । ५ पुस २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनपछि देउवा विघटन विरुद्धको आन्दोलनका पक्षमा नउभिनुमा भारत पनि एउटा कारण थियो । भारतले कुनै हालतमा संसद पुनर्स्थापना हुन दिंदैन भन्ने उनको बुझाइ रहेको उनी निकट कांग्रेसका नेताहरु अनौपचारिक कुराकानीहरुमा बताउँथे । ११ फागुन २०७७ मा संसद पुनर्स्थापनाको पक्षमा फैसला त भयो, तर देउवाले सरकारको नेतृत्वका लागि रुचि देखाएनन् । उनमा सरकारको नेतृत्व गर्ने चाहना त थियो, तर भारत आफूप्रति सकारात्मक छैन भन्ने उनले राम्रोसँग बुझेका थिए ।

त्यही क्रममा ६ वैशाखमा पार्टीको विद्यार्थी संगठन नेविसंघको एउटा कार्यक्रममा देउवाले भनिदिए, ‘हिजो सबैभन्दा राष्ट्रवादी भन्ने (केपी शर्मा) ओलीले आज इन्डियासामु त्वंशरणम् गरिसके, भारतविरोधी नाराबाट जितेको ओली भारतको टाङमुनि छिरिसके ।’

जेठमा फेरि संसद विघटनको खेल भयो । तत्कालीन एमालेकै २३ सहित १४६ सांसदको हस्ताक्षर बुझाउँदा पनि संविधानको धारा ७६ (५) अनुसार देउवा प्रधानमन्त्री बन्न सकेनन् र जेठ ७ मा फेरि प्रतिनिधिसभा विघटन भयो । २८ असारमा सर्वोच्चले फेरि प्रतिनिधिसभा पुनर्स्थापित  मात्र गरेन, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश नै दियो ।

देउवा निकट नेताहरुका अनुसार प्रधानमन्त्री देउवाले ३ साउनमा विश्वासको मत लिएपछि भने भारतको दृष्टिकोण बदलियो । भारतले देउवासँग सम्बन्ध सुधार्न चाह्यो, देउवा पनि सम्बन्ध सुधार नै चाहन्थे । भदौमा नेपाल आएका भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी) विदेश विभाग प्रमुख विजय चौथाइवाले प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे । देउवा पत्नी आरजु राणाले रक्षाबन्धनको अवसर पारेर चौथाइवालेलाई राखी बाँधिदिइन् ।

त्यसको केही दिनमै कांग्रेसका तत्कालीन सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोली भारत पुग्यो र बीजेपीका नेताहरुसँग भेटवार्ता गरे ।

कात्तिकमा जलवायु सम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन स्कटल्याण्डको ग्लास्गो पुगेका बेला प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भयो । दुवैले एकअर्कालाई आफ्नो देश भ्रमणको निम्तो समेत दिए । स्रोत भन्छ, ‘यससँगै भारतसँग प्रधानमन्त्री देउवाको सम्बन्ध सुधार भइसकेको थियो ।’

थप हार्दिकताका लागि भारत पनि देउवा भ्रमणमा आइदिए हुन्थ्यो भन्ने चाहन्थ्यो, प्रधानमन्त्री देउवा पनि जान चाहन्थे । तर भ्रमणको चाँजोपाँचो मिलिरहेको थिएन ।

भारतीय प्रधानमन्त्री मोदीले आफ्नो गृहनगर गुजराजमा हुने ‘भाइब्रेन्ट गुजरात समिट’मा सहभागिताका लागि नेपाली समकक्षी देउवालाई निमन्त्रणा पठाए । बालुवाटार निकट स्रोतका अनुसार शुरुमा देउवा जाने कि नजाने भन्ने अलमलमा थिए । उनी आफ्नो भारत भ्रमण राजकीय नै होस् भन्ने चाहन्थे । तर ४० भन्दा बढी देशको सरकार तथा राष्ट्रप्रमुखलाई बोलाएको सम्मेलनका क्रममा देउवाको भ्रमण राजकीय हुने सम्भावना थिएन ।

मंसीरमा भएको कांग्रेसको १४औं महाधिवेशनबाट देउवा फेरि सभापतिमा निर्वाचित भए । त्यसपछि भारतीय पक्षले गुजरात समिटका क्रममा हुने भ्रमण राजकीय नभए पनि वार्ताहरु औपचारिक भ्रमणसरह हुने आश्वासन दियो । ‘भर्खर कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएको छ र सम्भवत: भोलिको पनि प्रधानमन्त्री भएकाले भारत देउवासँग इन्गेज हुन चाहेको देखिन्छ’ देउवा निकट उच्च स्रोत भन्छ, ‘भारतसँग सम्बन्ध सुधार प्रधानमन्त्री देउवाको प्राथमिकतामै थियो ।’

दिल्लीमा आरजुको सक्रियता

सामान्ययता प्रधानमन्त्रीको कुनै पनि देशमा भ्रमणको तयारी सम्बन्धित देशमा रहेका नेपाली राजदूतले गर्ने गर्छन् । त्यसले नपुगे परराष्ट्रमन्त्रीलाई पठाउने गरिन्छ ।

तर प्रधानमन्त्री देउवाको भ्रमण तयारीमा उनकी पत्नी आरजु स्वयं बढी सक्रिय छिन् । कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी उनले १८ पुसमा बीजेपी विदेश विभाग प्रमुख चौथाइवालेसँग नयाँदिल्लीमा भेट समेत गरेकी छन् । र, देउवाको भ्रमणका क्रममा मलखाद लगायतका विषय सम्बोधन गर्ने नेपाली पक्षको अपेक्षा छ ।

कूटनीतिक मामिलाका जानकार गेजा शर्मा वाग्ले सम्बन्ध सुधार नेपालको मात्र नभई भारतको पनि आवश्यकता भएको बताउँछन् । हालै पार्टीको १४ औं महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएपछि देउवा कांग्रेसमा अझ बलियो भएको भन्दै उनले भने, कांग्रेस र देउवासँगको सम्बन्धलाई बीजेपी र मोदीले उच्च प्राथमिकता दिएको पाइन्छ । त्यही कारण चौथाइवालेले कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी आरजु देउवा राणासँग सम्वाद गरेर केही अनौपचारिक सन्देशहरु पठाएको देखिन्छ ।’

उनका अनुसार प्रधानमन्त्री देउवाले पनि यो भ्रमणलाई भारत सरकार र विशेष गरी मोदीसँग सम्बन्ध सुधार गर्ने तथा नेपाल र भारतबीचमा रहेका सीमा विवाद, नयाँ नक्शा, व्यापार घाटा लगायतका समस्याहरु सम्बोधन गर्ने दिशातर्फ सकारात्मक वातावरण सिर्जना गर्ने उद्देश्यले प्रयोग गर्न खोजेको देखिन्छ ।

प्रमुख विपक्षी नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराई पनि प्रधानमन्त्रीको भारत भ्रमण नेपाल र भारतबीचमा रहेका समस्या समाधानमा उन्मुख हुनुपर्ने बताउँछन् ।

‘भ्रमणबारे हामीसँग औपचारिक परामर्श भएको छैन र एजेण्डा पनि सार्वजनिक भएको छैन’ उनले भने, ‘मुलुकको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री जान लाग्नुभएको हो भने भारतसँगको सम्बन्धमा हाम्रो आफ्नै प्राथमिकता छन् । केही सकारात्मक पक्ष छन्, केही समस्याग्रस्त क्षेत्र पनि छन्, समस्या समाधानमा उन्मुख भएर जानुपर्छ । भ्रमणका लागि भ्रमण गर्नुहुँदैन ।’

लेखकको बारेमा
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका सहायक सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?