+
+
आयातको अत्यास-२ :

पाँच वर्षमा उद्योगमा लगानी डेढ खर्ब, आयातमा ६३ खर्ब ८४ अर्ब

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ पुष २२ गते २१:२९

२२ पुस, काठमाडौं । आर्थिक वर्ष २०६३/०६४ मा नेपालको कूल वैदेशिक व्यापार २ खर्ब ७३ अर्ब ३६ करोड रुपैयाँ बराबर मात्रै थियो । जसमा आयातको हिस्सा २ खर्ब १३ अर्ब ९२ करोड र निर्यात ५९ अर्ब ४३ करोड थियो ।

सोही वर्ष नेपालमा १७७ वटा उद्योग स्थापना भए । कृषि, वन पैदवार, पूर्वाधार, ऊर्जा, खनिज, सेवा र पर्यटन क्षेत्रमा खुलेका ती उद्योगले आन्तरिक आवश्यकता पूर्तिसँगै निर्यातमा समेत टेवा पुर्‍याउने उद्देश्य राखेका थिए ।

वर्ष भरीमा खुलेका ती उद्योगमा ८१ करोड २३ लाख रुपैयाँ लगानी भएको थियो । १४ वर्षअघि स्वदेशमा उद्योग स्थापना गर्न गरिएको लगानी वैदेशिक व्यापारमा गरिएको भन्दा ३३ गुणा बढी थियो ।

१० वर्ष लामो द्वन्द्वपछि मुलुक शान्तिकालमा प्रवेश गरेकाले अब औद्योगिक युग सुरु हुने आम अपेक्षा थियो, तर त्यसअनुरुप उद्योगमा लगानी थपिएन । लगानीको ठूलो हिस्सा व्यापारमा गयो । हरेक साल उद्योगमा भन्दा व्यापारमा लगानी बढ्दै गयो ।

आव ०७७/७८ को अन्त्यसम्ममा कूल वैदेशिक व्यापारमा भएको लगानी १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाख रुपैयाँ नाघ्यो । जसमा आयातको हिस्सा १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख भन्दा माथि छ । सो वर्ष आयातमा भएको लगानी उद्योग स्थापनामा गरेको लगानीभन्दा ९८.३० गुणा हो । आव ०६३/०६४ मा कूल व्यापारमा गरिएको लगानी भन्दा यो ६५.३ गुणा बढी हो ।

उद्योग विभागको तथ्यांकअनुसार आव ०७७/७८ मा नेपालले उद्योगमा १५ अर्ब ६६ करोड ४० लाख रुपैयाँ लगानी गर्यो । पछिल्ला पाँच वर्षमा उद्योगभन्दा व्यापारमा ५७ गुणा बढी लगानी भयो ।

आव ०७३/७४ देखि ०७७/७८ सम्म नेपालमा दर्ता भएका २ हजार ३३३ उद्योगमा कुल एक खर्ब १० अर्ब ५४ करोड २२ लाख लगानी भयो । यो पाँच वर्षमा ६३ खर्ब ८४ अर्ब ५७ करोड ७६ लाख रुपैयाँ वस्तु आयातमा लगानी भएको छ । उद्योगमा भएको लगानीको तुलनामा यो खर्च ५७.५७ गुणा बढी हो ।

कूल गाह्रस्थ उत्पादन -जीडिपी)मा योगदानको हिसाबले पनि उद्योगभन्दा व्यापारको हिस्सा बढ्दै गएको छ । आव ०७६/७७ र ०७७/७८ मा कुल ग्राहस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान क्रमश ५.०३ र ५.०८ प्रतिशत छ । जीडिपीमा दुई आवको व्यापारको योगदान क्रमशः १५.०४ प्रतिशत र १५.६७ प्रतिशत छ ।

उद्योगभन्दा व्यापारमैत्री सरकार

नेपालको समग्र प्रणालीले उद्योगमा भन्दा व्यापारमा गरिने लगानीलाई सुरक्षित गरिदिएपछि उद्योगभन्दा व्यापार फष्टाएको उद्योगीहरुको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ उद्योगमा गरेको लगानीबाट बैंकमा राखिने पैसाको जतिपनि प्रतिफल नआउने अवस्था भएपछि उद्योगीहरु निराश भएको बताउँछन् । ‘उद्योग चलाउने सपना देखेर सफल पनि हुने भाग्यमानी एक/दुई जना मात्रै छन्’, उनी भन्छन्, ‘नेपालको औद्योगिक वातावरण यस्तै छ । उद्योग चलाउने विषयमा सरकारी निकायहरु नै अन्योल र अज्ञानता बोकेर बसेका छन् ।’

महासंघकै उद्योग समिति सभापति भरत आचार्य उद्योगभन्दा व्यापार फष्टाउनुमा सरकारी नीति नै मुख्य कारक रहेको मान्छन् । व्यापारमा लगानी बढी सुरक्षित हुने भएकाले उद्योगमा कम लगानी भएको उनी बताउँछन् ।

‘आयात भएका ६० प्रतिशतभन्दा बढी वस्तु खाद्य र कस्मेटिक्स टाइपका छन् । यी बस्तु नेपालमै उत्पादन गर्ने हो भने आयातसँग प्रतिस्पर्धा गर्नै नसक्ने अवस्था सिर्जना गरिएको छ,’ आचार्य भन्छन्, ‘लगानी गर्दा प्रतिफल निश्चित नहुने र सरकारले लगानी सुरक्षाको प्रत्याभूति नदिने भएपछि उद्योग कसरी खुल्छ ?’

लगानी गर्नेले देखेको असुरक्षाका कारण नेपालका लगानीकर्ताहरु उद्योग, व्यापार, बैकिङ लगायत सबै क्षेत्रमा हात हाल्न बाध्य भएको उनी बताउँछन् । उद्योगमा लगानी निरुत्साहित हुन दोहोरो कर, उद्योगमा प्रवेश र बाहिरीन कठिन कानुन, उच्च उत्पादन लागत, महँगो ऊर्जा एवम् श्रम शक्ति र उच्च ब्याजदर प्रमुख कारण रहेको आचार्यले औंल्याए ।

‘अवस्था प्रतिकूल थियो’

अर्थतन्त्रको विकासको महत्वपूर्ण खुड्किलो हुनुपर्ने ओद्योगिक विकासमा यसअघि प्रतिकूल रहेको उद्योग विभागको स्वीकारोक्ति छ । उत्पादनशील उद्योगको योगदान अर्थतन्त्रमा ५ प्रतिशत पनि नहुनु दुःखद रहेको विभागका महानिर्देशक रामचन्द्र तिवारी बताउँछन् ।

‘विगतमा मुलुक राजनीतिक संक्रमणमा गुज्रेको, ऊर्जा उत्पादन र वितरण प्रणाली संकटपूर्ण रहेका कारण पनि उद्योगमा भन्दा स्वभाविक रुपमा व्यापारमा लगानीकर्ता आकषिर्त भएको हुनुपर्छ,’ महानिर्देशक तिवारीले भने ।
संविधान बनेपछि राजनीतिक स्थिरता कायम भएको र सरकारले आवश्यक ऐन कानुनहरु पनि लगानीमैत्री बनाउँदै लगेका कारण अब अवस्था सहज बन्ने उनले बताए ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?