+
+

‘प्रति–जासूसी नहुँदा विदेशी स्वार्थ नै थाहा हुन्न’

देवीराम शर्मा, पूर्व प्रमुख, राअवि देवीराम शर्मा, पूर्व प्रमुख, राअवि
२०७८ पुष २३ गते १४:०६

म एउटा घटना स्मरण गर्न चाहन्छु । त्यसबेला डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो । कृष्णबहादुर महरा गृहमन्त्री र लीलामणि पौड्याल गृहसचिव हुनुहुन्थ्यो । प्रधानमन्त्री बनेपछि डा। भट्टराईले सचिवहरूलाई बोलाएर ‘तपाईंहरूलाई म तीन महीनासम्म चलाउँदिन, यो अवधिभर तपाईंहरूको कार्यसम्पादन हेर्छु भन्नुभयो ।’

उहाँको आशय थियो– काम गरेको हेरेर कहाँ उपयुक्त हुन्छ, त्यहाँ सरुवा गर्छु गर्नुपर्नेलाई भन्ने । तर त्यसो भनेको १९ दिनमा गृहसचिव पौड्यालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भयो ।

खासमा पौड्यालले विदेशी कूटनीतिक निकायका व्यक्तिलाई जथाभावी भेट्ने विषयलाई कडाइ गर्न खोज्नुभएको थियो । हामीकहाँ जोसुकैले, जथाभावी कूटनीतिक निकायका मानिसहरूलाई भेट्ने चलन छ । परराष्ट्र मन्त्रालयलाई केही थाहा हुँदैन । आफ्नो तालुक मन्त्रालयलाई थाहै छैन ।

सुरक्षा प्रमुखहरूलाई कूटनीतिज्ञले जथाभावी भेटेका छन् । सचिवहरूलाई भेटेका छन् । त्यसको रेकर्ड कतै हुँदैन, कसैले रिपोर्ट गर्दैन । उसले आएर मलाई यो कुरा भन्यो भनेर संस्थागत अभिलेख हुँदैन । अन्य देशमा कूटनीतिक निकायका मानिसहरू बाहिर जाँदा सरकारलाई जानकारी गराएर जानुपर्छ । भारतमा नै सरकारले ‘ओके’ गरेपछि मात्र जान पाइन्छ । यहाँ चाहिं आफूखुशी बाहिर हिंडेका छन् । त्यही विषयमा पौड्यालले कडाइ गर्न खोज्नुभएको थियो ।

विदेशी शक्तिले नेपालमा कस्ता कस्ता मान्छेलाई परिचालन गरेका छन्, तिनीहरूको पहिचान गर्ने कामका लागि पनि प्रति–गुप्तचरी चाहिन्छ ।

०००

नेपालमा विभिन्न मुलुकका २० हजार बढी शरणार्थी छन् । उनीहरूबाट पनि देशमा सुरक्षा चुनौती छ । नेपालमा बसेका चिनियाँ नागरिकहरूले बैंक ह्याकिङ गरिरहेका घटना प्रशस्तै आएका छन् । विदेशी नागरिकले नेपालमा के गरिरहेका छन् भन्ने पनि जानकारी राख्नु अति आवश्यक भइसकेको छ ।

नेपालमा विभिन्न मुलुकका व्यक्ति उनीहरूकै स्वार्थका लागि आएका छन् । कतिपयले हामीलाई हानि पनि नगर्लान् तर उनीहरूले हाम्रो मुलुकमा के गरिरहेका छन् भन्ने हामीले जानकारी राख्नुपर्छ । यसो गर्दा नेपालको राष्ट्रिय स्वार्थ कमजोर हुँदैन र उनीहरूसँगको मित्रता पनि रहिरहन्छ ।

अहिले साना–ठूला सबै देशको ठूलो हतियार भनेको सूचना हो । सामरिक रूपमा हामीले कसैसँग मुकाविला गर्न सक्दैनौं । हाम्रा नागरिक जयसिंह धामीका बारेमा बोल्न पनि प्रधानमन्त्रीलाई गाह्रो भयो, कालापानीका बारेमा बोलेको सुनिन्न ।

सामन्त गोयल नेपाल आएपछि केपी ओलीकै बोली फेरिएको थियो । गोयल आएपछि दुई पटक संसद विघटन भयो । यी सबै परिस्थितिमा विदेशीको स्वार्थ के-के थियो भन्ने थाहा पाउन प्रति–जासूसी संयन्त्र नेपालमा आवश्यक छ ।

०००

अहिले ८२ प्रतिशत खाद्यान्न दक्षिणबाटै आउँछ । हिजो संविधान जारी हुने वित्तिकै नाकाबन्दी भयो । आर्थिक, राजनीतिक, कूटनीतिक रूपले मुलुक विस्तारै कमजोर हुँदै गएको छ । यस्तो परिस्थितिमा मुलुकको सार्वभौमिकता रक्षा गर्न पनि प्रति–जासूसी संयन्त्र चाहिन्छ ।

राष्ट्र हितका लागि चुनौती सिर्जना गर्ने तत्वहरू के–के छन् ? बाह्य चुनौती के के छ भन्ने विषयमा मात्रै काम गर्ने विशिष्टकृत इकाइ मुलुकमा आवश्यक भइसकेको छ । बाह्य चुनौतीबाट राष्ट्रलाई जोगाउन विश्वव्यापी रूपमा प्रति–जासूसी संयन्त्र बनाउने प्रचलन छ । बृहत रूपमा प्रति–जासूसी भनेको विदेशी हस्तक्षेप, घूसपैठ नियन्त्रण गर्न विभिन्न मुलुकले अपनाउँदै आएको विधि हो ।

मुलुकको सार्वभौमिकता, स्वतन्त्रता, राष्ट्रिय हितमा आँच आउन नदिनका लागि बाह्य शक्तिले गरिरहेको गतिविधिबारे मसिनो जानकारी राख्नुपर्छ । त्यस्ता शक्तिसँग जोडिएका नेपालभित्रका एजेण्डा के हुन् ? उनीहरूका स्रोत को-को हुन् ? जस्ता विषयमा प्रति–गुप्तचरी संयन्त्रले सूक्ष्म अध्ययन र विश्लेषण गर्छ ।

निर्णय गर्ने तहमा छन् भने उनीहरूलाई त्यसबाट अलग गराउने काम पनि प्रति–गुप्तचरी संयन्त्रले गर्छ । विदेशी शक्तिले नेपालमा कस्ता कस्ता मान्छेलाई परिचालन गरेका छन्, तिनीहरूको पहिचान गर्ने कामका लागि पनि प्रति–गुप्तचरी चाहिन्छ ।

०००

बाह्य शक्तिले कुनै ऐन बन्दै गर्दा अथवा कुनै सन्धि सम्झौता हुँदै गर्दा किन चासो देखाइरहेको छ ? उनीहरूको स्वार्थ के छ भन्ने विषयमा अहिले सरकारी निकायले गम्भीर रूपमा विवेचना गरेको देखिन्न ।

खासमा प्रति–गुप्तचरी संयन्त्रले त्यस्ता विषयलाई अध्ययन गरेर राष्ट्रिय हित विपरीतको काम हुन दिंदैन । कुनै कुराले देशको हित गर्दैन, देशको स्वाधीनतामा असर गर्छ भने विदेशी राष्ट्रले त्यसका लागि घुसाएका मानिसबारे निगरानी यसले गर्छ ।

सामान्य अर्थमा हामी ‘एजेन्ट’ भनेर पनि उनीहरूलाई बुझ्छौं । एजेन्ट चाहिं कस्ता हुन्छन् भने एकखाले तलबै खान्छन् । कतिपयले प्रभावमा परेर सहयोग गरेका हुन्छन् । कोही सत्ता र शक्तिको प्रभावमा पर्छन्, कसैले त्यतिकै पनि भनिरहेका हुन्छन्, त्यो थाहै नपाई कसैका लागि सूचना बनिरहेको हुनसक्छ ।

यस्ता व्यक्ति राजनीतिज्ञ पनि हुन सक्छन्, सरकारमा हुन सक्छन्, सार्वजनिक संघ–संस्थामा हुन सक्छन्, जहाँ पनि हुन सक्छन् । उनीहरूको स्वार्थपूर्ति हुन नदिनका लागि प्रति–गुप्तचरी संयन्त्रले त्यस्ता व्यक्तिको पहिचान गरेर सरकारलाई सूचना उपलब्ध गराउँछ । त्यस्ता सूचनामा सरकार पनि इमानदार हुनुपर्छ । मुलुकभित्र कारबाही गर्नुपर्छ, बाहिरलाई ‘एक्सपोज’ गर्नुपर्छ ।

०००

पछिल्ला दशकमा कतिसम्म भयो भने मन्त्री बन्ने विषयमा पनि बाह्य शक्तिको चासो हुनेभयो । सुरक्षा निकायको त कुरै नगरौं । विगतमा नेपालको आन्तरिक परिस्थितिबाट विमान अपहरण भयो, तर त्यसको मलजल विदेशी शक्तिले गरेको विषय छिपेको छैन ।

मधेशमा अहिले पनि एक मधेश, स्वायत्त क्षेत्र, बहुराष्ट्रिय राज्यका एजेण्डा बोक्नेहरू हिंडिरहेका छन् । आन्दोलनका लागि पूर्वाधार खडा गर्ने काम भएका छन् । विभिन्न एनजीओ/आईएनजीओ भित्रिएका छन् । धार्मिक द्वन्द्व गराउने प्रयास भएको छ । धर्मपरिवर्तन गराउने क्रम बढेको छ । यसको पछाडि को–को खेलाडी छन् भन्ने विषयमा आन्तरिक रूपमा निगरानी र अनुसन्धान गर्ने काम प्रति–गुप्तचरी संयन्त्रले गर्छ । त्यसैले राष्ट्रको समग्र हितका लागि प्रति–जासूसी संयन्त्र अति आवश्यक छ । यसको गठन र सञ्चालन गर्न ढिलो भइसकेको छ, अब कत्ति पनि ढिलो गर्नु हुँदैन ।

(राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्मासँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीको सम्पादित अंश ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?