+
+

खाडीले उब्जाएका पाँच व्यथा

‘विदेशमा पुगेपछि हामी मान्छे होइनौं, पशुसरह हुने रहेछौं,’ उर्मिलाले भनिन्, ‘हाम्रो जीवनको त्यहाँ मूल्य तोकिन्छ । मैले जिउँदै नर्क देखें, अब कसैगरी विदेसिन्न ।’

आभास बुढाथोकी आभास बुढाथोकी
२०७८ पुष २४ गते २०:३५

२३ पुस, दाङ । भविष्य सुन्दर बनाउन दैनिक हजारौं नेपाली रोजगारीको लागि विदेश पुगिरहेका छन् । सुखी जीवन बिताउने सपना बोकेर लाखौं नेपाली श्रमिक खाडीको तातोमा पसिना बगाउँदैछन् । तलका पाँच प्रतिनिधि पात्रका भोगाइले वैदेशिक रोजगारीले मुलुकमा रेमिट्यान्स मात्र होइन, थुप्रै सामाजिक पीडा-व्यथा पनि भित्र्याइरहेको छ भन्ने देखाउँछ ।

पात्र १

रुकुमको मुसिकोट नगरपालिका-१० का ललित बुढाले पढ्दापढ्दै प्रेम विवाह गरे । विवाह गर्दा लागेको त्यही ऋण तिर्न र धन कमाउने सपना बुनेर उनी २०७१ सालमा खाडी हान्निए । भर्खरै बिहे गरेकी श्रीमती छाडेर उनी खाडीको तातोमा सुन्दर भविष्यको खोजीमा पुगे ।

२०७३ मंसीरको एक दिन, सधैं झैं फिल्डमा काम गर्दै थिए । अचानक माथिबाट खसेको फलाम उनीमाथि बज्रियो । त्यो दुर्घटनाबाट त उनी बाँचे तर पहिलेको अवस्थामा फर्किएनन् । टाउकोमा लागेको गम्भीर चोटले उनी कोमामा पुगे । तीन वर्ष उनी कतारकै अस्पतालमा अचेत अवस्थामा उपचारमा रहे ।

उनी कोमामा पुगेको खबर सुनेलगत्तै यता उनकी श्रीमती मुना जस्ती छोरीलाई छाडेर अर्कैसँग हिंडिन् ।

ललित बुढा

७० वर्षीय बुबा रामबहादुर बुढा भने कतारको अस्पतालमा लडिरहेका छोरा फर्काउन जुटे । म्यानपावर कम्पनीदेखि नेतासम्म धाएर तीन वर्षमा उनले छोरालाई नेपाल फर्काए, एक वर्ष काठमाडौं राखेर उपचार गरे ।

अस्पतालमा भएन, घर पुगेपछि छोरो कोमाबाट उठ्छ भन्ने झिनो आशा लिएर फर्काएको केही महीनामै उनका छोरा कहिल्यै नउठ्ने गरी गए ।

पात्र २

तुलसीपुर उपमहानगरपालिकाकी ३१ वर्षीया माया (नाम परिर्वतन)लाई गाउँकै आफन्त पर्नेले विदेशमा राम्रो कमाइ हुने प्रलोभन देखाए । मासिक ४५ हजार रुपैयाँ कमाइ हुने भनिएपछि उनी साउदीमा रहेका श्रीमानलाई समेत नभनी तीन वर्षअघि कुवेततिर लागिन् ।

दलालले गैरकानूनी बाटो हुँदै उनलाई कुवेत पुर्‍यायो । एजेन्ट मार्फत उनी घरेलु कामदारका रुपमा अरबीको घरमा पुगिन् । मालिकले बन्धक जस्तै बनाएर राखे । ‘पुगेकै दिनबाट साहुले शोषण गर्न थाले । घरमा फोन गर्न पनि दिएनन्’ उनले सुनाइन्, ‘१४ घण्टा काम गर्दा पनि उनीहरुलाई नपुग्ने । मेसिनझैं सम्झेर काम लगाउँथे ।’

केही महीनापछि मालिकले यौनशोषण गर्न थाले । कामको दुःख, त्यसमाथि मालिकको शोषण । त्यहाँ पुगेको आठ महीनामै गर्भ बस्यो । त्यो कुरा थाहा पाएर घर मालिक्नीले उनलाई एजेन्टकहाँ फिर्ता गरिदिइन् । दाङमा रहेका माइतीको सम्पर्कमा आएपछि उनलाई जसोतसो उद्धार गरेर नेपाल फिर्ता ल्याइयो ।

‘फोन गरेर श्रीमानलाई सबै कुरा सुनाएँ’ उनले भनिन्, ‘आफ्नो सबै व्यथा सुनाएपछि कसो न बुझ्लान् भन्ने लागेको थियो । तर घर नआउन भनेपछि फर्केर जान सकिनँ ।’

उनी माइतीको शरणमा पगिन् । गाउँघरमा फैलिएको हल्लाले पनि उनी गाउँमा बस्न सकिनन् । तीन वर्षयता माइतीको सहयोगमा पसल गरेर एक्लै बच्चा हुर्काइरहेकी छन् ।

पात्र ३

‘विदेशमा पुगेपछि हामी मान्छे होइनौं, पशुसरह हुने रहेछौं,’ उर्मिलाले भनिन्, ‘हाम्रो जीवनको त्यहाँ मूल्य तोकिन्छ । त्यहाँ नेपाली र अरु देशका पनि दिदीबहिनीहरुलाई अवस्था उस्तै थियो । मैले जिउँदै नर्क देखें, अब कसैगरी विदेसिन्न ।’

दाङको शान्तिनगर गाउँपालिकाका ६२ वर्षीय नीमबहादुर खड्का आफैं दमका रोगी हुन् । उनी धेरै हिंडडुल गर्न सक्दैनन् । तर बुढेसकालले गाँज्दै लगेको रोगले भन्दा सन्तानको शोकले बढी सताउँछ उनलाई । छोरा सम्झियो कि उनका आँखाको छेउकुना रसाइहाल्छ ।

चार वर्षअघि वैदेशिक रोजगारीका लागि छोरालाई साउदी अरेबिया पठाए । उनलाई छोरा बुढेसकालमा सहारा बन्ला भन्ने आश थियो । तर सुन्दर भविष्य खोज्न खाडी पुगेका उनका छोरा दुई वर्ष नपुग्दै बाकसमा फर्किए ।

अहिले चार वर्ष बित्यो । तर उनलाई हिजोजस्तै लाग्छ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छोराको शव बुझेर घर फर्किएको । ‘वर्ष दिनपछि घर आउँछु भन्थ्यो । घर फर्किन नपाई गयो । छोराको मुख देख्न पाइनँ,’ त्यसपछि उनी बोल्न सकेनन्, रोए मात्र ।

पात्र ४

दाङ घोराही-१० की उर्मिला (नाम परिवर्तन) घरकी जेठी छोरी थिइन् । आफूभन्दा मुनिका तीन बहिनी र एक भाइ हुर्कंदै थिए । घरको आर्थिक अवस्था एकदमै कमजोर भएपछि उनले केही गर्नुपर्ने अवस्था आयो । २२ वर्षको उमेरमा उनले विदेशिने सोच बनाइन् ।

गाउँकै आफन्तबाट उनी एक म्यानपावर कम्पनीको सम्पर्कमा पुगिन् । फ्री टिकट, भिसा र मासिक ५० हजार रुपैयाँ कमाइ हुने प्रलोभनमा परेर २०७३ माघमा वैदेशिक रोजगारीका लागि घरबाट निस्किइन् ।

उनी नेपालगञ्जबाट रुपैडिया नाका हुँदै भारत पुगिन् । ‘१७ दिन हामीलाई भारतको एउटा कोठामा राखियो । त्यहाँबाट ओमन भनेर दुबई पुर्‍याइयो,’ उनले भनिन् ।

त्यहाँ खाडी मुलुकमा महिलाहरुलाई घरेलु कामदारमा बेच्ने ठूलो गिरोह रहेछ । त्यहाँ कसरी मूल्य तोकेर महिलाहरुलाई घरेलु कामदारका रुपमा बेचिँदोरहेछ भन्ने उनले देखिन् । ‘हाम्रो मूल्य पाँच लाखदेखि माथि तोकेर खाडी मुलुकमा बेचिने रहेछ’ उनले भनिन्, ‘आफू त्यहाँ बेचिन आइपुगेको थाहा पाएपछि छाँगाबाट खसेजस्तै भएँ ।’

घर मालिक दिनरात नभनी काम गर्न लगाउँथे । चार घण्टा मात्रै सुत्न पाइने । ‘बिरामी हुँदा पनि सुख नपाइने’ उनले सुनाइन्, ‘तलाई यहाँ सुत्न होइन काम गर्न किनेर ल्याएको हो भन्दै गालीगलौज गर्थे । कहिले कुट्थे पनि ।’

शारीरिक र मानसिक यातना बढेपछि उनी झण्डै डिप्रेसनमा गइन् । एकदिन काम गर्दैगर्दा भर्‍याङबाट लडेर खुट्टा भाँचियो । त्यसपछि झन् काम गर्न नसक्ने भइन् । ‘यो दुःख पाउनु भन्दा नेपाल फर्किने सोच बनाएँ’ उनले भनिन्, ‘काम नै गर्न नसक्ने भएपछि घरमालिकले पहिला किनेको ठाउँमा फर्काइदिए ।’

त्यसपछि त्यहाँ एजेन्टले दुई महिना बन्धक बनाएर राखे । समयमा खान नदिइने, घरमा सम्पर्क पनि गर्न नदिने । अनेक विन्तीभाउ बिसाएपछि एक दिन उनलाई घरमा फोन गर्न दिए । अन्ततः घरमा फोन गरेपछि जसोतसो उद्धार गरेर नेपाल फर्काइयो ।

‘विदेशमा पुगेपछि हामी मान्छे होइनौं, पशुसरह हुने रहेछौं,’ उनले भनिन्, ‘हाम्रो जीवनको त्यहाँ मूल्य तोकिन्छ । त्यहाँ नेपाली र अरु देशका पनि दिदीबहिनीहरुलाई अवस्था उस्तै थियो । मैले जिउँदै नर्क देखें, अब कसैगरी विदेसिन्न ।’

पात्र ५

‘तिम्री श्रीमती बेपत्ता छिन्, छिट्टै घर आइहाल’ खाडीमा पसिना बगाएको तीन वर्ष पुग्नै लाग्दा तुलसीपुरका २८ वर्षीय हेमराज रावतलाई बाबुको फोन आयो ।

घर फर्किएर उनी श्रीमतीको खोजीमा लागे । प्रहरीमा निवेदन दिए । भ्याएजति सबै ठाउँ खोजे तर कहीं पनि श्रीमतीको पत्तो लागेन । उनले तीन वर्ष कमाएको पैसा श्रीमतीलाई नै पठाएका थिए । खोज्न हिंडेको महिना दिनपछि श्रीमतीले नै फोन गरेर आफू विवाह गरेर अन्यत्र गएको बताइन् ।

‘परिवार सम्झेर मरुभूमिको तातो भनिएन । पसिनाले जोडेको धनसम्पत्ति सबै गुम्यो’ उनले भने, ‘खाडीमा बगाएको पसिना बालुवामा पानी भयो ।’

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?