+
+

नेपाली फिल्मका ‘डरलाग्दा भिलेन’ : किन भए गुमनाम ?

अभिनेताहरु राजेश हमाल, निखिल उप्रेती, विराज भट्ट, रमित ढुंगाना चलचित्रबाट सुस्ताएसँगै एक्सन चलचित्र निर्माणको क्रम घट्यो । त्योसँगै डरलाग्दो रुपमा प्रस्तुत हुने ‘भिलेन’हरु (खलपात्र) पनि पर्दामा कम देखिन थाले । हामीकहाँ थुप्रै अभिनेता छन्, जसलाई आवरणकै कारण आजसम्म पनि ‘भयानक गुण्डा’ अर्थात् ‘डरलाग्दा भिलेन’ भनेर चिन्नेको जमात ठूलो छ ।

सुशील नेपाल सुशील नेपाल
२०७८ पुष २४ गते २०:०५

२४ पुस, काठमाडौं । लामो कपाल, मोटा पाखुरा, अग्लो कदको शरीर । हात र घाँटीमा सुनचाँदीका गहना लगाएका । नेपाली चलचित्रको पर्दामा जब अभिनेता मुकुन्द थापा ‘भिलेन’को रुपमा प्रस्तुत हुन्थे, दर्शकमा डर पैदा हुन्थ्यो । सँगै, रिस पनि उठ्थ्यो ।

गरीब-दुःखीको शोषण गर्ने । उनीहरुलाई मिहिनेत गरेर खान नदिने, गुण्डा लगाएर कुट्ने । अभिनेत्री तथा अन्य महिला पात्रमाथि आँखा लगाउने । यौन दुर्व्यवहार गर्न खोज्ने, गैरकानूनी काम गर्ने, ‘हिरो’सँग भिड्ने यस्तै-यस्तै हुन्थ्यो, उनको भूमिका ।

काभ्रेमा जन्मिएका मुकुन्दले ‘आँधीबेहरी’बाट फिल्मी करिअर शुरुआत गरेका थिए । मार्सल आर्टमा ‘ब्ल्याक बेल्ट’ उनी खेलाडीका साथै पूर्व सैनिक समेत हुन् । ‘मजदुर’मा ‘भिलेन’को भूमिकामा प्रस्तुत भएपछि मुकुन्दले कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन । ‘करण अर्जुन’, ‘जीवनदाता’, ‘सावधान’, ‘मैदान’ जस्ता चलचित्रले उनको व्यस्तता बढ्यो । ‘मैदान’मा भीमसेन खत्री पात्रको ‘भिलेन’ चरित्र निर्वाह गरेपछि उनलाई सोही नामले चिन्ने दर्शकहरु बढी भए । अहिले पनि धेरै दर्शकले उनलाई मुकुन्द थापा भन्दा भीमसेन खत्री भनेर चिन्ने गर्छन् । सो चलचित्रमा काम गरेपछि चिन्नेसँगै डराउने दर्शकहरु समेत धेरै भएको उनी स्मरण गर्छन् ।

‘मैदानमा काम गरेपछि कतै जाँदा मसँग डराउनेहरु धेरै पाएँ । चलचित्रकै जस्तो क्यारेक्टर सम्झेर बोल्न त परको कुरा नजिक पर्न पनि डराउनेहरु धेरै पाउँथेँ,’ उनी भन्छन् ।

‘फ्ल्यास ब्याक’, ‘कहाँ छौं कहाँ’, ‘भाग्य विधाता’, ‘इतिहास’, ‘सुन्दर मेरो नाम’, ‘कालापानी’, ‘लुटेरा’ जस्ता थुप्रै चलचित्रहरु छन् जहाँ मुकुन्द डरलाग्दो भिलेनको रुपमा प्रस्तुत छन् । सो समय उनको व्यस्तता यस्तो थियो, सेड्युल मिलाएर दिनमै तीनवटासम्म चलचित्रमा अभिनय गर्न भ्याउँथे ।

नेपाली चलचित्रमा खलनायक भूमिकामा देखिने सुनिल थापा र मुकुन्द थापा ।

तर, मुकुन्दको त्यो डरलाग्दो रुपलाई दर्शकले चलचित्रको पर्दामा नदेखेको धेरै भइसकेको छ । उनलाई याद भएसम्म प्रदर्शनमा आएको आफ्नो पछिल्लो चलचित्र ‘लुटेरा’ हो । जुन प्रदर्शनमा आएको ६ वर्ष भइसकेको छ । बरु उनलाई हिजोआज दर्शकले टेलिसिरियल ‘भद्रगोल’मा दर्शकले देख्दै आएका छन् ।

काठमाडौं छाडेर पछिल्लो समय पनौतीस्थित घरमै बस्दै आएका थापा अहिले आफू आराम गरिरहेको बताउँछन् । स्वास्थ्यमा समस्या आएपछि उनी केही समय अस्पतालमा बस्नुपर्‍यो । उपचारपछि अहिले घरमै बसेर आराम गरिरहेको उनी बताउँछन् । थापाले पनौतीमा पोल्टीफार्म समेत सञ्चालन गरेका थिए, तर कोरोना महामारीका कारण बन्द गर्नुपर्‍यो ।

****

अभिनेता उमेश खड्काले खलपात्र अर्थात् ‘भिलेन’को भूमिकामा एक सय हाराहारी नेपाली चलचित्रमा काम गरेका छन् । दुई दशकअघि ‘माया नमार’बाट चलचित्रमा ‘भिलेन’को रुपमा पदार्पण गरेका भक्तपुरका उमेशलाई त्यसयता भ्याईनभ्याई भयो । ‘बिहान काम शुरु गरेर राति १२ बजेसम्म तीनवटा चलचित्रमा काम गरेको रेकर्ड छ’ उनी सुनाउँछन्, ‘वर्षमा १५ वटासम्म चलचित्रमा काम गरें ।’ ‘माया नमार’ हुँदै ‘जीवनदाता’, ‘जय शिव शंकर’, ‘मैदान’, ‘गंगाजल’, ‘हामी टयाक्सी ड्राइभर’, ‘लव कुश’ ‘दाग नमेटिएको घाउ’, ‘लुटेरा’ लगायतका थुप्रै चलचित्रमा उनी ‘डरलाग्दा भिलेन’को रुपमा प्रस्तुत भए ।

सुगठित शरीर, हात र घाँटीमा सुनचाँदीका गहना लगाएर ‘डरलाग्दो भिलेन’का रुपमा चलचित्रमा देखिन्थे उमेश । उनले बोल्ने संवादले दर्शकमा छुट्टै डर पैदा गर्थ्यो । तर, हिजोआज उमेशलाई पनि चलचित्रमा विरलै देख्न पाइन्छ । उनी अभिनित पछिल्लो प्रदर्शित चलचित्र ‘लुटेरा’ हो । त्यसयता उनले ‘अघोरी’ नामक चलचित्रमा अभिनय गरेका छन् । तर यो चलचित्रको छायांकन पूरा भएको छैन । अन्य केही चलचित्रमा कुरा भएपनि काम शुरु नभएको उनले बताए । लामो समयपछि केही साताअघि मात्रै एक म्युजिकल ड्रामामा काम गरेको उनले सुनाए । एक दशकभन्दा लामो समयदेखि रियलस्टेट व्यवसायमा समेत रहेका उनी अहिले सोही व्यवसायमा बढी समय दिंदै आएका छन् ।

****

सुशील पोखरेल चलचित्रमा ‘भिलेन’को भूमिकामा निक्कै ख्याति कमाएका अर्का अभिनेता हुन् । ललितपुरका स्थायी बासिन्दा सुशील नाटक, भिडियो चलचित्र, टेलिचलचित्र हुँदै २०५० सालमा ‘ज्वाला’नामक चलचित्रबाट ठूलो पर्दामा ‘भिलेन’को रुपमा उदाए ।

उनले हालसम्म दुई सय हाराहारी चलचित्रमा ‘भिलेन’को भूमिकामा अभिनय गरिसकेका छन् । एकताका त यस्तोसम्म समय थियो, उनले दिनमै तीनटा चलचित्रको सेटमा काम गर्न पुग्नुपर्थ्याे ।

सुशील सम्झिन्छन्, ‘अफर नै यति धेरै आउँथ्यो, एक दिनमा तीनवटा चलचित्रको छायांकन गर्नुपर्ने बाध्यता पनि थियो । २०५७ देखि २०६६ को समयमा एकदमै धेरै व्यस्त भइन्थ्यो ।’

सुशीलले ‘सक्कली नक्कली’, ‘शंकर’, ‘आगो’, ‘निरमाया’, ‘ए मेरो हजुर’, ‘सुखदुःख’, ‘पाहुना’, ‘हामी तीन भाइ’, ‘युद्ध’ लगायतका थुप्रै चलचित्रमा भिलेनको भूमिका निर्वाह गरेका छन् । उनको हाउभाउ र बोल्ने संवादले चलचित्र हेर्ने दर्शकलाई निकै डर पैदा गर्थ्यो ।

तर, पछिल्ला वर्ष ठूलोपर्दामा ‘भिलेन’को भूमिकामा उनी पहिलेजस्तो देखिएका छैनन् । बरु छोटा चलचित्रमा अभिनयसँगै अभिनय प्रशिक्षण, स्क्रिप्ट लेखन लगायतका नेपथ्यमा बसेर गर्ने काममा उनी व्यस्त छन् ।

‘केही चलचित्रहरु बनेर बसिरहेका छन् । दुईवटामा काम गर्ने तय भएको छ । तर, पहिले जसरी चलचित्रमा व्यस्तता हुन्थ्यो, त्यो धेरै नै घटेको छ,’ उनले अनलाइनखबरसँग भने ।

****

यस्ता थुप्रै अभिनेता छन्, जो चलचित्रमा झुल्किँदा आवरणले नै भिलेनको परिचय दिन्थ्यो । चलचित्रमा निर्वाह गरेको भिलेन चरित्रको छापले पर्दाबाहिर समेत कतिपय दर्शक डराउँथे

नेपाली चलचित्रमा ‘डरलाग्दो भिलेन’को परिचय बनाएका थुप्रै अभिनेता छन्, जसलाई हिजोआज पर्दामा विरलै देख्न पाइन्छ । कोरोना महामारीयता चलचित्र निर्माण घटेको छ, तर कोरोना महामारी शुरु हुनु आधा दशक अघिदेखि नै चलचित्रको पर्दाबाट ‘डरलाग्दा भिलेन’हरु सुस्ताएका छन् ।

नेपाली चलचित्रका ‘भिलेन’ भन्नेबित्तिकै आउने पहिलो नाम हो, सुनिल थापा । तीन सय हाराहारी चलचित्रमा अभिनय गरेका सुनिल चलचित्रमा भिलेनको पर्याय जस्तै मानिन्छन् । उनी बलिउड हुँदै नेपाली चलचित्रमा पदार्पण गरेका हुन् । नेपाली चलचित्र ‘सम्बन्ध’ र ‘सञ्जोग’मा भिलेनको भूमिकामा काम गरेपछि प्रदर्शनमा आएको ‘चिनो’ चलचित्रले सुनिललाई निकै चर्चा दिलायो । ‘चिनो’मा ‘राते काइँला’को भूमिकामा प्रस्तुत सुनिल त्यसयता सर्वाधिक खोजिने भिलेन पात्रका रुपमा रहिरहे ।

‘चिनो’मा उनले निर्वाह गरेको ‘राते काइँला’को भूमिकालाई अहिले पनि दर्शकले उत्तिकै सम्झिने गर्छन् । चिनोपछि ‘राते काइँला’ र सुनिल थापा पर्याय जस्तै मानिन थालियो । अहिले पनि उनलाई ‘राते काइँला’भनेर चिन्नेहरु थुप्रै छन् ।

‘चिनो’मा काम गरेपछि भिलेनको भूमिकामा सुनिल यति व्यस्त भए कि दिनमा चारदेखि पाँचवटा चलचित्रको छायांकन भ्याउँथे । त्यसबेला चलचित्रमा हिरोमा राजेश हमाल र भिलेनमा सुनिल थापाको केमेष्ट्रीलाई दर्शकले एकदमै रुचाउँथे । ‘पापी मान्छे’, ‘देवर बाबु’, ‘कर्मयोद्धा’, ‘कर्तव्य’, ‘कानून’ जस्ता थुप्रै चलचित्रहरु छन्, जहाँ सुनिल खतरनाक भिलेनको भूमिकामा प्रस्तुत छन् ।

तर सुनिललाई हिजोआज भिलेनको भूमिकामा भने विरलै देख्न पाइन्छ । उनी अभिनीत पछिल्लो चलचित्र ‘प्रेम गीत ३’ हो । यद्यपि, यो चलचित्रमा उनी भिलेनको भूमिकामा नरहेको बताइन्छ । काठमाडौंमा एक अपार्टमेन्टमा बस्दै आएका सुनिल एभरेष्ट फिल्म एकेडेमीमा अध्यक्ष छन् । केही दिनअघि मात्रै उनी मुम्बई गएका छन् ।

डरलाग्दा भिलेनको भूमिकामा ख्याति कमाएका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई पनि भिलेनको भूमिकामा चलचित्रमा नदेखिएको लामो समय भइसक्यो । यस्तै एकसमय भिलेनकै भूमिकामा जमेका हेमन्त बुढाथोकी पनि पछिल्लो समय चलचित्रको पर्दाबाट टाढा छन् । उनी अहिले गृहजिल्ला झापामा रहेर व्यवसायतिर सक्रिय रहेको निकटस्थहरु बताउँछन् ।

भिलेनको भूमिकाबाटै ख्याति कमाएका अर्का अभिनेता मुकुन्द्र श्रेष्ठ पनि पछिल्लो समय चलचित्रको पर्दाबाट टाढा छन् । उनलाई दर्शकले पछिल्लो समय चलचित्र ‘कोहिनूर’मा हेरेका थिए । उनी जीवन्त अभिनयका धनी मानिन्छन् ।

भिलेनको भूमिकाबाटै चर्चित बनेका दिनेश शर्मा पछिल्लो समय चलचित्र क्षेत्रबाट पलायन जस्तै छन् । दिनेश केही वर्षदेखि अमेरिका बस्दै आएका छन् ।

अभिनेता विजय देउजा पनि पछिल्ला वर्ष चलचित्रमा कमै देखिन्छन् । उनले भिलेनको भूमिका निर्वाह गरेको पछिल्लो चलचित्र ‘झिंगेदाउ’ हो । कोरोना महामारीअघि छायांकन भएको चलचित्र प्रदर्शनमा आएको छैन ।

वीर अस्पतालमा मेडिकल रेकर्डरका रुपमा कार्यरत उनी पछिल्लो समय दुईवटा टेलिसिरियलमा देखिंदै आएका छन् ।

‘टार्जन’ उपनामबाट चिनिने अभिनेता राजीव मानन्धर एकदशकदेखि मुम्बईमा बस्दै आएका छन् । थुप्रै नेपाली चलचित्रमा डरलाग्दा भिलेन बनेका उनको हिजोआजको व्यस्तता भोजपुरी चलचित्रतिर छ । नेपालमा उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘हिरो नम्बर वान’ हो ।

सुशील पोखरेल भन्छन्, ‘व्यक्तिगत सम्पर्क नहुँदा उहाँहरुलाई हामीसँग काम गर्न अलि सहज नलाग्दो हो ।’ यो अघिल्लो जेनेरेसन हो, अहिले नयाँ जेनेरेसनसँग काम गर्नुपर्छ भन्ने बुझाइ पनि रहेको आफूले पाएको पोखरेल बताउँछन्

निखिल उप्रेतीको पहिलो चलचित्र ‘पिंजडा’मा भिलेनको भूमिका निर्वाह गरेपछि चर्चामा आएका पवन मैनालीले धेरै चलचित्रमा काम गरेनन् । चलचित्र ‘दिदी बहिनी’ छायांकनको क्रममा दुर्घटनामा परेपछि उनी चलचित्र क्षेत्रबाट टाढा छन् ।

युवराज लामा, मुरलीधर, रमेश बुढाथोकी, रोबिन तामाङ, पुस्कर भट्ट, संघरत्न महर्जन, नन्दु श्रीवास्तव, नागेन्द्र रिजाल, कमलकृष्ण जस्ता भिलेनको भूमिकामा ख्याति कमाएका अभिनेताहरु पनि पछिल्लो समय चलचित्रको पर्दामा कमै देखिन्छन् ।

यस्ता थुप्रै अभिनेता छन्, जो चलचित्रमा झुल्किँदा आवरणले नै भिलेनको परिचय दिन्थ्यो । चलचित्रमा निर्वाह गरेको भिलेन चरित्रको छापले पर्दाबाहिर समेत कतिपय दर्शक डराउँथे ।

चलचित्रको पर्दामा किन देखिन छाडे ?

‘गरीब’, ‘शंकर’, ‘तिम्रो माया ९९ मेरो माया १००’, ‘पूजा’ लगायतका दर्जनौं चलचित्रमा डरलाग्दो भिलेनका रुपमा अभिनय गरेका राजेन्द्र खड्गी आफू लगायत चलचित्रमा भिलेन पात्रबाट चर्चित बनेका अभिनेताहरु पछिल्लो समय देखिन छाडनुका केही कारणहरु देख्छन् ।

‘पहिलेका हिरोहरु दह्रा र सुगठित शरीरका थिए । सोहीकारण भिलेनहरु पनि त्यहीअनुसार देखाउनुपर्थ्याे । अहिलेका हिरोहरु त्यस्ता छैनन्, खड्गीले भने, ‘अहिले चकलेटी हिरोहरु आए । त्यसमाथि पहिले एक्सन चलचित्रहरु बढी बन्थे, अहिले निकै कम भएको छ ।’

उमेश खड्का र राजेन्द्र खड्गी ।

खड्गीको बुझाइमा पहिले भिलेन पात्रमा आवरण, उनीहरुको व्यवहार र हर्कतलाई प्राथमिकता दिइन्थ्यो । अहिले  क्यारेक्टर र उनीहरुको सोचलाई भिलेनको रुपमा प्रस्तुत गर्न थालियो ।

उनले अगाडि भने, ‘पहिले लुक्सबाटै भिलेन प्रस्तुत गरिन्थ्यो । अहिले जो पनि खराब हुन सक्छन् है, वा नसोचेका व्यक्तिहरु पनि भिलेन हुन सक्छन् है भन्ने हिसाबले देखाइन्छ ।’ उनी चलचित्रमा पनि पुस्तान्तरण हुनु स्वाभाविक मान्छन् ।

खड्गी जस्तै अभिनेता उमेश खड्का पनि नयाँ-नयाँ अभिनेताहरुको आगमनसँगै फरक खालका चलचित्र बन्न थालेकाले भिलेनको भूमिकामा ख्याति कमाएका पुराना अभिनेताहरुको व्यस्तता घटेको हुनसक्ने बताउँछन् ।

‘पछिल्लो समय ट्रयाक चेन्ज गरेको जस्तो खालका नेपाली चलचित्रहरु बनिरहेका छन् । नयाँ हिरोहरु आइरहेका छन्,’ उमेश भन्छन्, ‘नयाँ-नयाँ भाइहरुसँग हामी अलिकति उमेरका कलाकारहरुलाई मिक्सअप गर्न निर्माता-निर्देशकहरुलाई गाह्रो भएको हो जस्तो लाग्छ ।’ उनी पनि पछिल्लो समय आवरणको नभई क्यारेक्टर भिलेन हुन थालेकाले पनि व्यस्तता घटेको हुनसक्ने धारणा राख्छन् ।

‘पहिलेको जस्तै राजेश हमाल, विराज भट्ट, निखिल उप्रेती, रमित ढुंगानाहरु सक्रिय भइदिएको भए पहिलेको जस्तै व्यस्त भइन्थ्यो होला,’ उनले भने, ‘हामी काम गर्न त सधैं तयार छौं तर अहिले त्यस किसिमको रोल क्रिएट नभएर हो कि जस्तो लाग्छ ।’

अहिले चलचित्रमा पहिलोको जस्तो कथा चयन हुन छाडेको छ । चयन भइहाले प्रस्तुतिको शैलीमा व्यापक परिवर्तन भएको अभिनेता सुशील पोखरेलको बुझाइ छ । पहिलेको जस्तो व्यस्तता घट्नुमा यस्ता विविध कारण रहेको उनी बताउँछन् ।

‘पहिले जति पनि निर्माता-निर्देशक हुनुहुन्थ्यो । उहाँहरु लगभग अहिले हुनुहुन्न भन्दा पनि हुन्छ । नयाँ पुस्तासँग हाम्रो उठबस, काम त्यति भएको छैन,’ पोखरेल अर्को कारण भन्छन्, ‘व्यक्तिगत सम्पर्क नहुँदा उहाँहरुलाई हामीसँग काम गर्न अलि सहज नलाग्दो हो ।’ यो अघिल्लो जेनेरेसन हो, अहिले नयाँ जेनेरेसनसँग काम गर्नुपर्छ भन्ने बुझाइ पनि रहेको आफूले पाएको पोखरेल बताउँछन् ।

त्यो समय अहिलेको तुलनामा बढी लाउड काम हुन्थ्यो । कतिपयले त्यो बेलाको व्यक्ति भनेपछि लाउड काम गर्ने भनेर पनि बुझ्ने गरेको पोखरेल बताउँछन् । कलाकार भनेको काँचो माटो भएको बताउँदै उनी भन्छन्, ‘जसले जस्तो सेभ दिन चाह्यो, त्यस्तो बन्नुपर्छ । अनि त्यो माटोलाई सबैले सदुपयोग गर्छन् । चलचित्रमा कलाकारले जस्तो चाह्यो त्यस्तो गर्ने होइन, निर्देशकले जस्तो चाह्यो त्यस्तो गराउने हो भन्ने बुझाइको पनि कमी देखें ।’

त्यो समय चलचित्र क्षेत्रमा ‘भिलेन’को छाप लागेकाले पछि त्यस्तै भूमिकामा मात्रै अफर आएको स्मरण गर्दै अहिलेका स्थापित व्यक्तिमा पनि यिनीहरुबाट पोजेटिभ भूमिका हुँदैन भन्ने धारणा समेत रहेको पोखरेल गुनासो गर्छन् । एउटा कलाकारले समयअनुसार आफूलाई परिवर्तन गर्दै लैजानु भने अत्यावश्यक रहेको उनी बताउँछन् ।

लेखकको बारेमा
सुशील नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?