+
+

ओमिक्रोनको असर : विश्वभर दैनिक २० लाख कोरोना संक्रमित थपिन थाले

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २५ गते १९:१९

२५ पुस, काठमाडौं । आइतबारसम्म विश्वभर कुल ३० करोड ५१ लाखभन्दा बढी मानिसमा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।

शुक्रबार कोभिड-१९ बाट संक्रमित हुने कुल मानिसको संख्या ३० करोड नाघेको थियो । आवरवर्ल्डइनडाटाका अनुसार उक्त संख्या आइतबारसम्म बढेर ३० करोड ५१ लाख ९० हजार पुगेको छ । यसबाट पछिल्लो समय विश्वभर झण्डै दैनिक २० लाख बढी संक्रमित बढेको देखिन्छ ।

त्यस्तै, तथ्याङ्क अनुसार डिसेम्बर १ देखि ७ गतेको अवधिमा विश्वभर १ करोड ३५ लाख संक्रमित थपिएका छन् । तथ्याङ्क हेर्दा सुरुमा कुल संक्रमितको संख्या १० करोड १ वर्षभन्दा बढी लागेको देखिन्छ । त्यस्तै, थप १० करोड संक्रमित थपिन झण्डै ८ महिना लागेको थियो । तर पछिल्लो समय ५ महिनामै १० करोड नयाँ संक्रमित थपिएका छन् ।

कुल संक्रमितमध्ये हालसम्म २५ करोड ९० लाख ६० हजार निको भइसकेका छन् भने ज्यान गुमाउनेको संख्या ५५ लाख ३ हजार ७७५ पुगेको छ ।
गत हप्ता ३४ मुलुकमा दैनिक संक्रमितको संख्या महामारी सुरु भएयताकै उच्च बिन्दुमा पुगेको छ ।

यसमध्ये १८ वटा युरोप, ७ वटा अफ्रिका, ६ वटा ल्याटिन एवं क्यारेबियन क्षेत्रका मुलुक रहेको एएफपीले जनाएको छ । अमेरिका, क्यानडा र अष्ट्रेलियामा समेत दैनिक संक्रमितको संख्या उच्च बिन्दुमा पुगेको छ ।

कोभिड-१९ को नयाँ ओमिक्रोन पहिचान भएयता संसारभर पुन: संक्रमित बढ्न थालेका हुन् । तर युरोप र अमेरिकामा प्रमुख भेरियन्टको रुपमा देखा परिरहेको यो भेरियन्टबाट मृत्यु र अस्पताल भर्ना हुनेको संख्या भने यसअघिका भेरियन्टको तुलनामा कम देखिन्छ । (एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?