+
+

भूमिस्थ सेवाको वास्तविकता र नेपाली वायुसेवा कम्पनीको यथार्थता

एपी अर्याल एपी अर्याल
२०७८ पुष २७ गते ९:२०

भूमिस्थ सेवा अर्थात् ग्राउन्ड हृयान्डलिङ सर्भिस भित्र विमानस्थलमा वायुयान अवतरण गर्नेदेखि उडान भर्ने बेलासम्मको बीचमा प्रदान गरिने सम्पूर्ण सेवा एवं सुविधा पर्दछन् । यस अन्तर्गत प्यासेन्जर हृयान्डलिङ, र्‍याम्प हृयान्डलिङ, ब्यागेज हृयान्डलिङ, फ्रेट हृयान्डलिङ लगायत क्याटरिङ्ग एवं फ्युलिङ सेवा आदि पर्दछन् ।

सतही तवरबाट हेर्दा भूमिस्थ सेवा सञ्चालन गर्ने कार्य सामान्य जस्तो लागे तापनि यो अत्यन्तै चुनौतीपूर्ण कार्य हो । यसको लागि आफूले प्रदान गर्ने सेवाको लागि चाहिने सम्पूर्ण उपकरण खरीद गर्नु, दक्ष एवं प्राविधिक जनशक्ति भर्ति गर्नु, तेस्रो पक्ष बीमा गर्नुको साथै ग्राउन्ड हृयान्डलिङ म्यानुअल बनाई नागरिक उड्डयन प्राधिकरणमा सक्षमताको प्रमाण पेश गरेर त्यहाँबाट स्वीकृत भइसकेपछि मात्र यो सेवा सञ्चालन गर्न पाइन्छ । यो कामका लागि करोडौं रकम खर्च हुन जान्छ र यो जोखिम उठाउनको लागि भूमिस्थ्ा सेवा प्रदायक तयार हुनुपर्दछ । तसर्थ, भूमिस्थ सेवा सञ्चालन गर्ने कार्य चुनौतीपूर्ण हो ।

नेपालमा दर्ता भएका विमानहरूले उडान भरेमा वार्षिक एकतर्फी ८० लाख सिट नेपाली वायुसेवा कम्पनीहरूलाई उपलब्ध छ तर हामीले ८० लाखको ९ प्रतिशत अर्थात् ७ लाख २० हजार सिटको पनि सदुपयोग गर्न सकेका छैनौं । यो अत्यन्त दु:खदायी कुरा हो

भूमिस्थ सेवाले समग्र देशको उड्डयन क्षेत्रलाई प्रतिनिधित्व गर्दछ । साथै, यसले अनटाइम पर्फमेन्स -ओटीपी) लाई प्रभावकारी बनाउनुको साथै उड्डयन क्षेत्रको यथार्थ अवस्थालाई चित्रित गर्दछ । तसर्थ, विभिन्न देशले आफ्नो देशको उड्डयन क्षेत्रलाई प्रभावकारी बनाउनको लागि भूमिस्थ सेवा प्रदायक कम्पनीहरू बीच प्रतिस्पर्धा गराएर सेवा प्रदान गर्ने कम्पनी छनोट गरेका हुन्छन् । यसले गर्दा उनीहरूको सेवा प्रभावकारी भएको पाइन्छ । नेपालमा हालका दिनसम्ममा पनि यो अभ्यास लागू भएको छैन । तर पनि सेल्फ ग्राउन्ड हृयान्डलिङको कार्य चाहिं विगतदेखि नै हुँदै आएको छ । यसअन्तर्गत विदेशी वायुसेवा कम्पनीहरू एअर इन्डिया र थाई एअरवेज एवं नेपालकै दुई आन्तरिक वायुसेवा कम्पनीहरू बुद्ध एअर र श्री एअरलाइन्सले भूमिस्थ सेवाको माध्यमबाट विभिन्न सेवा प्रदान गर्दै आइरहेका छन् । पछिल्लो समय हिमालय एअरलाइन्सले भूमिस्थ सेवाको तयारी शुरु गरेको छ । सरकारी निकायबाट एक हप्तामा २५ वटा भन्दा बढी उडान भर्ने नेपाली वायु सेवा कम्पनीहरूलाई भूमिस्थ सेवा प्रदान गर्न सकिने व्यवस्था गरेको छ ।

नेपालमा स्थापित नाइन-एन दर्ता भएका वायुसेवा कम्पनीहरूले नेपाली वायुसेवा कम्पनीसँग नभएर विदेशी वायुसेवा कम्पनीहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्थाको विस्तारै अन्त्य हुने क्रम शुरु भएको छ । नेपाल एअरलाइन्स ग्राउन्ड हृयान्डलिङ्ग एजेन्ट भएर गर्दै आएको यो कार्य हिमालय एअरलाइन्स आफैंले गर्न लागेको हो । शुरुमा वायुसेवा निगमका कर्मचारी एवं संगठनहरूले यसको व्यापक विरोध गरेका थिए । तर, अहिले यो विवाद मत्थर छ ।

केहीबेर नागरिक उड्डयनसँग सम्बन्धित तथ्याङ्कहरू केलाऔं । नेपालको हालसम्म ४० वटा देशहरूसँग हवाई सम्झौता रहिआएको छ भने विभिन्न १४ वटा देशहरूले नियमित रूपमा हवाई सम्बन्ध स्थापित गरेका छन् । यही आधारमा नेपालमा दर्ता भएका विमानहरूले उडान भरेमा वार्षिक एकतर्फी ८० लाख सिट नेपाली वायुसेवा कम्पनीहरूलाई उपलब्ध छ तर हामीले ८० लाखको ९ प्रतिशत अर्थात् ७ लाख २० हजार सिटको पनि सदुपयोग गर्न सकेका छैनौं । यो अत्यन्त दु:खदायी कुरा हो । पाएको

सिटमध्ये आधा सिटको मात्र प्रयोग गर्न सक्ने हो भने नेपाली वायुसेवा कम्पनीहरूको अवस्था अत्यन्तै राम्रो हुनेथियो ।

नेपालमा हाल नियमित अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल वायुसेवा निगमसँग दुई वटा वाइडबडी र दुई वटा न्यारोबडी जहाजहरू छन् । त्यस्तै हिमालय एअरलाइन्सका चार वटा न्यारोबडी जहाजहरू छन् । दुवैको सिट क्षमता जोड्दा १ हजार ५३२ हुन जान्छ । यी आठवटा जहाजहरूले मध्यपूर्व एशियामा दिनको थोरैमा १२ वटासम्म उडान भर्न सक्छन् । यस अनुसार यिनीहरूले दिनको १८ हजार ३८४ जना यात्रुहरूलाई सम्बन्धित गन्तव्यमा पुर्‍याउन सक्छन् । एक महीनामा ५ लाख ५० हजार भन्दा बढी यात्रुहरूलाई सेवा दिन सक्छन् । त्यस्तै हाम्रा जहाजहरूलाई राम्रोसँग सदुपयोग गर्न सकियो भने एक वर्षमा ६६ लाख भन्दा बढी यात्रुहरूलाई सेवा प्रदान गर्न सक्ने सामथ्र्य नेपाली वायुसेवा कम्पनीहरूसँग छ तर हामीले प्राप्त सिटको ९ प्रतिशत पनि सदुपयोग गर्न सकिरहेका छैनौं । यो अत्यन्तै लज्जास्पद अवस्था हो ।

प्राप्त अवसरलाई सदुपयोग गर्न नसकिरहेको यस अवस्थामा यी दुई कम्पनीहरूलाई प्रतिस्पर्धी नजरले हेरेर बीचमा खेल्न खोज्नु विनाशको संकेत बाहेक केही हुन सक्दैन ।
सन् १९५८ मा स्थापना भएको नेपाल वायसेवा निगमले विभिन्न आरोह-अवरोह पार गर्दै हालका दिनसम्म आइपग्दा ५०औं अरब रुपैयाँ घाटामा भए तापनि आर्थिक वर्ष २०१८/१९ को आँकडा हेर्दा भूमिस्थ सेवा मार्फत ४ अरब २४ करोड रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै २०१९/२० को लक्ष्य ५ अरब ६ करोड पुर्‍याउने थियो तर विश्वव्यापी कोरोनाभाइरसको महामारीले गर्दा आम्दानीमा गिरावट भई २ अरब ७८ करोडमा खुम्चिन पुग्यो । तर पनि लकडाउन र अन्तर्राष्ट्रिय उडान खुलेसँगै आफ्नो लक्ष्य प्राप्तितर्फ निगम अगाडि बढिरहेको छ ।

गएको एक/दुई वर्षयता दुई/तीन वटा भन्दा बढी वायुसेवा कम्पनीहरूले नेपाल वायुसेवा निगमसँग भूमिस्थ सेवाको सहमति गरिसकेका छन् । यसअनुसार निगमको आगामी दिनमा हुने आम्दानी पनि वृद्धि हुने देखिन्छ । उडान सञ्चालनमा प्रत्येक वर्ष घाटा हुँदा एवं कोभिड-१९ को महामारीमा व्यवसाय सञ्चालनमा चरम आर्थिक संकट पर्दा राष्ट्रिय ध्वजावाहकलाई सरकारले हेलाको पात्र बनाउँदा पनि भूमिस्थ सेवा मार्फत प्राप्त आम्दानीले निगमले आजका दिनसम्म आफ्नो इज्जत जोगाइरहेको तथ्य सबै नेपालीले बुझ्नुपर्ने विषय हो ।

व्यवसाय गर्नुको मुख्य उद्देश्य मुनाफा आर्जन गर्नु हो । तर, पनि सन् २०१४ मा नेपाल र चीनको संयुक्त लगानीमा स्थापना भएको हिमालय एअरलाइन्सले यो अवधिसम्म आइपुग्दा १०औं अरब नोक्सान बेहोर्दा समेत अन्तर्राष्ट्रिय हवाई कानूनको पूर्णरूपमा पालना गर्दै आएको छ । हवाई सुरक्षाको अडिटमा समेत खरो रूपमा उत्रँदै दीर्घकालीन मुनाफाको लक्ष्य सहित वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको सारथि बन्ने प्रयास गरेको छ । भूमिस्थ सेवा सञ्चालन पनि यही उद्देश्यसँग जोडिएको छ ।

व्यवसाय सञ्चालन गर्दा कुनै एक निश्चित क्षेत्रमा सामना गरिरहेको असहज अवस्थालाई प्रतिस्पर्धा भन्ने गरिन्छ । प्रतिस्पर्धा अवसर र चुनौतीको जननी हो । तथापि निरन्तर घाटामा गइरहेको वायुसेवा निगमको लागि प्रतिस्पर्धा आफैंमा एक ठूलो चुनौती हो । तर हिमालयले भूमिस्थ सेवा आफ्नो लागि मात्र गर्न पाउने र नेपाल वायुसेवा निगमले हिमालय बाहेकका करीब २४ वटा भन्दा बढी वायुसेवा कम्पनीहरूको भूमिस्थ सेवा सञ्चालन गर्न पाउने भएको हुनाले यसलाई प्रतिस्पर्धाको अवस्था मान्न सकिंदैन ।

अहिले विश्वमा प्रत्येक दिन एक लाख भन्दा बढी हवाई उडान र अवतरण हने गर्दछन् । यसमा ६० लाख भन्दा बढी व्यक्तिहरूले यात्रा गर्ने गरेको विभिन्न ट्राभल सम्बन्धी आँकडाहरूले देखाउँदछन् । यो आँकडा विश्वको जनसंख्याको करीब ०.१ प्रतिशत हुन जान्छ । पर्यटन विभागको तथ्याङ्क हेर्दा कोभिड-१९ भन्दा अगाडि २०१८ मा ९ लाख ६९ हजार २८७ एवं २०१९ मा ९ लाख ९५ हजार ८८४ जना पर्यटकहरू हवाई यातायात मार्फत नेपाल भित्रिएका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले प्रकाशन गरेको आँकडा हेर्दा गएको डिसेम्बर २०२१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै १ लाख ९४ हजार ९०१ जनाले विभिन्न तवरबाट अन्तर्राष्ट्रिय हवाई उडान गरेका थिए । यी उडानमा यात्रु संख्याको आधारमा नेपाली वायुसेवा कम्पनीहरू नेपाल एअरलाइन्सले १५.९० र हिमालय एअरलाइन्सले १८.४१ अर्थात् जम्मा ३४.३१ प्रतिशत हिस्सा ओगटेको देखिन्छ । यो नेपालबाट विदेशिएका यात्रुको करीब एक तिहाइ मात्र हुन जान्छ । बाँकी ६५.६९ प्रतिशत हिस्सा विदेशी वायुसेवा कम्पनीको हातमा नै रहेको देखिन्छ ।

त्यस्तै, डिसेम्बर महीनाको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ हजार ७८२ हवाई उडान तथा अवतरण भएको देखिन्छ । यसमा नेपाल वायुसेवा निगमले २४९ एवम् हिमालय एअरलाइन्सले ४०३ गरी जम्मा ६५२ उडान तथा अवतरण गरेका थिए भने बाँकी ११३० उडान तथा अवतरण विदेशी वायुसेवा कम्पनीहरूले गरेका थिए । विदेशी वायुसेवा कम्पनीको बजार हिस्सा ६३.४१ प्रतिशत देखिन्छ भने नेपाली वायुसेवा कम्पनीहरूको बजार हिस्सा जम्मा ३६.५९ प्रतिशत मात्र देखिन्छ । तसर्थ, आजका दिन सम्म पनि नेपालको अन्तर्राष्ट्रिय हवाई बजारको व्यापार विदेशी वायुसेवा कम्पनीहरूकै पकडमा रहेको पाउन सकिन्छ ।

आज विश्वव्यापी रूपमा हवाई उड्डयनको बजार दिन प्रतिदिन प्रतिस्पर्धात्मक बन्दै गइरहेको छ । गएको ५/६ महीनायता अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी श्रीलंकन एअरलाइन्सले नेपालबाट सञ्चालन अनुमति पाएर नियमित उडान गरिरहेको छ । त्यस्तै पाइपलाइनमा अरू धेरै वायुसेवा कम्पनीहरू रहेको सुन्नमा पाइन्छ । विदेशी वायुसेवा कम्पनीहरू नेपाल आएर व्यापार विस्तार गरेर मुनाफा आर्जन गरेर लैजाँदा नेपाली वायुसेवा कम्पनीहरू एक आपसमा प्रतिस्पर्धा गर्नु र व्यापारिक लडाइँ लड्नु ‘भाइ फुटे, गवार लुटे’ सिवाय अरू केही हुन सक्दैन । तसर्थ, नेपाल वायुसेवा निगम र हिमालयले आजको यो प्रतिस्पर्धात्मक बजारमा लाभ लिनको लागि एवं अन्तर्राष्ट्रिय उडान भर्ने वायुसेवा कम्पनीहरूबीच बजारको नेता हुनको लागि रणनीतिक मित्रता कायम गरी प्राप्त अवसरलाई साझेदारीपूर्वक सदुपयोग गर्दै अगाडि बढ्नु नै हितकारक हुन जान्छ ।

अन्त्यमा, हवाई सेवाको लागि यात्रुहरू मागको सृष्टिकर्ता हुन् । उनीहरूको मागबाट नै विमानस्थलमा विभिन्न अवसर सृजना हुने गर्दछ । विमानस्थलको स्वरूप नै अन्तर्राष्ट्रिय स्तरको हुने हुनाले विश्वव्यापी रूपमा यात्रा गरिरहेका यात्रुहरूले विमानस्थलको अवस्था, प्रकृति एवं यहाँको कार्यसम्पादनमा प्रत्यक्ष आँखा लगाइरहेका हुन्छन् ।

तसर्थ, भूमिस्थ सेवा प्रदायक, विमानस्थलका अधिकारी एवं सम्पूर्ण सरोकारवाला व्यक्ति एवं संस्थाहरूले परिवर्तित अवस्थालाई समयानुकूल बनाउँदै अग्रगामी कार्य गर्नु नै नेपालका विमानस्थल एवं नेपाली वायुसेवा कम्पनीहरूको सफलताको कारक तत्व बन्न जानेछ ।

(लेखक हिमालय एअरलाइन्सको कमर्सियल आइटी एन्ड ग्राउन्ड अपरेशन विभागमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?