+
+

एमाले डोटीको अध्यक्षमा मल्ल दोहोरिए

रामहरि ओझा रामहरि ओझा
२०७८ पुष २७ गते १०:३४

२७ पुस, डोटी । नेकपा एमाले डोटीको आठौं अधिवेशनबाट चक्र मल्ल अध्यक्षमा दोहोरिएका छन् ।

विद्यार्थी राजनीति हुँदै मूलधारको राजनीतिमा आएका मल्ल यसअघि २०६९ सालमा भएको एमालेको सातौं जिल्ला अधिवेशनमबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

सोमबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट मल्ल सर्वसम्मत अध्यक्ष चयन भएका छन् । एमाले निकट अनेरास्ववियुको विद्यालय प्रारम्भिक कमिटीबाट संगठनात्मक जीवन सुरु गरेका मल्ल २०५७ सालमा डोटी क्याम्पस स्वबियु सभापति निर्वाचित भएका थिए । अनेरास्वबियुको केन्द्रीय सदस्य भएका मल्ल २०६३ सालमा एमाले जिल्ला कमिटीमा आएका हुन् । २०६६ सालको छैटौं अधिवेशनबाट मल्ल उपाध्यक्षमा निर्वाचित भएका थिए । २०७४ सालको प्रदेश सभा निर्वाचनमा मल्ल डोटी क्षेत्र ‘क’ बाट तत्कालीन गठवन्धनका उम्मेदवार थिए ।

दुई दिनमा सम्पन्न हुने गरी गत शुक्रबार उद्घाटन भएको जिल्ला अधिवेशन सहमतीय नेतृत्वका लागि भन्दै चार दिन लम्विएको थियो । ‘सहमतिमै नेतृत्व चयन गरौं, निर्वाचन भए पार्टीभित्र फेरी मुनमुटाव हुन सक्छ भन्ने भयो,’ एमाले डोटीका एक नेताले भने, ‘सहमतिका लागि छलफल गर्दागर्दै अलि समय लाग्यो ।’ उनले थपे, ‘गुट मिलाउनु पर्ने, गुटभित्रका पनि उपगुट मिलाउनु पर्ने, एउटालाई मिलायो अर्को ठुस्किने, अर्कोलाई मिलायो अर्को ठुस्किने गर्दागर्दै चार दिन बितेछ ।’

अधिवेशनले उपाध्यक्षमा मन्जु मलासीलाई चयन गरेको छ । दिपायल सिलगढी नगरपालिकाका प्रमुख समेत रहेकी मलासी महिला आन्दोलनबाट स्थापित नेतृ हुन् । यसअघि सातौं अधिवेशनबाट मलासी एमालेको जिल्ला उपसचिवमा निर्वाचित भएकी थिइन् ।

सचिवमा शेरबहादुर मल्ल चयन भएका छन् । विद्यार्थी राजनीति हुँदै युवा संघको जिल्ला अध्यक्षको जिम्मेवारीमा पुगेका मल्ल लामो समयदेखि सामाजिक कार्यकर्ताको रुपमा पनि सक्रिय छन् । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा शिखर नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार पनि थिए ।

यस्तै उपसचिवमा तेजबहादुर डुम्रेल र कृष्णबहादुर खड्का छानिएका छन् । विद्यार्थी संगठनबाटै राजनीति सुरु गरेका डुम्रेल सायल गाउँपालिकाका अध्यक्ष समेत हुन् । उनी एमालेको सातौं अधिवेशनदेखि एमालेको जिल्ला कमिटीमा छन् ।

लामो समय शैक्षिक क्षेत्रमा खर्चिएका अर्का उपसचिव खड्का पनि विद्यार्थी जीवनबाटै राजनीतिमा सक्रिय छन् । उनी पनि सातौं अधिवेशनबाट जिल्ला कमिटीमा छन् । अधिवेशनले ९९ सदस्यीय कमिटी चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?