
२७ पुस, ललितपुर । ललितपुर महानगरपालिकाले एक सातामा ४४ हजार विद्यार्थीहरुलाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने लक्ष्य लिएको छ ।
मंगलबारबाट बिहान १०ः३० बजेदेखि ४ बजेसम्म खोप कार्यक्रम सुरु हुने छ । यो कार्यक्रम माघ २ गतेसम्म चल्ने छ । खोप कार्यक्रम शनिबार भने सन्चालन हुने छैन ।
ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार आजबाट माघ २ गतेसम्म सन्चालन हुने खोप कार्यक्रमले महानगरभित्रका निजी र सामुदायिक विद्यालयमा अध्ययन गर्ने १२ देखि १७ वर्ष उमेर समूहका करीब ४४ हजार विद्यार्थीलाई समेट्ने बताए ।
महानगरले दुई सयभन्दा बढी विद्यार्थी भएका विद्यालयलाई खोप केन्द्र तोकेको छ । दुई सयभन्दा कम विद्यार्थी संख्या भएका विद्यालयका विद्यार्थीले नजिकको विद्यालयमा पुगेर खोप लगाउनुपर्ने छ । प्राविधिक जनशक्ति व्यवस्थापन र सहजताका लागि यस्तो गरिएको अर्यालले बताए । खोप लगाउन जाँदा विद्यार्थीहरुले विद्यालयको परिचय पत्र वा उमेर खुल्ने अन्य परिचय पत्र लिएर जानुपर्नेछ ।
महानगरका अनुसार पुस २७ गते महानगरका वडा नं १ देखि ४ सम्मका विद्यालयहरुमा खोप लगाइने छ । यसैगरी २८ गते वडा नं. ५ देखि ८ सम्मका विद्यालयहरुमा खोप कार्यक्रम सन्चालन गरिनेछ ।
पुस २९ गते वडा नं ९ देखि १४ र १५ वडाका केही विद्यालयमा यो कार्यक्रम सन्चालन हुनेछ । ३० गते वडा नं. १५ का बाँकी विद्यालय र वडा नं. १६ देखि २१ सम्मका विद्यालयमा तथा आइतबार माघ २ गते वडा नं २२ देखि २९ सम्मका विद्यालयमा कोरोना विरुद्धको फाइजर खोप लगाउने व्यवस्था मिलाएको महानगरले जानकारी दिएको छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सबै अभिभावकहरुलाई आफ्ना छोराछोरीलाई खोप कार्यक्रममा सहभागी गराउन र विद्यालय परिवारलाई खोप कार्यक्रममा सहयोग गर्न अपिल गरेका छन् ।
प्रतिक्रिया 4