+
+

दोस्रो फिल्म दर्शकमाझ ल्याउन अदिती र सुहानालाई सकस

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २७ गते १२:१३

२७ पुस, काठमाडौं । अभिनेत्री अदिती बुढाथोकी दोस्रो चलचित्र ‘बाबरी’का लागि जति उत्साहित थिइन्, त्यसअघि त्यति नै सकस भएको थियो उनलाई ।

पहिलो चरणको लकडाउन अगाडि नै छायांकनमा जाने तयारी निर्माणपक्षको थियो । यसका लागि अदिती नेपाल आइन् । तर, चलचित्रको छायांकन शुरु हुनुअघि नै कोरोना महामारीका कारण लकडाउन भएपछि अदिती घरमै थन्किइन् ।

करिब ८ महिना घरमै बसेपछि अदिती मुम्बई उडिन् । मुम्बई पुगेर केही समय बसेपछि उनी फेरि चलचित्रको छायांकनका लागि भन्दै नेपाल आइन् । नेपाल आएर चलचित्रको छायांकन शुरु गरेको दुई साता पनि नबित्दै कोरोनाको दोस्रो लहर शुरु भयो । चलचित्रको छायांकन फेरि रोकियो । अदिती फेरि मुम्बई हानिइन् ।

दोस्रो लहर कम हुँदै गएपछि अदिती फेरि नेपाल आइन् र डान्सको वर्कसप गरिन् । यसपछि भने यो चलचित्रको काम अगाडि बढ्यो । चलचित्रको छायांकन नेपाल र सिक्किममा गरिएको छ । सिक्किममा चलचित्रको छायांकन सकेर उतैबाट मुम्बई लागेकी अदिती कोरोना संक्रमित भइन् । केही समय आइसोलेसनमा बसेकी उनको केही दिनअघि रिपोर्ट नेगेटिभ आएको छ ।

‘बाबरी’ अदितीको दोस्रो चलचित्र हो । तर, दोस्रो चलचित्रका लागि उनले तीन वर्ष पर्खिइन् । यसपछि चलचित्रको काम सकिनै करिब दुई वर्ष लाग्यो । अब चलचित्र रिलिज कहिले हुन्छ त्यो पनि टुंगो छैन ।

अदितीको जस्तै सकस अभिनेत्री सुहाना थापाले पनि भोगिन् । ‘ए मेरो हजुर ४’ सुहानाको दोस्रो चलचित्र हो । तर, यो चलचित्रको छायांकनका लागि पनि उनले कैयौंपटक नेपाल र अमेरिका गर्नुपर्‍यो ।

चलचित्रको छायांकन शुरु भएसँगै लकडाउन भएपछि सुहाना पनि घरमै थन्किएर बसिन् । यसपछि अमेरिका गएकी उनले गत वर्षको दशैंबाट चलचित्रको दोस्रो चरणको छायांकन शुरु गरिन् । छायांकन सकेर उनी फेरि अमेरिका पुगिन् । निर्माणपक्षले गत वर्षको फागुनमा फेरि केही दृश्यको छायांकन गर्न बाँकी रहेको भन्दै काम शुरु गर्दा सुहाना नेपाल आइन् ।

चलचित्रको रिलिज मिति आगामी चैत २५ गतेलाई तोकिएको छ । छायांकन पूरा गरेर अमेरिका गएकी सुहाना एक महिनाअघि नेपाल आइन् । उनी चलचित्रको डबिङ, प्रचार र रिलिजको लागि नेपाल आएकी थिइन् ।

तर, सुहानाले डबिङको काम त सकिन् । तर, चलचित्र तोकिएकै समयमा रिलिज हुने वा नहुनेमा फेरि अन्योल बढेको छ । यसरी सुहानाले पनि आफू अभिनित दोस्रो चलचित्र दर्शकमाझ ल्याउनका लागि निक्कै सकस व्यहोरिरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?