+
+

भारतसँग जीटूजीमा वार्षिक डेढ लाख मेट्रिक टन ल्याउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २८ गते १५:३४
फाइल फोटो

२८ पुस, काठमाडौं । नेपाल र भारतबीच सरकार-सरकारबीचको समझदारी (जीटुजी) मा रासायनिक मल खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका एक अधिकारीका अनुसार वार्षिक एक लाख ५० हजार मेट्रिक टन मल खरिद गर्ने गरी पाँच वर्षको सम्झौता गर्ने तयारी भएको छ ।  ‘जनवरी महिनाको अन्तिमसम्म दुई देशबीच मल खरिद सम्झौता हुन्छ,’ ती अधिकारीले भने, ‘दुवै देशको उच्च तहमा सम्झौताका लागि अन्तिम गृहकार्य भइरहेको छ ।’

दुई देशको सरकारबीच मल खरिदसम्बन्धी सम्झौता भएपछि नेपालको कृषि सामग्री कम्पनी र भारतको सोही तहको कम्पनीबीच मूल्य र खरिदमा सम्झौता हुने मन्त्रालयले जनाएको छ । कोभिड-१९ महामारीका कारण सम्झौता प्रभावित नभए आगामी चैते धान, मकै र वर्षायमको धानका लागि मल आइपुग्ने मन्त्रालयको दाबी छ ।

अघिल्लो सरकारकै पालामा अघि बढेको सम्झौता विभिन्न कारणले झण्डै डेढ वर्ष पछि धकेलिएको थियो । नेपाल सरकारले स्वीकृत गरेको समझदारी पत्रमा भारतले जीटूजी मार्फत पाँच वर्षसम्म मल दिने प्रस्ताव गरिएको छ ।

नेपालको कुल खपतको ३० प्रतिशत मल भारतबाट ल्याउन जीटूजी अघि बढाइएको मस्यौदामा उल्लेख छ । मल खरिदका लागि भएको प्रारम्भिक समझदारी अनुसार नेपाललले चार वर्षसम्म भारतबाट वर्षेनी एक लाख ५० हजार मेट्रिक टन रासायनिक मल खरिद गर्ने छ ।

समझदारीको पाँचौँ वर्षमा भने साढे दुई लाख मेट्रिक टन मल नेपालले भारतबाट ल्याउने छ । तर, नेपालले माग गरे दुई लाख मेट्रिकटनसम्म मल हरेक वर्ष भारतले नेपाललाई मल उपलब्ध गराउने गरी समझदारी गर्न खोजिएको कृषि मन्त्रालयका एक अधिकारीले बताए ।

भारतबाट हुने खरिदको ४० प्रतिशत डीएपी र ६० प्रतिशत यूरिया मल हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?