+
+

सुदूरपश्चिममा भारतबाट फर्किने अधिकांशमा संक्रमण, अस्पतालमा भर्ना हुने बढे

जनक विष्ट जनक विष्ट
२०७८ पुष ३० गते १४:५२

३० पुस, धनगढी । सुदूरपश्चिम प्रदेशको रेफरल सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित भएर उपचारका लागि भर्ना हुनेहरुको संख्यामा वृद्धि हुन थालेको छ ।

भारतबाट फर्किने अधिकांश मानिसमा संक्रमण देखिन थालेपछि प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्थायी अस्पतालमा भर्ना हुने संक्रमितको संख्या बढेको हो ।

कोभिड अस्थायी अस्पतालमा दुई दिन पहिलेभन्दा संक्रमितको संख्या दोब्बरले वृद्धि भएको छ । २८ पुसमा आठ जना संक्रमित भर्ना भएकोमा शुक्रबार उक्त संख्या दोब्बरले वृद्धि भएर १६ पुगेको सेती प्रादेशिक अस्पतालले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्र छ जना संक्रमित भर्ना भएका छन् ।

अस्पताल भर्ना भएका १६ जनामध्ये पाँच जनाको अवस्था जटिल छ । चार जनालाई आईसीयू र एक जनालाई भेन्टिलेटरमा राखिएको छ । खास गरी प्रदेशमा संक्रमण दर वृद्धि भएपछि अस्पताल भर्ना हुने क्रमपनि बढेको देखिन्छ ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा एक सय २१ जनाको पीसीआर परीक्षण गर्दा आधाभन्दा बढी ६६ जनामा संक्रमण देखिएको जानकारी दिए ।

उनकाअनुसार भारतमा ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिएसँगै पछिल्लो १० दिनयता यहाँ पनि संक्रमणदर बढेको छ । २० पुसमा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३५ जनाको परीक्षण गर्दा दुई जनामा संक्रमण पुुष्टि भएकोमा २५ पुसमा भने ८७ जनाको परीक्षणमा १२ जनामा संक्रमण देखिएको थियो । बुधबार मात्र एक सय पाँचजनाको परीक्षण गर्दा ४५ जनामा सक्रमण पुष्टि भएको थियो ।

भौतिक पूर्वाधार, उपकरण, जनशक्ति, अक्सिजन लगायतका कारणले दोस्रो चरणको कोरोना संक्रमणका बेला उपचारमा चुनौती व्यहोरेको प्रादेशिक अस्पतालले तेस्रो चरणको संक्रमणलाई कसरी व्यवस्थापन गर्छ ? भन्ने चासोको विषय बनेको छ ।

सुदूरपश्चिम प्रदेशकै उपचारको केन्द्र मानिएको प्रादेशिक अस्पतालले दोस्रो चरणका बेला पहिलो चरणको तुलनामा पूर्वाधार, उपकरण थपिएकाले तेस्रो लहरमा खासै समस्या नहुने प्रक्षेपण अस्पतालले गरेको छ ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठ दोस्रो चरणमा सबैभन्दा ठूलो समस्या अक्सिजनको भोग्नु परेकोमा सोही अनुपातमा संक्रमित भर्ना भए खासै समस्या नहुने बताउँछन् ।

‘कोरोनाको दोस्रो लहरमा हामी कहाँ अक्सिजनको अभाव थियो । तर अहिले त्यो अवस्था छैन,’ सूचना अधिकारी श्रेष्ठले अनलाइनखबरसँग भने, ‘हामीसँग अहिले २० हजार लिटर क्षमताको लिक्वीड अक्सिजन ट्यांक छ । प्लान्टबाट पनि दैनिक ४५ वटा सिलिन्डर भर्न सक्ने क्षमता छ ।’

प्रादेशिक अस्पताल मातहतको कोभिड अस्थायी अस्पतालमा यसअघि ५० जना संक्रमितको उपचार गर्न सक्ने क्षमता थियो भने अहिले स्वास्थ्य कार्यालयले थप ५० शय्याको भवन निर्माण गरेको छ । उक्त भवन पनि प्रादेशिक अस्पताललाई हस्तान्तरण गरिनेछ ।

योसँगै अस्पतालले कोभिडका लागि १०० शय्या पाएको छ । श्रेष्ठले १०० शय्या मध्ये ४० शय्या बालबालिकाका लागि छुट्याइएको बताए । उनकाअनुसार अहिले आईसीयू र भेन्टिलेटरको संख्यामा समेत वृद्धि गरिएको छ । कोरोना संक्रमितका लागि १० वटा आईसीयू जडान गरिएका छन् भने थप १८ वटा जडान भइरहेको बताउँदै श्रेष्ठले २१ मध्ये कोरोना संक्रमितकालागि ८ वटा भेन्टिलेटर चालु अवस्थामा रहेको बताए ।

कोरोनाको दोस्रो चरणमा सेती प्रादेशिक अस्पतालले बढीमा दैनिक १३५ जनासम्म भर्ना भएर उपचार गरेको थियो । तर अहिलेको भेरियन्ट डेल्टा भन्दाकम घातक रहेको अध्ययनले देखाएकाले सोही अनुपातमा गम्भीर संक्रमित अस्पताल नपुग्ने विश्वास अस्पतालको छ ।

‘भयावहस्थितीनभएमाहामीले अहिलेकै जनशक्ति, पूर्वाधार र उपकरणले थेग्न सक्छौँ भन्ने प्रक्षेपण गरेका छौं,’ श्रेष्ठले भने, ‘तर स्थिति फरक भयो भने चुनौतीपूर्ण हुनसक्छ ।’

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?