+
+

नारायणहिटीको श्रीसदनका दुई कोठाको दस्तावेज सूचीकृत गरिँदै

रासस रासस
२०७८ माघ २ गते १३:१८

२ माघ, काठमाडौं । राष्ट्रिय अभिलेखालयले नारायणहिटी दरबार सङ्ग्रहालयको श्रीसदनका दुई कोठामा रहेका पूर्वराजा वीरेन्द्र शाहको दस्तावेज सूचीकरण सुरु गरेको छ । अभिलेखालयबाट सेवा निवृत्त दुई कर्मचारी र तीन जना बाहिरबाट करारमा नियुक्त गरी दस्तावेज सूचीकरण थालिएको हो ।

दस्तावेज सूचीकरणमा सङ्ग्रहालयका एक कर्मचारीको पनि सहभागिता छ । गत आर्थिक वर्षदेखि सूचीकरण सुरु गरिएको हो । अहिलेसम्म जन्मोत्सव, गद्दी आरोहण, पदक तथा विभूषणका एक हजार २७५ दस्तावेज भेटिएको अभिलेख अधिकृत रज्जु हाडाले जानकारी दिइन् । श्रीसदन लामो समय पूर्वराजा वीरेन्द्रको निजी निवासका रुपमा रहेको थियो ।

उपचार, बिन्ती पत्र, भ्रमण, उत्सव, प्रतिवेदन र राजदूतावाससम्बन्धी दुई हजार २६८ दस्तावेज सूचीकरण गरिएको छ । राजनीतिक गतिविधि, स्वर्गारोहण, गुठी जग्गासम्बन्धी भर्पाइ तथा रसिदलगायत दस्तावेज एक हजार ३०३ फेला परेको छ । कर्मचारीको दरबन्दी, राजीनामा, नियुक्ति, व्यक्तिगत विवरण र बैंक स्टेटमेन्टका एक हजार ८८७ दस्तावेज सूचीकृत गरिएको छ ।

दुई कोठाका दस्तावेज अभिलेखीकरण गर्ने क्रममा नेपाली भाषाका ६५६ र अङ्ग्रेजी भाषाका ८६५ पुस्तक फेला परेका छन् । पुस्तक र दस्तावेजलाई चार भागमा विभाजन गरी सूचीकरण गर्ने काम जारी छ । अभिलेखीकरण सकिएपछि नारायणहिटीमै सुरक्षित राखिने वा अभिलेखालयमा ल्याएर संरक्षण गरिने भन्ने विषयमा छलफल भइरहेको अभिलेख अधिकृत हाडाले बताइन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?