+
+

हनुमानघाटमा माधवनारायणका व्रतालु (फोटो फिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७८ माघ ३ गते ९:०४

३ माघ, काठमाडौं । आजबाट श्रीस्वस्थानी व्रत तथा माधव नारायण मेला सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म (एक महिनासम्म) लाग्ने मेलामा साँखुको शाली नदी र भक्तपुरको हनुमानघाटमा विशेष चहलपहल हुन्छ ।

हनुमान घाटमा आज बिहानै स्नान गर्ने तथा माधव नारायणको पूजा गर्नेहरुको चहलपहल छ ।

माधव नारायण भगवान विष्णुको अर्को नाम हो । विष्णुलाई १२ महिनामा १२ वटा नामले पुकारिन्छ र पूजा गरिन्छ । माघ महिनामा माधव नाम हुने भएकाले स्वस्थानीसँगै माधव नारायणको व्रत, पूजा र उपासना गरिन्छ । यसमा खासगरी पुरुषहरु पनि व्रत बस्ने र पूजा गर्ने गर्दछन् ।

भक्तपुरको हनुमानघाट र साँखुको शालीनदीस्थित माधव नारायणको मन्दिरमा कठोर पूजामा विशेषतः केटा मानिसहरु व्रत बस्ने र पल्टिमार्दै धार्मिक यात्रा पूरा गर्नुपर्ने क्रियाकलाप हुने गर्दछ ।

स्वस्थानी र माधवनारायणका व्रतालुहरु परदेश यात्राअन्तर्गत काठमाडौंको साँखुस्थित शालीनदीबाट भक्तपुरको चाँगुनारायण मन्दिरसम्म आउँछन् । व्रतालुले माघ कृष्ण त्रयोदशीदेखि परदेश यात्रा शुरु गर्छन् । माघ शुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायण स्थानको यात्रा गरिन्छ । भोलिपल्ट चाँगुनारायणबाट साँखु र्फकने परदेश यात्राको नियम छ ।

काठमाडौं उपत्यकाको उत्तरपूर्वी भेगस्थित साँखुको शालिनदीमा पनि माघस्नान सहित माधवनारायणको मेला लागेको छ । माघ महीनामा शाली नदीमा आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ भक्तजनहरु पुग्ने गर्दछन् ।

यस वर्ष कोरोनाको महामारीका कारण शाली नदीमा माधवनारायण मेला नगरी व्रत मात्र गर्ने गरी तयारी गरिएको छ । व्रतालुका लागि साँखुस्थित शालिनदीमा सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ । समितिका अध्यक्ष मिजेन्दकाजी श्रेष्ठ यस वर्ष माघ ३ गतेदेखि फागुन ४ गतेसम्म मेला लाग्ने बताउँछन् ।

विगत वर्षमा करीब ४०० जनाले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष करीब १५० जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षित साथ राखिने भएको छ ।

कोरोना महामारीकै कारण गत वर्ष भने ४९ जना मात्र व्रत बसेका थिए । विसं २०७६ मा जस्तो मेला भने यसपटक पनि नलाग्ने समितिले जनाएको छ ।

व्रतालु आज बेलुकीदेखि नै साँखुमा बास बस्न आउँछन् । बेलुकी माधवनारायणका पुजारीबाट जल ग्रहण गरेपछि व्रतविधि शुरु हुन्छ । कोरोनाका कारण यस वर्ष वर्तालुलाई एउटै घरमा राख्ने व्यवस्था गरिएको पनि समितिले जनाएको छ ।

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?