+
+

समयमै खोप आपूर्ति नहुँदा सुदूरपश्चिममा ‘बुस्टर डोज’ खोप लगाउने कार्यक्रम प्रभावित 

जनक विष्ट जनक विष्ट
२०७८ माघ ३ गते १३:३५

३ माघ, धनगढी । सरकारले फ्रन्टलाइनरलाई आइतबारदेखि कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप लगाउने भनेपनि सुदूरपश्चिममा भने अझै शुरु हुन सकेको छैन । कैलालीसहित प्रदेशका सबै जिल्लामा नियमित खोप कार्यक्रम सञ्चालन भइरहेपनि ‘बुस्टर डोज’ भने लगाउन ढिलाइ भएको छ । सरकारले घोषणाअनुसार प्रदेशमा आवश्यक पर्ने खोप नपठाउँदा फ्रन्टलाइनरलाई ‘बुस्टर डोज’ लगाउन नसकिएको बताइएको छ ।

प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर बोहराले ‘बुस्टर डोज’ का लागि आवश्यक पर्ने भ्याक्सिन आपूर्ति नभएकाले अहिले नियमित खोप कार्यक्रम मात्र सञ्चालन भइरहेको जानकारी दिए ।

‘हामीले कोरोना भाइरसविरुद्धको नियमित खोप कार्यक्रमलाई जारी राखेका छौँ,’ बोहराले अनलाइनखबरसँग भने, ‘फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी ‘बुस्टर डोज’ का लागि आइरहनुुभएको छ तर हामीसँग भ्याक्सिन नभएकोले लगान सकिएको छैन । आउने बित्तिकै शुरु गछौँ ।’

धनगढी उपमहानगरपालिका कार्यालय मात्र नभएर ‘बुस्टर डोज’ लगाउन फ्रन्टलाइनमा काम गर्नेहरु स्वास्थ्य कार्यालय, स्वास्थय आपूर्ति केन्द्र लगायतका नियकामा धाउन थालेका छन् । तर संघीय सरकारले पठाएको खोप धनगढी आइनपुगेका कारण ‘बुस्टर डोज’ खोप लगाउने कार्यक्रम सञ्चालन हुन सकेको छैन ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र धनगढीकाअनुसार संघीय सरकारले ‘बुस्टर डोज’ का लागि कोभिशिल्ड र भेरोसेल पठाएको छ तर यहाँ आइपुुगेको छैन । स्वास्थ्य आपूर्ति केन्द्रका खोप सम्पर्क व्यक्ति राजेन्द्रप्रसाद अवस्थीले सरकारले ‘बुस्टर डोज’ का लागि भन्दै एक लाख पाँच हजार डोज कोभिशिल्ड र ५० हजार डोज भेरोसेल सुदूरपश्चिमका लागि पठाएको जानकारी दिए ।

अवस्थीकाअनुसार सरकारले पठाएको खोप धनगढी पुुग्ने बितिकै सबै जिल्लामा फ्रन्टलाइनरलाई बुस्टर डोज लगाउन वितरण गरिनेछ । सुदूरपश्चिममा ४० हजार जनाले कोभिशिल्ड र ३५ हजार सात सय ६५ जनाले भेरोसेलको दुवै मात्र लगाएका छन् । पहिलो चरणमा यी दुवै खोप लगाएका फ्रन्टलाइनर र त्यसपछि सरकारले निर्धारण गरेबमोजिम खोप लगाइने प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?