+
+

दूधको मूल्य बढाउनुको विकल्प छैन : कृषि मन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ३ गते १८:५९

३ माघ, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले दूधको मूल्य बढाउन जरुरी भएको बताएका छन् । दूधको मूल्य वृद्धिबारे सोमबार मन्त्रालयले आयोजना गरेको अन्तरक्रियामा बोल्दै मन्त्री यादवले दुग्ध उत्पादक किसान जोगाउन पनि दूधको मूल्य बढाउनुको विकल्प नभएको बताए ।

मन्त्रालयले कसैको प्रभाव र दबावमा नपरी मूल्य वृद्धिबारे निर्णय गर्न नचाहेको पनि उनको भनाइ छ । ‘राष्ट्रिय दुग्ध विकास बोर्डको स्थलगत अध्ययन पछि मूल्य बढाउनु पर्ने निश्कर्षमा पुगिएको हो, मूल्य नबढाए दुग्ध उत्पादन क्षेत्रमा किसान टिक्न सक्दैनन्,’ मन्त्री यादवले भने ।

दूधको मूल्य बढाउने विषयमा प्रस्ताव आएकै भरमा निर्णय नहुने भन्दै मन्त्री यादवले मूल्यको कारण पुष्टि गर्न सकिने वैज्ञानिक आधार खोजिने पनि बताए ।

कार्यक्रममा बोल्दै पशुपन्छी विकसा सचिव निरु दाहालले दूधको मूल्य बढाउन आफूहरुले जबर जस्ती कुनै निर्देशन नदिएको बताए । नियमअनुसार मूल्य बढाउनै पर्ने अवस्थामा मन्त्रालय रहेको र किसानहबाट पनि मूल्य बढाउनका लागि चर्को दबाब भएको उनको दावी थियो ।

राष्ट्रिय दुग्धविकास नीति २०७८ को आधारमा मूल्य बढाउने अवस्थामा पुगिएको भन्दै मन्त्रालयले बढेको मूल्यले किसानलाई कृषि पेशामा टिकिरहन ठूलो मद्दत पुग्ने उनको भनाइ छ ।

कार्याक्रमकमा बोल्दै उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले किसानको खोल ओडेका व्यापारीले प्रलोभनमा दूधको मूल्य बढाइन लगेको भन्दै तत्काल यो निर्णयबाट हट्न आग्रह गरे । महामारीका कारण उपभोक्ताको कृयशक्ति घटेको बेला अत्यवश्यक शक्तिवर्दक दूधको मूल्य बढाईनु अपराध भएको उनको भनाइ थियो । किसानको नाममा खोल ओढेका व्यापारी दूधको मूल्य बढाउन क्रियाशील छन्, यसलाई मन्त्री यादवले चिर्न सक्नु पर्छ, तिमिल्सिनाले थपे ‘महामारीमा मूल्य बढाएर जनताको ढाड सेृक्ने काम मन्त्री यादवबाट हुन्न भन्नेमा उपभोक्ताहरु विश्वस्त छन् ।’ दूधको मूल्य बढाउन भन्दा पनि किसान र उपभोक्ता बीचको बजारको तह घटाएर बिचौलिय नियन्त्रण गर्न सरकारले काम गर्नुपर्ने उनले बताए ।

उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमिल्सिनाले दूधको मूल्य बढाउन गठित कार्यादलमा रहेर काम गरे पनि मूल्य बढाउने विषयमा आफूहरुको असहमति रहेको बताए । उत्पादन बढाएर लागत घटाउने र किसानलाई प्रोत्साहन गर्ने कुरामा ध्यान नदिई मूल्य मात्रै बढाउने कुरा कुनै हालतमा स्वीकार्य नहुने उनको भनाई थियो ।

दूधको मूल्य बढाउने सम्बन्धि प्रतिवेदन बनाउन मूख्य भूमिका खेलेका राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले दूग्ध पदार्थको उत्पादन, प्रशोधन र वितरणमा सहभागी सबै पक्षहरुको छलफल पछि मात्रै दूधको मूल्य बढाउने निष्कर्षमा पुगिएको बताए । दूधको मूल्य बढाउन मन्त्री यादव र सचिव दाहालले निर्देशन दिएको भन्ने आरोप गलत भएको भन्दै उनले खण्डन समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?