+
+

महिलालाई नटेर्ने समाजको नालीबेली

उमा पौडेल उमा पौडेल
२०७८ माघ ४ गते ८:१७

एकाएक मेरो मनले एउटा गुनासो सम्झियो- ‘बैनी हामी जस्तो छोरी मान्छेलाई विदेश गएका मान्छेले पटक्कै मन पराउँदैनन्, के गर्ने होला ?’

बिझेको काँडा निकाल्न सियो वा हुप्सियोले घोच्नुपर्छ । विदेश गएको भनेर गाउँलेले पटक-पटक घोचपेच गरेपछि उनको मनबाट यस्तो प्रश्न ओकलिएको भाव उनको अनुहारबाट प्रष्टै झल्किन्थ्यो ।

काँडा निस्किएपछि टनटन गरेको ठाउँ जसरी सञ्चो हुन्छ, त्यसैगरी उनीभित्र गडेको यो पीडा निको पार्ने कुनै ओखति मसँग थिएन । तथापि मैले भनें, ‘तपाईं त थोरै आँटिला महिलामध्ये एक जना हुनुहुन्छ । परिवार पाल्ने हिम्मत बोकेर परदेशमा आर्थिक उपार्जन गरिरहनुभएको छ । कसले के भन्छ, कसरी हेर्छ भनेर वास्ता गर्नुहुँदैन दिदी । तपाईंको बहादुरीलाई मेरो सलाम छ ।’
धेरैबेर यस्तै हौसलाको कुरा गरें । आफ्नो बलबुताले जानेको सुझाएँ र निराश नहुन आग्रह गरें ।

महिलाले घरबाट बाहिर निस्किएर नोकरी वा कुनै पेशा व्यवसाय गर्दा पनि साउती मार्ने समाज हो यो । विदेशै गएर आएको भनेपछि उछित्तो काढ्न खोज्नु कुन नौलो कुरा भयो र ?

मैले सिन्धुलीकी तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी विजया प्रसाईको अनुभूति सम्भिmएँ । बकाइदा टेबुलमा ‘विजया प्रसाई, सहायक प्रमुख जिल्ला अधिकारी’ लेखिएको नेमप्लेट छ । म त्यही टेबल अगाडिको कुर्सीमा बस्छु । तर पनि मानिसहरूले शुरूमै अनुहार हेरेर सोध्छन्, ‘खै यहाँ सर हुनुहुन्न ?’ ‘म नै हो सर, भन्नुस् न’ भन्दै स्पष्टीकरण दिएर काम शुरू गर्नुपर्छ । यस्ता घटना धेरैपटक झेलेको उहाँको अनुभव थियो ।

मेरो जागिरे जीवनको १४ वर्षमा पहिलोपटक मैले आफ्नो बोसको रूपमा महिला पाएकी छु । यो कुराले म खुशी मात्रै छैन, काममा जाँगर पनि थपिएको छ । ५२ जनाको हाम्रो टीममा लिडरको रूपमा पनि महिला नै हुनुहुन्छ । मभन्दा माथिल्लो तहका उहाँहरू कहिलेकाहीं मैले काम गरिरहेको जिल्लामा पुग्नुहुन्छ । उहाँहरू जाने बेलामा मैले सम्बन्धित पक्षलाई जानकारी गराउनुपर्छ । यही क्रममा मैले केही बुज्रुक र उच्च ओहोदाका मानिने व्यक्तिबाट धेरैपटक एउटै प्रश्न खेप्नुपरेको छ, ‘तपाईंको अफिसमा महिलाले मात्रै काम गर्न पाउँछन् हो ?’

प्रश्न नमीठो लाग्छ, मन आवेगमा आउँछ । यद्यपि वादविवाद गर्नु उपयुक्त ठान्दिनँ । वास्तविकता बुझाउन खोज्छु । तर मनमा एउटा कुरा खेल्छ- यदि उनीहरूले म लगायत माथिका पदमा पुरुष नै पुरुष देेखेको भए मलाई ‘तपाईंको अफिसमा पुरुषले मात्रै काम गर्न पाउँछन् हो ?’ भनेर प्रश्न गर्थे होलान् ?

उनको अनुभवमा सेवाग्राही पाउदेखि शिरसम्म हेरेर नपत्याएरै पुरुष भएको शाखामा आफ्नो कुरा राख्न पुग्छन् । मर्यादाक्रम थाहा पाएका कर्मचारी जानाजान पदीय जिम्मेवारीलाई लत्याउँछन्

मैले मेरै टीमका अग्रज म्याडमहरूलाई पनि नपत्याइएका अनुभव धेरै पटक अनौपचारिक गफगाफका क्रममा सुन्न पाएकी छु ।
लेखा अधिकृतको रूपमा कार्यरत एकजना साथी हुनुहुन्छ- शर्मिला तामाङ । उहाँ कार्यकक्षको कुर्सीमा बसिरहँदा पनि सेवाग्राहीले ‘सर कता जानुभयो ?’ भनेर सोधिरहन्छन् । कार्यालय सहयोगी वा अर्का सेवाग्राही पुरुष कोठाभित्र हुँदा फाइल उनै पुरुषलाई दिइन्छ । एकपटक पुलुक्क अनुहार हेरेर जाने, आफ्नो पदको मान्छेबारे सोध्ने र शाखामा फेरि दोहोर्‍याएर आएर ‘हजुर नै यो कोठाको मान्छे ?’ भनेर पटक पटक सोधेर मात्रै फाइल पेश गरेका घटनाका थाक छन् उहाँसँग ।

मेरी बालसखा २७ वषर्ीया कविता चौहान बूढानीलकण्ठ नगरपालिकामा प्रशासकीय अधिकृतको रूपमा कार्यरत छिन् । स्कूलमा एउटै बेञ्चमा बसेर हामीले विद्यालय तहको पठनपाठन सिध्यायौं । कामकाजी, घरायसी सबै कुराहरू हामी एकअर्कासँग गरिरहन्छौं । पेशागत जीवनका सुखदुःख साट्ने क्रममा उनले अनुभूत गरेका लैंगिक दृष्टिकोणका नमीठा अनुभव छन् । ७ वर्ष अघि खरिदार पदबाट जागिर शुरु गर्दा भन्दा विगत दुई वर्षदेखिको अनुभव अलि फरक छन् । कार्यक्रम तथा योजनाको अनुगमनको क्रममा ‘महिला भएर फिल्ड जान सक्नुहुन्छ ?’, ‘काम जान्नुभएको छ र ? त्यसैले डकुमेन्ट नदेखाएका हौं, कागजमा हस्ताक्षर मात्रै गरिदिनुस्’ जस्ता तीता वाणी सुन्ने बानी नै परिसकेको छ उनलाई ।

मर्यादाक्रममा आफूभन्दा तल्लो तहका कर्मचारीले नटेर्ने, निर्णय प्रक्रियामा सहभागी नगराउने, हेलाहोचो व्यवहार उनले धेरै भोगेकी छिन् । ‘पहिलो त हाम्रो समाजमा महिलालाई पदमा रहेको विश्वास नै गरिंदैन । अर्को चाहिं कम उमेरको भयो भने त झन् पत्याउँदैनन्’ उनी आफ्नो अनुभव बाँड्दै भन्छिन्, ‘सर्वसाधारणले त पत्याउँदैनन् नै, स्वयम् कर्मचारीभित्र पनि महिलाको उपल्लो मर्यादाक्रममा नटेर्ने प्रशस्तै हुन्छन् ।’

उनको अनुभवमा सेवाग्राही पाउदेखि शिरसम्म हेरेर नपत्याएरै पुरुष भएको शाखामा आफ्नो कुरा राख्न पुग्छन् । मर्यादाक्रम थाहा पाएका कर्मचारी जानाजान पदीय जिम्मेवारीलाई लत्याउँछन् ।

आफ्नो पदीय मर्यादा अनुरूप कार्यसम्पादन र अधिकारको प्रयोग गर्ने क्रममा उनले तल्लो तहका कर्मचारीदेखि उपल्लो तहकासँग तर्क-वितर्क गर्नु परेको छ ।

‘तपाईंहरूले मलाई खेलौना सम्झनुहुन्छ खुसुखुसु सही गर्न ?’ यसरी कड्किएपछि मात्र कर्मचारीले झस्किएर व्यवहार सुधार्न थालेको अनुभव उनीसँग धेरै छ । एकदिन यस्तै भयो । ५ बजेपछि उनी कार्यालयबाट निस्कन लाग्दै थिइन् । निस्कने क्रममा कार्यालय प्रमुखले उनलाई अझै केही समय बस्नुपर्ने र ५ बजे निस्कन आफूले कर्मचारीका लागि सहुलियत दिएको बताए । कविताले कार्यालयमा काम पनि नभएको र आफ्नो घरमा सानो बच्चा पनि भएकाले निस्कनुपर्ने तर्क गरिन् । उनलाई हाकिमले भने, ‘घरको काम, बालबच्चा सम्हाल्ने भए किन जागिर खाएको ?’

कविताले भोगेका यस्तो तीखा व्यवहार, भनाइहरू धेरै छन् । लिपिबद्ध गरे यसले एउटा पुस्तककै स्वरूप पाउन सक्छ ।
मेरी एकजना ३७ वषर्ीया आफन्त दिदीको काठमाडौंमा आफ्नै घर छ । एउटा प्राइभेट आफिसमा नोकरी गर्ने उहाँको आम्दानी पनि निकै राम्रो । म बेलाबेलामा जिस्क्याइरहन्छु, ‘दिदी भिनाजुको जुत्ता कहिले लुकाउन पाउने हाम्ले ?’

उहाँ भन्नुहुन्छ, ‘नानी मलाई एक छिन फुर्सद हुन्न । यसो घरव्यवहार धान्ने र बालबच्चा हुर्काउने अलि सरल खालको कोही छ भने खोजिदेऊ न !’

म जिस्क्याएरै दिदीलाई बिहेको प्रश्न गर्छु । उहाँ नजिस्किएरै मलाई यस्तो जवाफ दिनुहुन्छ । राम्रोसँग घरव्यवहार धान्ने खाले केटी चाहियो भन्ने मात्र सुनेकी म उहाँसँगै भन्ने आँट त गर्दिनँ । तर मनमनै सोच्छु- ‘त्यसै तिमीले ३७ वर्षसम्म बिहे नगरी बस्नु पर्‍या छ त ? अब कुन चाहिं केटा आएर तपाईंको व्यवहार सम्हाल्ने होला ।’

एउटा उपल्लो दर्जामा काम गर्ने महिलाका लागि सेवाग्राही र कर्मचारीले नपत्याउने मात्रै होइन, उनीहरूका लागि यस्ता विभिन्न किसिमका असहजताहरू हुने रहेछन् । सोही पदीय जिम्मेवारीमा एकजना पुरुष भएको भए विवाहका लागि केटीहरूको प्रस्तावको लाइन लाग्थ्यो होला आफन्तहरूबाट पनि । अपसोच उनी महिला परिन् ।

यी केही प्रतिनिधि घटनाहरू मात्रै हुन् । घर बाहिर निस्किएर पेशागत तथा व्यावसायिक जीवन जिइरहेका महिलाहरूले कत्ति अविश्वासका पहाडहरू छिचोल्नुपरेको होला । पटक-पटक संघर्ष गरेर, आफ्नो क्षमता देखाएर, जाँच पास गरेर पद सम्हालेकाहरूले कतिपटक स्पष्टीकरण दिनुपरेको होला ? फेरि यस्ता प्रश्नहरू पुरुषले महिलालाई मात्रै गर्दैनन् । महिला स्वयम्ले नै महिलालाई गरिरहेका हुन्छन् । त्यस्ता महिलाहरू जो सिवाय घरव्यवहारमा मात्रै बाँधिनुपर्ने बाध्यतामा परेका छन् ।

म स्वयम्ले पनि केही वर्ष पहिले यस्ता धेरै अविश्वासलाई छिचोल्नुपरेको थियो । मैले १३ वर्षको उमेरबाट बाल पत्रकारको रूपमा काम शुरु गरें । म सिन्धुलीको स्थानीय रेडियोमा बालबालिकाको कार्यक्रम सञ्चालन गर्थें । पछि सोही रेडियोमा समाचारदेखि टक शोसम्मको कार्यक्रम गर्थें । उमेरलाई नै हेर्ने हो भने मैले सानो उमेरमा राम्रो जिम्मेवारी र अवसर पाएको अनुभूति अहिले पनि हुन्छ ।

त्यतिबेलाको एउटा घटना मलाई राम्रो याद छ । सिन्धुलीमा निर्माण भइरहेको एउटा सडक खण्डमा गुणस्तरहीन सामग्रीको प्रयोग भएको भनेर त्यहाँका स्थानीयहरू प्रशासन कार्यालयमा डेलिगेसन आएका थिए । उक्त घटनाबारे मैले स्थानीयसँग धेरै संवाद, छलफलपछि प्रमुख जिल्ला अधिकारीलाई गुणस्तरहीन सामग्रीको प्रयोग भयो रे नि भनेर सोधेकी थिएँ । उनको जवाफ थियो, ‘बाल पत्रकार भएर ठूला कुरा गर्ने ?’ उक्त अडियो मसँग अहिले पनि सुरक्षित छ ।

मेरो पेशागत अनुभव र कार्यसम्पादनलाई उमेरसँग दाँजेर सम्मानित पेशामा भएका व्यक्तिले दिएको यो अभिव्यक्ति म आजभोलि बेलाबखत सुनिरहन्छु । किनभने यसले पनि मेरो पेशागत जीवनमा ऊर्जा दिइरहन्छ ।

गैरसरकारी क्षेत्रमा काम गर्ने मेरो एकजना साथी अफिसकै समकक्षी सरहरूको प्रोत्साहनले जागिरे जीवन शुरू गर्नेदेखि त्यसलाई निरन्तरता दिनसकेको बताउँछिन् । केही साथी महिलालाई प्रोत्साहन गर्ने पुरुष कार्यालय प्रमुखहरूको कारण पत्रकारिता पेशामा लामो समयदेखि निरन्तर छन् ।

विगत ७ वर्षदेखि पत्रकारिता पेशामा आवद्ध सरला सुनुवार अहिले स्थानीय रेडियोमा कार्यक्रम प्रमुख पदमा कार्यरत छिन् । उनी पत्रकार महासंघ सिन्धुलीकी उपाध्यक्ष पनि हुन् । उनी आवद्ध रेडियो सिद्धबाबामा स्थापनाकालदेखि नै नेतृत्व गर्दै आएका स्टेशन म्यानेजर टीकाजंग थापाले निरन्तर प्रोत्साहन गरेको बताउँछिन् भने क्षमता अनुसारको पदीय जिम्मेवारी पनि दिएको बताउँछिन् । रिपोर्टरको पदबाट जागिर शुरू गरेकी उनले आफ्नो क्षमता तिखारिंदै जाँदा हाल कार्यक्रम प्रमुखको जिम्मेवारी पाएकी छिन् । त्यसैले सबैलाई एउटै बास्केटमा राखेर हेर्न खोजियो भने पक्कै गलत हुन्छ । कोही यस्ता सकारात्मक व्यक्ति पनि हाम्रो समाजमा हुनुहुन्छ, जसले महिलालाई राम्रो गर्न प्रोत्साहन गरिरहेका छन् ।

स्मरण रहोस्, राष्ट्र अहिले महिलाको नेतृत्वमा सञ्चालनमा रहेको छ । देशको पहिलो महिला सभामुख भएर ओनसरी घर्तीमगर, पहिलो महिला एआईजी डाक्टर दुर्गा थापा, महिला सिडिओ उषा नेपाल, पहिलो महिला उपप्रधानमन्त्री शैलजा आचार्य जस्ता महिला नेपालको लागि जिउँदा इतिहास हुन् । सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर पासाङ ल्हामु शेर्पा र विश्व अल्ट्रा म्याराथनमा अन्तर्राष्ट्रिय च्याम्पियन मीरा राई जस्ता धेरै महिलाले आफ्नो क्षेत्रमा इतिहास रचिसकेका छन्, रचिरहेका छन् । केही बाटोहरू पक्कै खोलिएका छन् ।

हाम्रो समाजको लैंगिक परिवेश केही त फेरिएको पनि छ । तर चित्तबुझ्दो कहिल्यै भएन । महिलालाई गरिने ठाउँ अनुसारको विभेद उस्तै छ । दृष्टिकोण धेरै बदलिएको छैन । संविधानले दिएको आरक्षणको व्यवस्थाले केही हदसम्म महिलाको उपस्थितिलाई राज्यका हरेक तहमा सहभागी हुने मौका त दियो, तर निर्णायक बन्ने अवसर कम मात्रै महिलाले पाए । संविधान, ऐनले दिएको जिम्मेवारीको उपभोग गर्न पनि बच्चाले अभिभावकले पैसा माग्दा झगडा गर्नु परे जस्तै गरी लिनुपर्ने अवस्था रहृयो । यसरी सार्वजनिक पदमा रहेर काम गरेका हरेक महिलासँग यस्ता अनुभवहरू छन् ।

यी प्रतिनिधिमूलक घटनामा ती महिलाहरूले कहीं न कहीं आफूलाई भेट्टाउँछन् ।

कसैले यही घटनाका सेरोफेरोमा भेट्टाउँछन्, कतिसँग यीभन्दा कहालीलाग्दा अनुभवहरू छन् । पितृसत्तात्मक सोचले जरा गाडेको हाम्रो समाजले अझै जीउडाल, उमेर र लैंगिक हिसाबले मात्रै कामका लागि पत्याउने र नपत्याउने कुरा निर्धारण गर्नु दुःखद छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?