+
+
ब्लग :

वादले सिर्जिएको अपवादमा रुमल्लिएको नेपाल

गणेश मानन्धर  गणेश मानन्धर 
२०७८ माघ ४ गते १७:५०

नेपालको तथाकथित राजनीतिज्ञ आफूलाई विज्ञ भन्ने पात्रहरूको भीडभाड छ। तर उनीहरू मुलुकको आन्तरिक परिवर्तन, प्रगति, समुन्नत एवं समृद्ध नेपालको लागि होइनन् भन्ने कुरा उनीहरूकै चरित्र र जीवनशैलीबाट प्रष्ट हुन्छ। स्वाधीनता, मौलिकता, भूगोल, विश्व परिवेश र मानवीयताको लागि आफ्नो कर्म र कर्तव्यको दायित्व बुझ्न नसक्दा एउटा सार्वभौम सम्पन्न, अखण्ड, समृद्ध राष्ट्र कसरी असफल हुन्छ भन्ने एक अर्को उदाहरण बन्दैछ नेपाल।

यति मात्र होइन, अझ यो बेथितिलाई समयमा व्यवस्थापन गर्न नसके यसले विश्व परिवेशलाई पुर्‍याउने क्षतिको कल्पना र अनुमान पनि गर्न सकिन्न।

मानव जीवन साँच्चै नै अमूल्य छ, अनुपम छ। अनुपम यस अर्थमा कि यस सृष्टिको करोडौं प्राणीमध्ये मानव मात्र यस्तो प्राणी हो जसले आफ्नो अस्तित्व, दायित्व र लक्ष्यका लागि वस्तुगत परिस्थिति र परिबन्धबाट मुक्त रही कार्य गर्न, बुझ्न र बुझाउन सक्दछ। प्रकृतिको यस सृष्टिलाई बुझ्न सक्दछ। सबै प्राणीलाई मानवीयता र समान व्यवहारका साथ मानवताको सम्मान गर्न सिकाएको छ, बुझाएको छ। यही परिबन्द र संस्कारको स्वरूपलाई ध्यान दिएर मानिसले समान व्यवहार, मानवता, प्राकृतिक धर्मका लागि सभ्य समाजको परिकल्पना गरेको हो। तर केही वाद र व्यवस्थाका कारण नेपाल र नेपाली आज अपवादमा परेको छ।

विकास मूलतः सुरक्षा हो। चाहे त्यो आन्तरिक होस् या बाह्य। सुरक्षा रणनीति विनाको विकास, विकास नभई विनाश हो। जुन विकासको नाममा अहिले नेपालले भोग्दैछ। राजनीति वा व्यवस्था आफैंले कुनै मार्ग निर्देशन गर्ने होइन। कुनै पनि वाद वा व्यवस्थाले विकास हुने पनि होइन त्यो त एक कर्मठ योद्धाको दूरदृष्टि र शासनले हुने हो।

के साँच्चै मानव जीवन यति कष्टकर हो त ? कि नेपालीको लागि मात्र यति कष्टकर भएको हो ? वास्तवमा जीवन के हो ? जीवन प्रकृतिको सामीप्य एवं तालमेलको साथ सरल क्रिया हो। सनातन प्रकृतिको यस्तो एउटा सरल शैली हो जसले मानव जीवनलाई पीडामुक्त भएर जिउन सिकाउँछ। विश्व परिवेशमा, सनातन नै त्यो यस्तो विचार हो जो सधैं अजर र अमर छ। किनकि सनातनले नै व्यक्तिको व्यक्तित्व विकास गर्न सिकाएको छ। कहीं कसैको दासत्व स्वीकार्दैन र मानवीयता र मानवताको सम्मान गर्दछ। मेरो देश, यो भूगोलले दिएको मिल शिक्षा यही हो। विश्वको यही भूगोल मात्र एउटा यस्तो भूगोल हो, जहाँ दासता रहेन।

सनातन एउटा यस्तो संस्कार हो जसले आफ्नो व्यक्तित्व विकासका लागि आफ्नो आराध्यदेवदेखि हरेक कुरा व्यवस्थापन गर्न छुट दियो, अधिकार दियो। त्यसैको गलत व्याख्या र दिग्भ्रमित दिमागले आज मेरो देशको यो दुर्दशा भएको हो।

नेपालको भू-राजनीतिक अवस्था शायदै यति कमजोर कहिल्यै भएको थिएन होला। भूपरिवेष्टित मुलुक आफैंमा निकै चुनौतीपूर्ण हुन्छ। सही मार्गनिर्देश, साहसिक नेतृत्व भएन भने जनता मात्र होइन भूगोलले समेत ठूलो क्षति बेहोर्नुपर्छ। त्यसैले हाम्रो जस्तो भूपरिवेष्टित मुलुकमा असंलग्न परराष्ट्र नीति कति व्यावहारिक रहेछ भन्ने कुरा आज छर्लङ्ग भएको छ। विकास मूलतः सुरक्षा हो। चाहे त्यो आन्तरिक होस् या बाह्य। सुरक्षा रणनीति विनाको विकास, विकास नभई विनाश हो। जुन विकासको नाममा अहिले नेपालले भोग्दैछ। राजनीति वा व्यवस्था आफैंले कुनै मार्ग निर्देशन गर्ने होइन। कुनै पनि वाद वा व्यवस्थाले विकास हुने पनि होइन त्यो त एक कर्मठ योद्धाको दूरदृष्टि र शासनले हुने हो। आज पनि विश्व परिवेशले यसलाई प्रमाणित गरेको छ।

पाँच लाख वर्षको इतिहास रहेको यो मानव चोला किन र केका लागि हो भन्ने बुझ्नै सनातनी हुनु हो। आजसम्म विज्ञानले नभने पनि शास्त्रीय मान्यता अनुसार मानव जीवन मोक्ष प्राप्तिको एक मात्र बाटो हो। मोक्ष भन्नाले सरल सहज सुलभका साथ सत्कर्म, सत्विचार युक्त पीडामुक्त जीवन जिउनु हो। सारा प्राणीलाई एक सनातन धर्म संस्कृतिले ‘वसुधैव कुटुम्बकम्’ को सूत्रले ब्रह्माण्डलाई नै एक एक परिवारको रुपमा व्यावहारिक ज्ञान दिएको थियो।

जीवन प्रकृतिप्रदत्त एक नश्वर भौतिक शरीर हो। यतिसम्म हेक्का नभएका नेताहरूका बोली र व्यवहार देख्दा उदेक लाग्दछ। पछिल्लो समय चाणक्यले शुरुआत गरेको होइन- समाजवाद, लोकतन्त्र। चाणक्यले त कहिल्यै सनातन संस्कृति भन्दा पर कुनै नीति बनाएनन्, संस्कार बनाएनन्। आफूलाई सनातनको एक अंशको रुपमा समर्पित गरे। यति मात्र होइन, प्रजातन्त्रको हिमायती ठान्नेहरूले हाम्रो सनातन संस्कृतिबाट व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको व्यवस्थापन किन गर्न सकेनन्?

ब्रह्मा, विष्णु र महेश्वरको नाममा हामीले व्यवस्थापन गरेको जुन सिद्धान्त र पद्धति थियो, आज विश्वभर व्यवस्थित भएको छ। त्यो सनातनी पद्धतिको एक अंश होइन ? कठै हाम्रा नेता, माओ, लेनिन, हिटलर के के जाति पढ्छन्। म नेताहरूलाई भन्न चाहन्छु- के तपाईंको जीवन सनातन भन्दा बाहिर छ ? एक पटक राम्रोसँग शास्त्र अध्ययन गर्नु, शास्त्रलाई रुपमा होइन, एउटा जीवनीको रुपमा पढ्नु, हेर्नु र आफ्नो जीवनको अन्त्य आफैं जान्नु।

जुन बाटो रोज्यो मानिसले एक दिन त्यही बाटो यो संसार छोडेर जानुपर्दछ। आफूले कस्तो बाटो रोजियो, त्यसको निष्कर्ष के हुन्छ ? त्यो बुझ्नु र त्यो यथार्थलाई जति सक्दो छिटो स्वीकार्नु अनि प्रायश्चित गर्नु व्यक्तिगत हितकर हुनेछ।

जीवन र प्रकृति बोधको ज्ञान सबैमा हुँदैन। मातृभूमिप्रतिको भावको उत्प्रेरणा सबैमा आउँदैन। जसले जान्दछ, बुझ्दछ तिनले नै धर्म, संस्कार, संस्कृतिको रक्षाका लागि कार्य गर्नुपर्दछ। यसबाट एउटा स्वच्छ समाजको निर्माणसँगै राज्यको अस्तित्व ग्रहण गर्दछ।

पुर्खाको मिहिनेतले हामी नेपाली समाजमा छौं। विश्वमा मेरो पहिचान सर्वप्रथम नेपाली हो भन्ने आउँदछ। नेपाली हुनुमा म साँच्चै नै गौरवशाली ठान्दछु। नेपालीको मानव सभ्यता, संस्कार र व्यवहारले विश्वलाई मोहित बनाएको छ। अझ बहादुरीले नेपालीको शिर उँचो बनाएको छ।

साँच्चै नै हाम्रो देशको प्रकृति र वातावरण अनुपम छ। यति सानो भूगोलमै लगभग सारा पृथ्वीको तापक्रम र वातावरण रहेको छ। त्यसैले त हरेक क्षेत्रबाट ऐतिहासिक छ। यस भूगोलमै अनावश्यक रुपमा धेरै परीक्षण भए। तर अब अति भो। घुमिफिरी रुम्जाटार भने जस्तै सरदार भीमसेन थापाको मृत्यु पछिको अन्योलले अन्ततः जंगबहादुर नै जन्माउने निश्चित छ। नेपाल देश शुरुदेखि नै अखण्ड थियो र अखण्ड नै रहिरहनेछ। राजनीतिक नेतृत्वको अदूरदर्शिताका कारण बेलाबखत यसमा जोखिम पैदा हुने गरेको छ।

यो सनातन पद्धति, तन्त्र विद्या र शक्तिको उपासनाको भूमि हो। यहाँ दानवराजको साम्राज्य कहिल्यै सफल हुँदैन। यो कुरा हाम्रो भूगोलले बेलाबेलामा पुष्टि पनि गर्दै आइरहेको छ।

नेपाल र नेपालीको चाहना सरल, सहज, सुलभ र पीडामुक्त जीवन हो। यही एक भूगोल मात्र पृथ्वीमा यस्तो छ जहाँबाट मोक्षको मार्ग पूरा हुन्छ। हो, यहाँ केही रुढिवादी परम्परा पनि हुर्किएको छ। यसले समाजमा केही विचलन पनि आएको छ। त्यसैले मौलिक र प्राकृतिक सापेक्ष जीवन मात्र होइन वाद र व्यवस्था आजको आवश्यकता हो। शायद त्यही भएर होला, परिस्थितिले आज सबैलाई सत्यको मार्गमा डोर्‍याएको छ। हामी सबै सनातन बाटोमा प्रतिवद्ध भएर हिंड्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?