+
+

चितवनमा १२० बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

दैनिक सेवा सञ्चालनमा समस्या

सुवास पण्डित सुवास पण्डित
२०७८ माघ ४ गते १९:१९

४ माघ, चितवन । चितवनका चार ठूला अस्पतालका १२० भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितको मुख्य उपचार गराउने भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीहरु संक्रमित भएका हुन् । जसका कारण अस्पतालले दिने सेवा समेत प्रभावित हुने देखिएको छ ।

भरतपुर अस्पतालमा कार्यरत ३७ जना चिकित्सक, स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारसम्म गरिएको परीक्षणमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । उनका अनुसार ७ जना चिकित्सकसहित २० जना स्वास्थ्यकर्मी संक्रमित छन् । बाँकी प्रशासनिक र अन्य सहयोगी कर्मचारी हुन् । ‘मंगलबारको रिपोर्ट आउन बाँकी छ, थपिने निश्चित जस्तैं छ’ अस्पताल सूचना अधिकारी पौडेलले भने, ‘यसरी त अस्पतालको सेवा नै प्रभावित हुने अवस्था देखिदैछ ।’

चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण बढ्दै जाँदा सेवा प्रवाहमा समस्या हुन थालेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्ण पौडेलले बताए । उनले अत्यावश्यक नपरी अस्पताल नआउन सबैलाई अनुरोध गरेका छन् । उनले संक्रमित स्वास्थ्यकर्मीको संख्या बढ्दै गए सेवा प्रवाहमासमेत कटौती गरिने बताए । उनले होम आइसोलेसनमा बसेको ७ दिनपछि वा अस्पतालबाट डिस्चार्ज भएको तीन दिनपछि अस्पतालमा सेवामा हाजिर हुनुपर्ने निर्देशन सरकारले गरेको बताए ।

भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत ४१ जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । अस्पतालका उपकार्यकारी निर्देशक डा.कृष्णसागर शर्माले दिएको जानकारी अनुसार अस्पतालका ४ जना चिकित्सक, २१ जना नर्स, ७ जना प्राबिधिक तथा ९ जना अन्य सहयोगी कर्मचारी संक्रमित भएका छन् । संक्रमण हुने क्रम अझै बढेकोले सेवा प्रवाहमा समस्या हुने देखिएको डा. शर्माले बताए ।

‘हामीले अस्पतालमा सेवा रोकेका वा मर्ज गरेका छैनौं, जति जना नर्सले धान्न सक्छन् त्यति बिरामी मात्रै राखेका छौं, तर अवस्था असहज बन्दैछ’ डा. शर्माले भने, ‘क्यान्सरको उपचार गराइरहेका तर कोभिड लागेका बिरामीलाई २० वेडको अलग्गै वार्डसमेत बनाएका छौं ।’

डा. शर्माले एक जना बिरामीको एक जना मात्रै कुरुवा राख्ने, उसको पीसीआर जाँच गर्ने गरेर सावधानी अपनाउन खोजिएको बताए । तत्काल अप्रेशन गर्नुपर्ने संक्रमित बिरामीलाई भरतपुर अस्पतालसँग समन्वय गरेर अप्रेशन गर्न सकिने बारेमा छलफल अघि बढेको डा. शर्माले बताए ।
अस्पतालमा पीसीआर परीक्षण गर्दा झण्डैं ५० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको उनको भनाइ छ । मंगलवार मात्रै १९६ जनामा गरिएको परीक्षणमा ९८ जनामा कोरोना संक्रमण देखिएको उनले बताए ।

चितवन मेडिकल कलेजमा कार्यरत ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अस्पतालका अप्रेसन म्यानेजर पारस अधिकारीले १२ जना चिकित्सक, १४ जना नर्स र ४ जना अन्य कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको बताए । मंगलबारको रिपोर्ट आउँदा यो संख्या थपिने उनले बताए । कोरोना सङ्क्रमण पुष्टि भएका सबै होम आइसोलेसनमा रहेका छन् ।

कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा कार्यरत २० जना चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेकाअनुसार १० जना चिकित्सिक, नर्स ५ जना र अन्य बाँकी अस्पतालमा कर्मचारीहरुमा संक्रमण देखिएको छ । संक्रमित चिकित्सक एवं स्वास्थ्यकर्मीहरु होम आइसोलेसनमा रहेका छन् । उनीहरुलाई ७ दिनसम्म आइसोलेसनमा बस्न भनिएको न्यौपानले बताए ।

निजी अस्पताल समन्वय समितिका सचिव विक्रम अधिकारीले जिल्लाका निजी अस्पतालमा मात्रै २० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित बनेको बताए । दैनिक ४/५ जना बढी एउटै अस्पतालका स्वास्थ्यकर्मी संक्रमित हुने गरेको देखिएको उनले बताए ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुखसहित केही कर्मचारीहरु कोरोना संक्रमित भएका छन् । विभिन्न जिल्लाबाट आवतजावत गर्ने तथा उपचारका लागिसमेत चितवन आउने हुँदा यहाँ संक्रमणको दर अझै उकालो लाग्ने अवस्था देखिएको छ । सार्वजनिक सवारी साधान, बजार तथा होटल रेष्टुरेन्टहरू खुल्ला छन् । विद्यालय र सिनेमा हलबाहेकका सेवा यथावत चल्दा संक्रमणको दर अझै बढ्ने देखिन्छ ।

कुन अस्पतालमा कति संक्रमित ?

जिल्लामा कोरोना संक्रमणको दर दिनदिनै बढ्दै गए पनि अस्पतालमा भने बिरामीको चाप खासै छैन । तर, अस्पताल पुग्ने संक्रमितको संख्या पनि बढ्दै जान थालेको ति अस्पतालहरुले बताएका छन् ।

स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार सबैभन्दा बढL ३७ जना कोरोना संक्रमितको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । ती मध्ये ८ जना आइसियूमा छन् । चितवन मेडिकल कलेजमा १० जना संक्रमित उपचाररत छन् । ३ जना भेन्टिलेटरसहित ६ जना आइसियूमा छन् भने ४ जना एचडीयूमा छन् ।

कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा ६ जना आईसीयूमा उपचाररत छन् ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?