 
																			४ माघ, पोखरा । गण्डकी सरकारले सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडादर बढाएको छ । मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले भाडादर बढाउने निर्णय भएको जानकारी दिएका हुन् ।
भौतिक पूर्वाधार, शहरी विकास तथा यातायातमन्त्री समेत रहेका प्रवक्ता खड्काले प्रदेशमा २३ प्रतिशतसम्म भाडा समायोजन गरेको जानकारी दिए । उनका अनुसार लामो दूरीको बसमा २३.५१ प्रतिशतले भाडा बढाइएको छ । नगर बसमा २२.५५ प्रतिशत, ट्रकमा १४.५७ र जिपमा ५.५० प्रतिशत भाडा वृद्धि गरिएको छ ।
संघीय सरकारले यसअघि नै २८ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरिसकेको छ । भाडा वृद्धि गर्ने यातायात व्यवस्था विभागको प्रस्तावलाई तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले असार २७ गते स्वीकृत गरेका थिए । सोही प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएपछि विभागले भाडादर बढाएको थियो ।
गण्डकी सरकारका प्रवक्ता खड्काले संघीय सरकार र अन्य प्रदेशले भाडा समायोजन गरेकाले आफूहरुले पनि भाडादर समायोजन गरेको बताए । यसअघि असोज १३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको भाडादर समायोजन गर्ने विषयमा अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय बमोजिम भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयका सचिवको संयोजकत्वमा १० सदस्यीय प्रदेश भाडादर सिफारिस समिति गठन भएको थियो ।
‘भाडा समायोजन गर्नुपर्ने÷नपर्ने र हो भने किन, होइन भने किन नपर्ने ? कति गर्ने भन्ने विषयमा सचिवज्यूको संयोजकत्वमा एउटा सिफारिस समिति गठन भएको थियो,’ खड्काले भने, ‘सोही समितिले दिएको प्रतिवेदनका आधारमा भाडा समायोजनको विषयलाई निर्णय गरेका हौं ।’
मन्त्रिपरिषद्को बैठकले ट्याक्सी भाडामा समेत समायोजन गरेको छ । नयाँ समायोजन अनुसार १५ किलोमिटर भित्रमा ‘फ्लेग डाउन रेट’ ८० र प्रत्येक २ सय मिटरमा १० रुपैयाँका दरले ट्याक्सी भाडा निर्धारण भएको छ ।
यसअघि पोखरामा शुरुआती भाडा १४ र त्यसपछिको भाडा ७ रुपैयाँ मात्रै थियो । ‘कागजी रुपमा मात्रै थोरै देखिएको हो । त्यो भाडामा अहिले कोही पनि ट्याक्सी चल्दैनन् । हेर्दा २८ रुपैयाँ देखिएपछि यात्रु ३०० सम्म तिर्न बाध्य थिए,’ मन्त्री खड्काले भने, ‘अहिले हामी कागजी रुपमा महंगो भएपनि व्यावहारिक रुपमा ३० देखि ५० प्रतिशत सस्तो हुन पुगेका छौं ।’
यसअघि नै भाडादर समायोजन गरेको बागमती प्रदेशमा शुरुआती न्यूनतम ६० रुपैयाँ तोकिएको छ । बागमतीको २ सय मिटरको यात्रापछि ९ रुपैयाँ ८० पैसाका दरले भाडा थप हुनेगरी भाडादर निर्धारण गरिएको छ ।
बागमतीभन्दा पोखरा किन महंगो ? प्रवक्ता खड्का भन्छन्, ‘काठमाडौंमा पपुलेसन धेरै छ । त्यहाँ ट्याक्सी चढ्ने धेरै हुन्छन् । पोखरामा एक ठाउँमा गइसकेको ट्याक्सी फर्किंदा यात्रु नै नपाउने समस्या हुन्छ । दोहोरो ग्राहक नपाउने भएकाले केही महंगो देखिन गएको हो ।’
समायोजन भयो, लागू हुने टुंगो छैन
प्रदेश सरकारले मन्त्रिपरिषद्बाटै समायोजन गरेर भाडादर बढाएको भएपनि कहिलेदेखि लागू गर्ने विषय भने खुलाएको छैन । ‘भाडा समायोजन भएपनि ठ्याक्कै कहिलेदेखि लागू हुन्छ भन्न सकिँदैन । अहिले क्याबिनेटबाट निर्णय मात्रै भएको हो । प्रमुख सचिवज्यूले हस्ताक्षर गरेर प्रमाणित गरेपछि मात्रै राजपत्रमा प्रकाशित हुने हो,’ खड्काले अनलाइनखबरसँग भने, ‘व्यवसायीले शर्तहरु मान्ने लिखित सम्झौता गरेपछि मात्रै लागू हुन्छ ।’
मन्त्री खड्काका अनुसार समायोजित नयाँ भाडादर लागू गर्न सवारी धनीले सरकारले तोकेको ठाउँमा मात्रै गाडी रोक्नुपर्ने, बसमा जीसीपीएस जडान गनुपर्ने, अटोमेटिक डोर सिस्टम राख्नुपर्ने लगायत ठूला बसको हकमा शर्तहरु अघि सारेको छ ।
‘अब नयाँ खरिद र दर्ता गर्ने बसको ढोका अटोमेटिक हुनैपर्छ । त्यो नहुँदा धेरै दुर्घटनाका घटना भएको पनि हामीले पाएका छौं,’ मन्त्री खड्काले भने, ‘त्यसका लागि व्यवसायीसँग परामर्श गरिने छ ।’ उनले सरकारको समन्वयबाट कार्ड सिस्टमबाट भाडा तिर्ने प्रणालीमा पनि लगिने जानकारी दिए ।
ट्याक्सीको हकमा भने तत्कालै मिटर बक्स राख्नुपर्ने, नयाँ ट्याक्सीले बिलसहितको मिटर राख्नुपर्ने, सबै ट्याक्सीमा अनिवार्य जिपिएस जडान गर्नुपर्ने शर्त प्रदेश सरकारको छ । साथै, ट्याक्सी चालकले पनि अन्तर्राष्ट्रिय मान्यताप्राप्त पोशाक र रङ लगाउनुपर्ने प्रदेश सरकारले जनाएको छ ।
समायोजनपछि गाडी भाडादर बढ्ने भएपनि प्रदेश सरकारले राखेका शर्तहरु पालना भए अहिले यात्रुले तिरिरहेको भन्दा सस्तो पर्न जाने दाबी मन्त्री खड्काको छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4