+
+

निर्वाचनको तिथि भोलिसम्म घोषणा नगरे सडकमा जनता उतार्छौं : नेता पोखरेल

कांग्रेस निर्वाचनबाट भाग्दैन : नेता विश्‍वकर्मा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते १६:००

५ माघ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले समयमा नै स्थानीय तहको निर्वाचन गराउन सरकारसँग माग गरेका छन् । ।

बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता पोखरेलले समयमा नै स्थानीय तहको निर्वाचन गराउन सरकारलाई दवाव दिनु भएको हो । उनले स्थानीय तहको निर्वाचनमा नेकपा एमाले एक्लैले ७५ प्रतिशत सिट जित्ने दाबीसमेत गरे ।

नेता पोखरेलले एमालेको लोकप्रियताबाट गठबन्धन सरकार अत्तालिएर निर्वाचन नगराउने षड्यन्त्र लागिपरेको आरोपसमेत लगाए । उनले निर्वाचन आयोगले भोलि (बिहीवार) सम्म स्थानीय तहको निर्वाचनको मिति नतोके सरकारविरुद्ध सडकमा जनता परिचालन गरेर निर्वाचनको मिति तोक्न बाध्य बनाउने चेतावनी दिए ।

नेता पोखरेलले भने, ‘म भन्न चाहन्छु नेकपा एमाले सर्वोच्च अदालतबाट जबरजस्ती गलत्याइएको दल हो । त्यो दल नेकपा एमाले चुनावको पक्षमा छ । चुनाव गराउन चाहन्छ । सरकारलाई कम्तिमा निर्वाचन आयोगले दिएको तिथि वैशाख १४ र २२-२३ गतेभित्र चुनाव गराउनको लागि म आह्वान गर्न चाहन्छु । म घोषणा गर्न चाहन्छु, कम्तिमा ७५ प्रतिशत सिट नेकपा एमालेले स्थानीय तहमा जित्नेछ । यसबाट अत्तालिएर अहिलेको गठबन्धन सरकार निर्वाचन नगराउने षड्यन्त्र गरिएको छ, यो षड्यन्त्रलाई चिर्नको लागि हामी भोलिसम्म पर्खन्छौँ ।’

उनले निर्वाचनको तिथि भोलिसम्म घोषणा नभए सडकमा जनता उत्रिने चेतावनीसमेत दिए । उनले भने, ‘ निर्वाचनको तिथि भोलिसम्म घोषणा भएन भने सडकबाट जनता उरालेर परिचालन गरेर निर्वाचनको माग गर्न हामी सडकमा जान्छौँ । स्थानीय तहको निर्वाचन नगराउने कुरा दिमागमा नसोचियोस् । पराजित मानसिकताले हाम्रो संविधान र कानून, निर्वाचन प्रणाली कमजोर बनाउने प्रयत्न नगरियोस् ।’

यता, सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले स्थानीय तहको निर्वाचन समयमै गराउन सरकार प्रतिवद्ध रहेको बताए । उनले नेपाली काँग्रेसको नेतृत्वको सरकार चुनाव गराउनकै लागि बनेको दावीसमेत गरे ।

उनले भने, ‘नेपाली काँग्रेस पार्टीका बारेमा निर्वाचन सम्बन्धमा मलाई लाग्छ, कहिल्यै शंका नगरे हुन्छ । त्यो शंका, आग्रह, पूर्वाग्रहलाई वा रणनीतिलाई नेपाली काँग्रेस र चुनावसँग जोड्नु, सान्दर्भिक इतिहासले पनि देखाउँदैन । जस्तोसुकै कठीन परिस्थितिमा पनि नेपाली काँग्रेसले निर्वाचन सम्पन्न गरेको छ । पार्टी फुटिसकेपछि अहिले नेकपा एमाले पार्टी सरकारमा छैन, त्यसका केही अंशहरु मात्रै सरकारमा छन्, त्यसको नेतृत्व नेपाली काँग्रेसले लिएको हुनाले विश्वास गर्नका लागि म आग्रह गर्दछु ।’

नेता विश्वकर्माले नेपाली कांग्रेस निर्वाचनबाट भाग्ने पार्टी नभएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?