+
+
मेरो जीवनशैली :

कोरियन र थकाली खाना ज्यादै मीठो लाग्छ : अरुणा शाही

सम्झना विक सम्झना विक
२०७८ माघ ५ गते १७:२०
भलिबल खेलाडी अरुणा शाही । फाइल तस्वीर

५ माघ, काठमाडौं । अरुणा शाही राष्ट्रिय महिला भलिबल टिमकी कप्तान हुन् । १३-१४ वर्षको उमेरदेखि नै भलिबल खेल्दै आएकी शाही खेलसँगै अध्ययनलाई पनि निरन्तरता दिइरहेकी छन् ।

बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप नेपाली महिला भलिबलको अहिलेसम्मकै स्मरणीय प्रतियोगिता हो । यो प्रतियोगितामा नेपाली टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जितेको थियो । शाहीको कप्तानीमा नेपालले सार्क स्तरीय प्रतियोगितामा पनि राम्रो उपस्थिति जनाइरहेको छ । १३ औं दक्षिण एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टिम उपविजेता बनेको थियो ।

शान्त र अन्तर्मुखी स्वभावकी शाही पोखराको गण्डकी युनिभर्सिटीमा ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट (बीएसएम)मा अध्ययनरत छिन् । अधिकांश समय खेलमै बिताउने उनी खेलाडीले निश्चित उमेरसम्म मात्रै खेल्न सक्ने हुँदा ऊर्जाशील समय खेलमै लगाउनुपर्ने धारणा राख्छिन् । उनै, राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको दिनचर्या कस्तो छ ? उनका रुचि के के छन् ? परिवारलाई कसरी समय दिन्छिन् ? लगायतका विषय उनकै शब्दमा-

व्यायाम गर्दिन

मेरो उठ्ने ठ्याक्कै नियमित तालिका त छैन, कहिले चाँडै उठ्छु, कहिले अहिल ढिलो पनि हुन्छ । सामान्यतया सात बजेभित्र उठिसकेकी हुन्छु ।

उठेर फ्रेस भइसकेपछि एक्सराइज गर्ने बानी छैन । किनकि, खेलाडी भएकाले खेल अभ्यासले नै फिट राखेको छ । म नियमित अभ्यास गरिरहेकी हुन्छु ,

मेरो खाना

बिहानको नास्तामा चना, अण्डा र बे्रड खान्छु । बिहानको खाना ११ देखि १२ बजेभित्र खाइसक्छु । बिहानको खाना घरमा पाकेको दाल, भात र तरकारी नै मलाई मन पर्छ ।

बेलुकाको खाना म आठ बजेसम्म खाइसक्छु । बेलुकाको खाना पनि साधारण नै हुन्छ । खाना खाएपछि एकछिन् पढ्छु, मोबाइल चलाउँछु । रातिको १० देखि ११ बजेभित्र सुतिसक्छु ।

खानामा कोरियन फुड र थकाली खाना मलाई ज्यादै मीठो लाग्छ । मासुको परिकारभन्दा माछाको परिकार मन पराउँछु । सागसब्जी पनि मन पर्छ । खानामा आवश्यक पोषक तत्व मिलाएर खाने गरेकी छु ।

घरको काम गर्न आउँदैन, समय नै हुँदैन

भर्खर किशोर अवस्था शुरु हुने १३ वर्षकै उमेरदेखि भलिबल खेल्न थालेकाले घरको काम गर्ने समय नै पाइँन । खेल्नका लागि कहिले कहाँ र कहिले कहाँ पुग्नुपर्ने भएकाले घर बस्ने टुंगो नै हुँदैन ।

खाना पकाउने, घर सफा गर्ने, लुगा धुने जस्ता काम मलाई गर्न आउँदैन भन्दा पनि हुन्छ । मैले अभ्यासमा जति समय दिन सकें त्यति नै खेल राम्रो हुने भएकाले मेरो फोकस नै यसैमा हुन्छ । मेरो जीवनको मुख्य कुरा नै खेल हो, अरु सहायक ।

मेरो पहिरन

मलाई एकदमै मनपर्ने ट्याक सुट हो । म यही नै बढी लगाउँछु ।  बाहिर जानु पर्दा कस्तो कार्यक्रम हो, त्यसमा पनि ख्याल गरेर लुगा लगाउँछु । आफ्नो पहिरनमा सहजता पनि खोज्छु । कुनै नयाँ लुगा किन्न जाँदा फेसनभन्दा पनि मलाई सुहाउँछ कि सुहाउँदैन त्यो हेर्छु । बाहिर निस्कँदा जिन्स पाइन्ट र टीसर्टमै सहज महसुस गर्छु । औपचारिक कार्यक्रममा जाँदा भने सोही अनुसारको पहिरन प्रयोग गर्छु ।

मेरो रुचि

भलिबल खेल्नबाहेक मलाई यात्रा गर्न अति मन पर्छ । खेल अनि पढाइको समय व्यवस्थापन गरेर म घुम्छु । नयाँ-नयाँ ठाउँमा गएर त्यहाँको भाषा, धर्म, संस्कृति, रहनसहन हेर्न मलाई औधी मज्जा लाग्छ ।

शारीरिक रुपमा फिट हुनु जति जरुरी छ, मानसिक रुपमा पनि त्यति नै छ । त्यसैले यात्रा गर्दा म फ्रेस महसुस गर्छु । समय मिल्नासाथ साथीहरुसँग घुम्न निस्किन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?