News Summary
Generated by OK AI. Editorially reviewed.- स्लिपिङ विहेभियर डिसअर्डरमा व्यक्ति निद्राको र्यापिड आई मुमेन्ट चरणमा सपनाअनुसार हातखुट्टा चलाउँछन् र हिंसात्मक व्यवहार देखाउँछन्।
- यो समस्या पार्किन्सन्स र मल्टिपल सिस्टम एटोर्फीजस्ता स्नायु रोगको सुरुवाती संकेत हुन सक्छ र ५० वर्षमाथिका पुरुषमा बढी देखिन्छ।
निद्रा हाम्रो जीवनको आधार हो । यसले शरीरलाई आराम दिन्छ, दिमागलाई शान्त पार्छ र दिनभरको थकान हटाउँछ । सामान्य अवस्थामा निद्रामा सपना देखिन्छ तर शरीर भने स्थिर रहन्छ । तर केही व्यक्तिहरूमा यो नियम बिग्रिन्छ ।
उनीहरू सपना देख्दै गर्दा नै हात–खुट्टा चलाउन थाल्छन्, लात हान्छन्, मुक्का हान्छन्, जोडले बोल्छन्, चिच्याउँछन् वा ओछ्यानबाट निस्किएर भाग्ने प्रयास गर्छन् । यस्तो व्यवहार बारम्बार दोहोरिन्छ भने यो कुनै साधारण कुरा होइन ।
यो ‘स्लिपिङ विहेभियर डिसअर्डर’ नामक गम्भीर निद्रा समस्याको संकेत हुन सक्छ । धेरै परिवारले यसलाई हाँसोठट्टा वा सानोतिनो कुरा ठानेर बेवास्ता गर्छन् तर यसले आफैंलाई वा नजिकै सुतिरहेको व्यक्तिलाई चोट पुर्याउने खतरा हुन्छ ।
समयमै ध्यान नदिएमा यो समस्या झन् बढ्न सक्छ र भविष्यमा पार्किन्सन्स जस्ता रोगको सुरुवात पनि हुन सक्छ ।
यो समस्या के हो ?
यस्तो समस्या ‘र्यापिड आई मुमेन्ट’मा हुन्छ । यो भनेको निद्राको एउटा चरणमा हो, जहाँ दिमाग निकै सक्रिय हुन्छ र जीवन्त सपना देखिन्छन् । सामान्य व्यक्तिमा ‘र्यापिड आई मुमेन्ट’को चरणमा मस्तिष्कको एउटा भागले मांसपेशीलाई अस्थायी रूपमा पक्षाघात गर्छ, जसलाई मसल्स एटोनिया भनिन्छ । यसले शरीरलाई सपनाअनुसार हिँडडुल गर्नबाट रोक्छ । तर ‘स्लिपिङ विहेभियर डिसअर्डर’ भएका व्यक्तिमा यो एटोनिया प्रक्रिया कमजोर वा पूर्णरूपमा बन्द हुन्छ ।
फलस्वरूप व्यक्ति सपनामा जे देख्छ त्यसैअनुसार शारीरिक क्रियाकलाप गर्छ । यो पारासोमेनियाको एक प्रकार हो, जसमा निद्रामा असामान्य र कहिलेकाहीँ हिंसात्मक व्यवहार हुन्छ ।
निद्राका ६ चरण
मानिस जब निदाउँछ उसले निद्राको विभिन्न चक्र पार गर्दै जान्छ । जसमा ४ देखि ६ चक्र हुन्छ । यो क्रममा मस्तिष्क, मुटु जस्ता अंगहरु सुस्त गतिमा चलिरहेको हुन्छ । करिब ९० मिनेटको एउटा निद्राको चक्र हुन्छ, जसमा ७५ मिनेटको चक्र गहिरो हुन्छ ।
यसलाई ननर्यापिड मुमेन्ट पनि भनिन्छ । त्यसक्रममा हामी अचेत जस्तै हुन्छौं, जसकारण सपना देखे पनि याद गर्न सक्दैनौं । र, त्यसपछिको १५ मिनेटको चक्र त्यति गहिरो हुँदैन, जसकारण हामी सपनामा देखेको कुरा स्मरण गर्न सक्छौं । सो १५ मिनेटको अवस्थालाई र्यापिड आई मुमेन्ट भनिन्छ । गहिरो निद्रापछि ब्युँझिने गर्छौं । त्यसबाहेक निद्रामा बाहिरी अवरोध आउँदा अर्थचेतनको अवस्थामा हामी ब्युँझिन सक्छौं ।
लक्षणहरू कस्ता हुन्छन् ?
यो समस्याका लक्षणहरू क्रमशः बढ्दै जान्छन् । प्रायः रातको दोस्रो भागमा अर्थात् बिहानतिर बढी देखिन्छ, किनकि ‘र्यापिड आई मुमेन्ट’ चरण त्यस समयमा बढी सक्रिय हुन्छ । व्यक्ति निद्रामा जोडले कुरा गर्छन्, गाली गर्छन्, चिच्याउँछन् वा डरलाग्दो सपना देखेपछि अचानक उठेर बस्छन् ।
कतिपयले हात–खुट्टा हल्लाउँछन्, मुक्का हान्छन्, लात हान्छन् वा ओछ्यानबाट खसेर भाग्ने प्रयास गर्छन् । बिहान उठ्दा उनीहरू आफैंलाई चोट लागेको पाउँछन्, ओछ्यानमा सामान छरिएको हुन्छ वा जीवनसाथीले चोट लाग्ने डरले अलग सुत्नुपर्ने अवस्था आउँछ । यस्ता घटनाले सम्बन्धमा तनाव पनि निम्त्याउछ ।
कारणहरू के–के हुन सक्छन् ?
यो समस्या किन हुन्छ भन्ने कुरा पूर्ण रूपमा स्पष्ट छैन । तर विभिन्न कारणहरूलाई जिम्मेवार मान्ने गरिन्छ । जस्तो कि, उमेर बढ्दै जाँदा मस्तिष्कको ब्रेनस्टेम रहेका कोषहरूमा परिवर्तन आउँछ, जसले एटोनिया प्रक्रियालाई प्रभावित गर्छ । न्यूरोट्रान्समिटरहरू जस्तै ‘गाबा’ र ‘ग्कोलिसिन’को असन्तुलन पनि कारण हुन सक्छ ।
केही एन्टिडिप्रेसन्ट औषधि, बीटा–ब्लकर वा अन्य औषधिले यो समस्या ट्रिगर गर्न सक्छन् । रक्सी वा नशालु पदार्थको बढी प्रयोगले पनि जोखिम बढाउँछ । सबैभन्दा महत्वपूर्ण कुरा यो पार्किन्सन्स डिजिज, मल्टिपल सिस्टम एटोर्फी जस्ता स्नायु रोगको सुरुवाती संकेत पनि हुन सक्छ । अध्ययनहरूले देखाएअनुसार व्यक्तिमध्ये ३० देखि ८० प्रतिशतमा १० देखि १५ वर्षभित्र यस्ता रोग देखिन्छ ।
जोखिम बढी कसलाई ?
यो समस्या विशेषगरी ५० वर्षभन्दा माथिका व्यक्तिमा बढी देखिन्छ रमहिलाभन्दा पुरुषहरूमा धेरै गुणा बढी हुन्छ । आम जनसंख्यामा यो १ प्रतिशतभन्दा कम छ तर ६० वर्ष माथिका व्यक्तिमा २ देखि ८ प्रतिशतसम्म पुग्न सक्छ ।
त्यस्तै, छारे रोग भएकाहरूमा पनि यो समस्या हुनसक्छ ।
पार्किन्सन्स रोग भएकाहरूमा ३० देखि ५० प्रतिशत र डीमेन्सिया भएकामा ७० देखि ९० प्रतिशतसम्म हुने गरेको पाइन्छ । यदि परिवारमा यस्तो इतिहास छ भने जोखिम अझ बढी हुन्छ ।
कतिबेला चिकित्सकलाई भेट्ने ?
चोटपटक नै लाग्ने गरी रातमा यो समस्या देखिए, सधैँ एकनासको हात खुट्टा चलाउने खालको छारे रोग छ भने वा यस्तो क्रियाकलापपछि मन आत्तिने, डराउने भएमा पनि तुरुन्त अस्पताल लानु उपयुक्त हुन्छ ।
निदान कसरी गरिन्छ ?
यो समस्या पत्ता लगाउन सामान्य जाँच पर्याप्त हुँदैन । चिकित्सकले विस्तृत इतिहास लिन्छन् जसमा जीवनसाथी वा परिवारका सदस्यबाट जानकारी लिन्छन् । सबैभन्दा महत्वपूर्ण पोलीस्म्नोग्राफी अर्थात् स्लीप स्टडी टेस्ट हो । यसमा रातभर मस्तिष्कको तरंग, आँखाको हलचल, मांसपेशीको गतिविधि, हृदयको धड्कन र श्वासप्रश्वास रेकर्ड गरिन्छ ।
आवश्यक परे न्यूरोलोजिकल परीक्षण, एमआरआई वा अन्य परीक्षण पनि गरिन्छन् ।
उपचार र व्यवस्थापन कसरी गर्ने ?
यसको पूर्णउपचार छैन तर लक्षण हेरेर चिकित्सकीय सिफारिसमा औषधिले राम्रोसँग नियन्त्रण गर्न सकिन्छ ।
साथै, ओछ्यान वरिपरि नरम कुशन वा फोम राख्ने, खतरनाक वस्तुहरू हटाउने, अलग ओछ्यान प्रयोग गर्ने जस्ता सुरक्षा उपाय अपनाउनुपर्छ ।
नियमित निद्रा समय कायम गर्ने, मदिरा र क्याफिन कम गर्ने, तनाव व्यवस्थापन गर्ने र व्यायाम गर्ने जस्ता जीवनशैली परिवर्तनले पनि फाइदा पुग्छ । यदि पार्किन्सन्स जस्ता रोगको जोखिम छ भने नियमित फलोअप आवश्यक हुन्छ ।
यी उपायहरू अपनाउँदा चोटको जोखिम ८० देखि ९० प्रतिशतसम्म कम गर्न सकिन्छ ।
प्रतिक्रिया 4