+
+

कुलमानलाई पत्रः हाम्रो आशामा लोडसेडिङ नहोस्

कपिल लामिछाने कपिल लामिछाने
२०७८ माघ ६ गते ७:५४

प्रिय कुलमान सर,

उत्तरोत्तर प्रगतिको आकांक्षा सहित न्यानो अभिवादन !

लोडसेडिङको अँध्यारो हटाउन यहाँको योगदान अतुलनीय छ । हामी विगतका दिनमा १८ घण्टा लोडसेडिङको मार खेप्न अभिशप्त थियौं । तपाईंकै कुशल व्यवस्थापन र प्रविधिसँगको ज्ञानले आज हामी अँध्यारोबाट मुक्त भएका छौं । तपाईंको यस योगदानलाई आम नेपालीले सदा सम्झिरहने छौं ।

हामी पूर्व-पश्चिम राजमार्गको यात्रामा अनेकौं ठाउँमा होर्डिङ बोर्डमा ‘कुलमानको जय’ लेखेको भेट्छौं । नेपाली इतिहासमा साधारण किसानको सन्तानले यति धेरै स्याबासी र बधाई पाएको शायदै होला ।

विभिन्न चाडपर्वमा उल्लासको समयमा यहाँको सक्रियता अझ धेरै बढ्छ । गएको तिहारमा चितवनको भरतपुरमा रहेको सब-स्टेसनमा आएको समस्या होस् वा भक्तपुर फिडरमा आएको समस्या होस् ! तपाईं स्वयम् नै खट्नुहुन्छ । कुर्सीमा लिप्त हाकिम हुनुको अहम् र घमण्ड गर्नेलाई तपाईं गतिलो जवाफ बन्नुभएको छ ।

यहाँको हँसिलो र मिजासिलो व्यवहार, सही र स्पष्ट बोल्ने तार्किक क्षमता, कामप्रतिको लगनशीलता, धैर्य, सबैलाई बाटो देखाउने अनुशासन आजका पुस्ताले सिक्न आवश्यक छ ।

प्रिय कुलमान सर !

यहाँले भरमग्दुर प्रयास त गरिनै रहनुभएको होला तर पनि आजकल काठमाडौं लगायत अधिकांश ठाउँमा बारम्बार विद्युत्को समस्या बढ्दो छ । म केही समय अघि सिन्धुपाल्चोक जिल्लाको मेलम्ची गएको थिएँ । मेरो केही दिनको बसाइँमा दिनको १०औं पटक विद्युत् आउने र जाने भैरहृयो ।

तपाईं त जानकार हुनुहुन्छ कार्यालयका कार्यहरूका म्याद हुन्छन् । बारम्बार विद्युत्को समस्याले गर्दा मैले समयमा काम सक्न सकिनँ । म जस्ता हजारौं नागरिक अहिले यो समस्या भोग्दैछन्, सबैका प्रश्न छन् तपाईंलाई- के यो अघोषित लोडसेडिङ हो त ?

आज संसार प्रविधिमैत्री बन्दैछ । प्रविधिको प्रयोगले संसार साँघुरो बनेको छ । पूर्वी ध्रुवबाट थिचेको स्वीचले पश्चिमी ध्रुवमा एकनिमेषमै कायापलट गरिदिन्छ तर हामीकहाँ कुन खम्बामा लाइन सर्ट भएको छ भनी खम्बैपिच्छे चढ्नुपर्ने अवस्था छ । ती परिश्रमी कर्मचारी न प्रविधि मैत्री बन्दैछन् न यो विषयमा जानकार नै ।

हुन त प्रविधिको नवीनतम सोच र व्यवस्थापन तपाईंद्वारा नै भित्रिएका छन् । जसरी एक स्क्यानिङ मेसिनले शरीरको जाँच गरी समस्या पहिल्याउँछ अब त्यसैगरी ती प्रत्येक खम्बा पनि प्रविधिमैत्री हुनुपर्‍यो । त्यही अनुसारका साधन र स्रोतको पहुँच ती फिल्डका कर्मचारीलाई पनि हुनुपर्‍यो ।

कुन खम्बामा के समस्या छ भनी जाँच्ने मेसिनको पहुँच हुनुपर्‍यो । खाडी मुलुक कतारमा रोजगारीको सिलसिलामा दुई वर्ष बस्दा मैले कहिल्यै पनि विद्युत्को समस्या भोग्नुपरेन न त खम्बा चढेर कुन लाइनको गडबडी भएको छ भनी जाँच्ने व्यक्ति देखें । त्यहाँ साधन, स्रोत र पहुँचको सही व्यवस्थापन र प्रयोग भएको देखें ।

हामीकहाँ अहिले पनि विद्युत्को महसुल तिर्न लाइन बस्नुपर्छ । कहिलेकाहीं त कर्मचारीहरूको हप्की पनि खानुपर्छ । कतिपय स्थानका टोकन मेसिन बिगि्रएका छन् । धूलै धूलोले भरिएका छन् । अनि ती राज्यलाई उपयोग बापत कर तिर्न बसेका नागरिकलाई गिज्याइरहेका छन् ।

प्रिय कुलमान सर !

एक मत्ता हात्तीले खाली अगाडिको मात्र देख्छ तर एक कुशल नेतृत्वले सबैतिर देख्नुपर्छ । पक्कै ती लाइनमा पनि तपाईंका आँखा डुलेका होलान् !

राष्ट्रिय ग्रेडमा अझै ८ वटा जिल्ला (जुम्ला, हुम्ला, बाजुरा, कालीकोट, मुगु, डोल्पा, रुकुम पूर्व र सोलुखुम्बु) जोडिएका छैनन् । (४ जून २०१९, नेपाल विद्युत् प्राधिकरण) यहाँ विद्यार्थी जब साँझमा सल्लाको खोटो र दियो बाली पढ्न बस्छन्, तब स्वाभिमानी नेपाली हुँ भन्ने बिर्सन्छन् । तपाईं पनि जब सन् १९७० मा रामेछापको बेथानमा जन्मनुभयो, धिपधिपाउँदो टुकीमा बाल्यकाल हुर्काउनुभयो होला । उज्यालोको खोजीमा ।

अबका दिनमा राष्ट्र लोडसेडिङ मुक्त भइसक्यो । ती तमाम दूरदराजका विद्यार्थीले कुलमानलाई किताबमा पढेका छन्, रेडियोमा सुनेका छन् । तपाईंको नाम र चर्चाको परिभाषा लगाएका छन् उनीहरू मीठो आशामा बाँचेका छन् तर यथार्थ अँध्यारै छ । उनीहरूको दिन बदलिनेछ । अब छिट्टै विद्युत् समस्याको अन्त होला किनकि कुलमान घिसिङ फेरि चार वर्षको लागि प्राधिकरणमा कार्यकारी निर्देशकमा नियुक्त भएका छन् । विश्वास छ- उज्यालोको सपनामा बाँचिरहेका सबै नेपालीको आशामा लोडसेडिङ हुनेछैन ।

अन्त्यमा यहाँको सफल कार्यकालको शुभकामना !

चाँगुनारायण-८, हनुमानचोक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?