
६ माघ, काठमाडौं । नेपाली सेनाका उपरथी अनन्त कार्कीले आफू पदावधि थपका लागि सिफारिसमा नपरेपछि प्रधानसेनापति प्रभुराम शर्माविरुद्ध उजुरी दिएका छन् ।
वरीयतामा आफूभन्दा पछाडि रहेका उपरथी सिताराम खड्का र ताराध्वज पाण्डेको मात्रै पदावधि थपका लागि सिफारिस गरिएपछि उनले रक्षा मन्त्रालयमा उजुरी दिएका हुन् ।
पूर्णचन्द्र थापाको पालामा कार्कीसहित खड्का र पाण्डेको पदावधि थप गर्ने निर्णय जंगीअड्डाले गरेको थियो । तर हालका प्रधानसेनापति शर्माले त्यस निर्णयलाई उल्ट्याएका छन् ।
कार्कीले दिएको उजुरीमा ‘सेनाको चार नम्बर उपरथीलाई पदावधी थपको पत्राचार नगरी जुनियर दुई उपथरीलाई पदावधी थपका लागि सिफारिस’ गरिएको भनिएको छ ।
विगतमा रथीको भूमिकामा रहँदा हालका प्रधानसेनापति शर्माले नै आफ्नो पदावधि थपका लागि गरेको सिफारिस उल्ट्याउनुलाई उपरथी कार्कीले ‘विशिष्ट श्रेणीको अधिकृत उपर पूर्वग्रह र बदनियत राखी स्वच्छाचारी मनोमानी ढंगले गरिएको विधि र प्रक्रिया विपरितको कदम भएको’ भनेका छन् ।
उनी पूर्णचन्द्र थापा सेनापति हुँदा उनको निकटका अधिकृत मानिन्थे ।
उनले ३० माघको मन्त्रिपरिषद् बैठकमा पदावधि थपको सिफारिस पेश हुँदा वरियतामा अगाडि रहेकालाई छुटाइएकोबारे प्रश्न उठेको पनि आफूलाई जानकारी आएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले पनि यस विषयमा जंगीअड्डालाई सोध्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी रहेको बतायो ।
सैनिक प्रवक्ता नारायण सिलवालले सेना विधि, पद्धति, अनुशासन र चेन अफ कमाण्डमा चल्ने संगठन भएको बताउँदै रक्षा मन्त्रालयमा परेको उजुरीबारे थाहा नभएको अनलाइनखबरलाई बताए ।
सैनिक ऐन अनुसार प्रधानसेनापतिले सिफारिस गरे उपरथीको २ वर्ष पदावधि थप हुनसक्छ । पदावधि थप नभए कार्कीले यही २३ माघमा अवकाश पाउनेछन् ।
प्रतिक्रिया 4