+
+

कोपा डेल रे : साविक विजेता बार्सिलोना बाहिरियो, रियल क्वाटरफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ७ गते १०:२८

७ माघ, काठमाडौ । साविक विजेता बार्सिलोना स्पानिस कोपा डेल रे फुटबलको प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ । गएराति भएको खेलमा बार्सिलोनालाई अतिरिक्त समयमा ३-२ ले पराजित गर्दै एथ्लेटिक विल्वाओ क्वाटरफाइनल प्रवेश गरेको हो ।

इकर मुनिएनले दुई गोल गरेपछि विल्वाओले अन्तिम आठमा स्थान बनाएको हो । मुनियनले अतिरिक्त समयमा विजयी गोल गरेका थिए ।

त्यसअघि खेलको दोस्रो मिनेटमै इकरले गोल गर्दै विल्वाओलाई अग्रता दिलाएका थिए । तर २० औं मिनेटमा फेरान टोरेसले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।

८६ औं मिनेटमा इनिगो मार्टिनेजले गोल गर्दै विल्वाओलाई २-१ को अग्रता दिलाए जिततर्फ अघि बढाएका थिए । तर इन्जुरी टाइममा बार्सिलोनाका पेड्रीले गोल गरेपछि निर्धारित समयको खेल २-२ को बराबरीमा सकियो र अतिरिक्त समयमा धकेलियो । जहाँ इकर मुनियनले १०५ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै विल्वाओलाई जित दिलाए ।

रियल क्वाटरफाइनलमा

बार्सिलोना बाहिरिँदा रियल भने एल्चेलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

एल्चेको मैदानमा भएको खेलमा रियलले अतिरिक्त समयमा एक गोलले पछि परेर पनि पुनरागमन गर्दै दुई गोल फर्काएको थियो । रियलका लागि १०८औं मिनेटमा इस्को र ११५औं मिनेटमा एडेन हाजार्डले गोल गरे । त्यसअघि १०३औं मिनेटमा गोन्जालो भेर्डुले गोल गर्दै एल्चेलाई अग्रता दिलाएका थिए ।

खेलमा दुवै टिमका एक एक खेलाडीले रातो कार्ड पाएका थिए । रियलले गोल फर्काउनु अघि मार्सेलोले १०२औं मिनेटमा रातो कार्ड पाएका थिए ।

एल्चेका मिल्लाले भने खेलको अन्तिम समयमा रातो (दोहोरो पहेँलो) कार्ड पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?