प्रिय पूरा…नो समय,
त्यही समय ठीक थियो, जहाँ ४ बजोस् भन्ने इच्छाले सबै इच्छालाई कुदेर जित्दथ्यो । घर आएर ब्याग फालेर, मधुर गीतहरू सुन्दै आफ्नै काममा रमाउँदै व्यस्त मम्मीको मुखबाट सुसेल्दै निक्लेका लोकभाकाले मम्मीको लोकेशन सेट गर्थ्यो । टेबलमा एक गिलास मनतातो पानी । खाजामा भुटेको मकै, चिउरा, चाउचाउ, अण्डा, बिस्कुटहरू, भुटेको भातको फ्रेस बासनाले किचन विभोर हुन्थ्यो ।
त्यतिबेला ठूलो होऊँ भन्ने आकांक्षा नभएको होइन । आफ्नो आमाको दुःख देखेर कहिले ठूलो हुन्छु होला भन्ने नलागेको होइन । दुःख र अभावले बा–आमाकै सुकोमल छायाँलाई छोएर जान्थे, मैले महसूस गर्न पर्थेन वा परेन ।
आज समय केही वर्ष तन्किएर फरक भएको छ । हाम्रो भैंसी चर्ने चौरहरूमा बस्ती मात्र छन् । साथीहरूसँग सात ढुङ्गे खेल्दा लडेर चोट लगाएका खेतहरूका मुहारमा घडेरीहरू कुँदिएका छन् ।
मेरो ठू…लो बन्ने इच्छा एक्कासी पूरा भएको छ ।
कुनै इच्छा पूरा हुने तर पनि अप्रत्याशित चिसोपनले मुटु बेर्ने यस्तो हुन्छ ?
हुँदोरहेछ !
आफ्नो उमेर बढोस् भन्ने इच्छा पाल्दापाल्दै बाउ–आमाका गालामा चाउरी बसेको पत्तै पाएनछु । उमेर बढेर केही जिम्मेवारी बोक्दै गर्दा समयले बा–आमाको वात्सल्य खोस्ला, मैले बिर्सिएछु ।
बच्चामा उमेर बढोस् भन्ने रहर अचेल घर्किंदै गएको बाउ–आमाको उमेरले गर्दा खिन्नतामा परिणत भएको छ ।ए समय, मिल्छ भने मलाई डेढ दशक अघि लगिदे । अनि कहिल्यै नचल्ने गरी आफ्ना सुईहरू रोकिदे न !
म भविष्यको अनिश्चितता, बा–आमाको मेरो नामको रित्तिएको काख, उमेरले ल्याएको कर्तव्य र जिम्मेवारीका ज्वारभाटा, चाउरीहरू बढ्दै गएका बा–आमाका गालाले त्राहि त्राहि भएको छु ।
बरु चाहिंदैन मलाई बदलिएको जिन्दगी, क्रान्तिकारी समयका नतिजाहरू, जिम्मेवारीका गह्रुँगा भारीहरू ।
बस, भुटेको भात, मनतातो पानी, २८÷२९ कि मेरी स्वस्थ आमा, ३४÷३५ का कालै जुँगा हाँस्न सक्ने मेरा बा, झोलुङ्गामा अटाउने मेरी बहिनी । दुईवटा बाख्रा, एउटा भैंसी । मलाई यति दे न फर्किएर केही दशक ।
बेला–बेला अनायासै बहकिने मन ठीकठाक वर्तमानबाट स्वप्निल भूतमा किन हाम फाल्न खोज्छ ? अनिश्चित भविष्यसँग तर्सिएर ? जिम्मेवारीबाट भागेर ? समयले थुपारेका गञ्जागोलबाट पन्छिन् ? या आनन्दको बितेको समय कल्पिन सजिलो भएर ?
हुन त धेरैलाई बिताएका पलहरू, भेटिएका मान्छेहरू, घुमिसकेका ठाउँहरू, चाखेका परिकारहरू, सजाइएका सम्झनाहरू, गर्नुपर्ने कामहरू, थाती रहेका सपनाहरू, पुग्नुपर्ने गन्तव्यहरू भन्दा कैयौं प्रिय, मीठा र न्यानो लाग्छ, ठ्याक्कै मलाई जस्तै !
कि मलाई मात्र हो, दशकअघिका गीतहरू मनोरम लाग्ने, छुटिइसकेका साथीहरू सम्झनामा झल्किरहने, गइसकेका परिवेशहरू मनको मझेरीमा बल्झिरहने ? दौडिरहेको तेरो गतिमा के म हिंड्न पनि सकिन समय ? ऊर्जाशील, परिवर्तनशील तेरो तरिकामा के म मिल्नै सकिन समय ? अरू काम नभएका होइनन्, गर्नुपर्ने धेरै छ ।
पुग्नुपर्ने दर्जन बढी गन्तव्य होलान्, तर पटक–पटक समय यात्रा गरेर पुरानो भित्तेघडीका सुईहरू छुन म किन व्यग्र छु ? सबै यस्तै व्यग्र हुन्छन् ? कि ठीकठाक मुस्कुराएर गुम्सिएका भावना हराउन अरूहरू धेरै माहिर हुन् ?
यी दोमनको हुरीले दोबाटे सोचहरूमा मलाई किन यति अचाक्ली चापेको ?
पुग्ने त होइन गइसकेको समय । छुने त होइन सकिएका पलहरू । भेटिने त होइन छुटेका साथीहरू । आउने त होइन सकिएको उमेर तर पनि हरेक पटक कपोलकल्पित भूत सम्झिंदै म किन अनौठो रोमाञ्चकतामा डुबिरहेको हुन्छु ?
प्रिय समय, मलाई निरीह कमजोर नसोच है, समयको छालले उछिट्टिएका एउटा चिट्ठी खस्रो र श्वेत भावना बाहेक कस्तो रङ्गको पो होला ?
उही तेरो सहयात्री !
प्रतिक्रिया 4