
८ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक नबोलाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।
प्रधानमन्त्रीले शनिबारका लागि सर्वदलीय बैठक बोलाएको समाचार आएपछि प्रवक्ता कार्कीले भने प्रधानमन्त्रीले बैठक नै नबोलाएको बताए । ‘सर्वदलीय बैठक प्रधानमन्त्रीले बोलाउनुभएकै छैन । कसरी समाचार मिडियामा आयो ?’ प्रवक्ता कार्कीले भने ।
प्रधानमन्त्रीले पाँच दलीय गठबन्धनबीच छलफल गररहेको प्रवक्ता कार्कीको भनाइ छ । संसद खुलाउने र आगामी स्थानीय तहको चुनावलगायतका विषयमा आवश्यक परे छलफलपछि सर्वदलीय बैठक बोलाउने उनले बताए ।
सर्वदलीय बैठक आज बिहान ९ बजेका लागि बोलाइएको समाचार सार्वजनिक भएको थियो । तर प्रमुख प्रतिपक्ष एमालेले आफूहरूलाई बैठक भएको जानकारी नै नभएको बताएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4