+
+
अग्रपथ :

‘वैकल्पिक राजनीति’को हरिबिजोग कि कठोर सम्परीक्षण ?

डम्बर खतिवडा डम्बर खतिवडा
२०७८ माघ ९ गते १०:५३

पहिलो संविधानसभाको असफलताको सेरोफेरोमा नेपालमा ‘वैकल्पिक राजनीति’ को चर्चा हुन थालेको थियो । त्यसयता यसमाथि दाबी प्रस्तुत गर्ने तीन वटा स-साना राजनीतिक संगठन थिए- विवेकशील दल, नयाँ शक्ति पार्टी र साझा पार्टी । बितेको करीब एक दशकका अभ्यास, घटनाक्रम र उपलब्धि हेर्दा ‘वैकल्पिक राजनीतिवाला’ हरूको पनि हरिबिजोग भयो भन्नु/भनिनु अस्वाभाविक हैन ।

तर, सत्य आफैंमा एक गतिशील यथार्थ हो । हिजो जे थियो, आज त्यो जस्ताको तस्तै छैन । आज जे छ, भोलि त्यो हुने छैन । सृष्टिको नियममा कुनै पनि अस्तित्व एउटै रूपमा निरन्तर रहन सक्दैन । विकासको प्रक्रियामा अनेक आरोह-अवरोह भोग्नु सबैको स्वाभाविक र साझा नियति हो ।

हरिबिजोगको भाष्य

यसबीच वैकल्पिक राजनीतिको हरिबिजोग भएको भनाइमा सत्यको अंश नभएको भने हैन । विवेकशील दल, नयाँ शक्ति र साझा पार्टीका अभ्यास, कमजोरी र असफलताको जगमा ‘हरिबिजोगको भाष्य’ बनेको हो भने त्यो ठीक छ । यही सीमा र सीमितताबाट मात्र हेर्ने हो भने ‘हरिबिजोग’ मात्र हैन, ‘कन्तबिजोग’ नै भएको हो भनेर स्वीकार गर्न सकिन्छ ।

तर, ‘वैकल्पिक राजनीति’ शब्दको अर्थ, औचित्य र परिभाषा त्यतिमा मात्र सीमित छैन, अझ धेरै व्यापक छ । ती दल त त्यसका स-साना औजार मात्र थिए । एकप्रकारको प्रयोग थिए । विज्ञानको प्रयोगशालामा जस्तै समाज विज्ञानमा पनि अनेक प्रयोगात्मक अभ्यास भइरहेका हुन्छन् । ती सबै सफल हुन्छन् भन्ने ग्यारेन्टी छैन । असफल हुँदैमा निरर्थक प्रयास थिए भन्न मिल्दैन । असफल प्रयोगहरूबाट जुन अनुभव र ज्ञानको सञ्चिति हुन्छ, त्यो भविष्यको सफलताका लागि उपयोगी हुन सक्दछ ।

मूलधार भनिंदै/मानिंदै आएका तीन राजनीतिक शक्ति, नेपाली कांग्रेस, कम्युनिष्ट र राजावादी भन्दा फरक सहभागितामूलक, प्रत्यक्ष, समानुपातिक, समावेशी र सुसंस्कृत लोकतन्त्रको पैरवी गर्ने एक नयाँ राजनीतिक शक्तिको विकास गर्नु, त्यस मार्फत अहिलेसम्म अपूरो रहँदै आएको राष्ट्रनिर्माणको कार्यभार पूरा गर्नु, साँचो अर्थमा समावेशिता, सुशासन र समृद्धि हासिल गर्नु नेपालमा वैकल्पिक राजनीतिको कार्यभार हो ।

यस अर्थमा ‘वैकल्पिक राजनीति’ भन्नाले विवेकशील, नयाँ शक्ति र साझा पार्टी हो भन्ने बुझ्न हुँदैन । २०४६ पछि नै देवेन्द्रराज पाण्डेले लोक दल बनाएर नयाँ प्रकारको सामाजिक जनवादको, गजेन्द्रनारायण सिंहले सद्भावना पार्टी गठन गरेर मधेशी, जनजातिका सवाल र समावेशिताको, कुवेर शर्माले हरियाली पार्टी स्थापना गरी जैविकतावादी विश्व दृष्टिकोण र पर्यावरणीय लोकतन्त्रको सवाललाई उजागर गर्न खोजेका थिए । ती आफ्नो समयका वैकल्पिक राजनीति नै थिए । यस्ता सबै प्रयासको शृंखला र समुच्चयमा वैकल्पिक राजनीतिलाई बुझ्नुपर्दछ । ती समेत वैकल्पिक राजनीतिका इतिहास, महत्वपूर्ण सन्दर्भ र अनुभव हुन् ।

राजावादी, कांग्रेस र कम्युनिष्ट बाहेक किन ?

कतिपयको भनाइ छ कि नेपालमा ‘वैकल्पिक राजनीति’ का लागि स्पेस नै छैन । यहाँ मान्छे कि राजावादी, कि कांग्रेस, कि कम्युनिष्ट छन् ! त्यसभन्दा बाहिर एकदमै थोरै छन् । जनताले जतिसुकै लामो मेनु पढे पनि अन्ततः चाउमिन र मःम नै माग गर्ने हुन्

कुनै पूर्वाग्रहको कारणले राजावादी, कांग्रेस र कम्युनिष्टलाई यो स्पेस भन्दा बाहिर राखिएको हैन, त्यसको वस्तुगत कारण छ । यी परीक्षण भइसकेका शक्ति हुन् । यिनीहरूको विचार क्रमशः सम्वर्धनवाद, उदारवाद र साम्यवाद हो ।

राप्रपा कुनै नयाँ राजनीतिक शक्ति हैन । त्यसको पार्टी संगठन २०४६ सालपछि बनेको होला । तर विचार, नीति, सिद्धान्त र एजेण्डामा त्यो शाहवंशीय निरंकुश राजतन्त्र, जहानियाँ राणाशाही र निर्दलीय पञ्चायती व्यवस्थाको प्रतीक र उत्तराधिकारी हो । रुढिवाद र चरम दक्षिणपन्थको प्रतीक र उत्तराधिकारी हो । त्यसले चलाएको सरकार र सत्ता राजतन्त्र र पञ्चायतको भन्दा भिन्न हुँदैन ।

कांग्रेस विश्व उदारवादको नेपाली संस्करण हो । संसदीय लोकतन्त्रको प्रतीक हो । बेलायतको शासन प्रणालीलाई आदर्श मानेर यसले संवैधानिक राजतन्त्र र संसदीय लोकतन्त्रको मान्यतामा राजनीति गर्‍यो । शब्दमा प्रजातान्त्रिक समाजवादी भनिए पनि २०४६ सालपछि यसले नवउदारवादी अर्थनीति अवलम्बन गर्‍यो । २०४६ यताको तीन दशक बढी समयमा बारम्बार सत्तामा पुगेर यो सम्परीक्षित भइसक्यो ।

कम्युनिष्टहरू विश्व साम्यवादी आन्दोलनका नेपाली रूप मात्र हुन् । यी कुनै मौलिक विचार र सोच भएका पार्टी संगठन हैनन् । माक्र्स, एंगेल्स, लेनिन, स्टालिन, माओ, किम इल सुङ होचिमिन्ह, फिडेल क्यास्त्रो आदिलाई यिनीहरूले आदर्श मान्दछन् । यी चिन्तकहरूले निर्माण गरेको विचार र स्थापना गरेका राज्यहरू संसारभरि असफल र पतन भएका छन् । ४५ देशमा सत्तामा पुगेको साम्यवाद खुम्चेर पाँच देशमा झरेको छ । त्यसमा पनि चीन, लाओस र भियतनाम निजी सम्पत्ति र बजार अर्थतन्त्रमा फर्किसकेका छन् । उत्तरकोरियाले नयाँ प्रकारको पारिवारिक वंशवाद स्थापना गरेको छ । त्यो विश्व प्रक्रियादेखि अगलावमा छ । संसारमा जसोतसो साम्यवादी सत्ता एउटा देशमा मात्रै बाँकी छ- क्युबा ।

विश्व अनुभवका दृष्टिकोणले मात्रै हैन, स्वयं नेपालकै अनुभवबाट पनि कम्युनिष्टहरू असफल भएका छन् । २०४६ साल यता उनीहरू बारम्बार सत्तामा भएर पनि कुनै उल्लेखनीय काम गर्न सकेका छैनन् । अर्थतन्त्रको ढाँचा र जनताको जीवनस्तरका कुनै सार्थक परिणाम दिन सकेका छैनन् । झण्डै दुईतिहाइको बहुमत उनीहरूले निरर्थक तुहाएका छन् । टुक्राटुक्रामा विभक्त भएर टुटफुट र गुटको राजनीतिलाई संस्कारित गरेका छन् ।

‘स्पेस’ भयो, ‘अकुपाई’ भएन

कतिपयको भनाइ छ कि नेपालमा ‘वैकल्पिक राजनीति’ का लागि स्पेस नै छैन । यहाँ मान्छे कि राजावादी, कि कांग्रेस छन् कि कम्युनिष्ट, त्यसभन्दा बाहिर एकदमै थोरै छन् । जीवन खेर फाल्न, राजनीतिक करिअर खेर फाल्न, परिणाम नआउने काममा किन लाग्ने, ‘वैकल्पिक राजनीति’ किन गर्ने ? जनताले जतिसुकै लामो मेनु पढे पनि अन्ततः चाउमिन र मःम नै माग गर्ने हुन् ।

यो विश्लेषण एकदमै सतही हो, सत्य हैन । तथ्याङ्कले यो तर्क सिद्ध गर्दैन । नेपाली कांग्रेसले सबैभन्दा धेरै २०५६ को आम चुनावमा ३७.२९ प्रतिशत मत पाएको थियो । २०१५ सालमा दुईतिहाइ सीट जित्दा पनि कांग्रेेसको भोट ३७.२० प्रतिशत मात्र थियो । कम्युनिष्टहरूका सबै घटकलाई एकै ठाउँमा जोड्दा सबैभन्दा बढी २०७४ मा ४८.२९ प्रतिशतसम्म भोट पाएका छन् । राप्रपाले सबैभन्दा बढी भोट २०५१ सालको आम निर्वाचनमा पाएको हो- १७.९३ प्रतिशत । गत निर्वाचनमा त यसले थ्रेसहोल्ड नै काटेन ।

औसत विश्लेषण गर्दा नेपाली कांग्रेससँग ३० प्रतिशत, कम्युनिष्टका सबै घटक वा समूह गरेर ४० प्रतिशत र राजावादीसँग ५ प्रतिशत मात्र सैद्धान्तीकृत मतदाता (इनडक्टि्रनेटेड भोटर) छन् । यी तीन वटैका समर्थक र मतदाताले ‘वैकल्पिक पार्टी’ लाई भोट दिंदैनन् भनेर मान्ने हो भने ७५ प्रतिशत मात्र हुन्छ । बाँकी २५ प्रतिशत भोट वैकल्पिक राजनीतिको प्रष्ट स्पेस हो । यो भोट एकीकृत हुनसक्ने हो भने धेरै ठूलो राजनीतिक शक्तिको जन्म हुन्छ । तसर्थ ‘वैकल्पिक पार्टी’ का लागि राजनीतिक स्पेस नै छैन भन्ने विश्लेषण विल्कुल गलत हो । समस्या कहाँ हो भने त्यो भोट एकीकृत हुन सकिरहेको छैन । आफ्नो स्पेसलाई राम्ररी अकुपाई गर्न सक्ने शक्ति संगठित नहुनु समस्या हो । छिरलिनु समस्या हो ।

राजनीतिक रंगावलीको वर्तमान परिदृश्य

राजनीतिक रंगावली (पोलिटिकल स्पेक्ट्रम) सर्वथा गतिशील हुन्छ । कुनै एक समय, अवधि वा परिस्थितिको विश्लेषण स्थिर हुन्छ भन्ने छैन । रंगावलीमा राजनीतिक शक्तिको स्थान परिवर्तन भइरहन्छ । समकालीन राजनीतिक रंगावलीका पाँच वटा विन्दु प्रष्ट देखिन्छन् ।

एक- पश्चगामी शक्ति । यसको नेतृत्व राप्रपा र विवेकशील साझाको साझा पक्षले गरिरहेको छ । पुराना अनुहार बिक्न छोडेपछि यो शक्तिले केही नयाँ अनुहारहरू ब्रान्डिङ गर्दैछ । कमल थापा, पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी ‘फेजआउट’ हुने र त्यो ठाउँ राजेन्द्र लिङ्देन, धवलशमशेर जबरा र रवीन्द्र मिश्रले लिने सम्भावना प्रखर भएको छ ।

यसबीच यो धारको आत्मबल थोरै बढे जस्तो देखिन्छ । इतिहासको चिडियाघरभित्र थन्किसकेका पश्चगामीहरू यसबीच अलिक चर्को स्वरमा मुखरित हुन थालेका छन् ।

दुई- दक्षिणपन्थी शक्ति । हिजो वामपन्थी पृष्ठभूमि भए पनि तत्कालिक रूपमा दक्षिणपन्थको स्पेस नेकपा (एमाले) ले लिएको छ । मूलतः झण्डै दुई तिहाइको ऐतिहासिक अवसरको दुरुपयोग, दुई-दुई पटकको असंवैधानिक संसद विघटन, निरन्तरको संसद अवरोध, संविधानवाद र न्यायिक मर्यादा विपरीतका अभिव्यक्ति, सबै प्रकारका राष्ट्रिय सहकार्यहरूबाट अगलाव र आफ्नै स्थापित परम्परा विपरीत अन्तरपार्टी लोकतन्त्रको संकुचनको कारणले गर्दा यो शक्ति वामपन्थीबाट दक्षिणपन्थी भूमिकामा पुगेको हो । यस धारको नेताका रूपमा एकछत्र केपी शर्मा ओली छन् ।

यी सबै यथार्थलाई एकठाउँमा ल्याउँदा वैकल्पिक राजनीतिक शक्ति निर्माणको महाभियान हरिबिजोग भइसक्यो भन्ने लाग्दैन । बरु यो कठोर परीक्षाको चरणमा छ, निर्मम प्रयोग र सम्परीक्षणको चरणमा छ भन्न सकिन्छ

तीन- वामपन्थी शक्ति । वामपन्थी शक्ति इतिहासमै सर्वाधिक कमजोर भएको छ । नेकपाका वैद्य, विप्लव र आहुति जस्ता केही साना समूहले यो धारको नेतृत्व गर्दछन् । ठीक यतिखेर उनीहरू रंगावलीमा एउटा सानो थोप्लो जस्तो देखिन्छन् । यिनीहरूको शक्ति यतिखेर निर्णायक छैन ।

चार-यथास्थितिवादी शक्ति । यो धारमा नेपाली कांग्रेस छ । साथै माओवादी केन्द्र र नेकपा (एस) को भूमिका पनि आजको मितिसम्म यही विन्दुमा छ । कांग्रेस यथास्थितिवादी धारमै रहने प्रष्ट छ । कांग्रेससँग दीर्घकालीन गठबन्धनको नाममा माओवादी केन्द्र र नेकपा (एस) यथास्थितिवादमै अलमलिन्छन् वा अन्य कुनै भूमिकामा बदलिन्छन्, त्यो अस्पष्ट छ ।

पाँचौं- रंगावलीको पाँचौं स्थान अग्रगामी शक्तिहरूको हो । अग्रगामी शक्ति कुन हो भनेर दाबी गर्नु भन्दा पहिला अग्रगमनका एजेण्डाबारे प्रष्ट हुनुपर्दछ, जसले यी एजेण्डा बोक्दछ, त्यही अग्रगामी हो ।

अग्रगमनका एजेण्डा

संघीय समाजवादी लोकतान्त्रिक गणतन्त्रको लक्ष्य अग्रगमन हो । प्रत्यक्ष, सहभागितामूलक, समानुपातिक, समावेशी, सभ्य र सुसंस्कृत लोकतन्त्रको आकांक्षा अग्रगमन हो । राष्ट्रिय समुदायहरूको समावेशिता, सीमान्तकृत समुदायहरूको सहभागिता, सशक्तीकरण र आरक्षण, सकारात्मक विभेद र सामाजिक न्याय अग्रगमन हो । संविधानको संशोधन वा पुनर्लेखन, प्रदेशको पुनः सिमाङ्कन, वित्तीय संघीयताको माग अग्रगमन हो । प्रत्यक्ष निर्वाचित शासकीय स्वरूप र समानुपातिक निर्वाचन प्रणालीको माग अग्रगमन हो । पहिचान र अधिकारको सुनिश्चितता र बहुभाषिक नीतिको अभ्यास अग्रगमन हो । तीव्र आर्थिक वृद्धि, पर्याप्त भौतिक पूर्वाधार, दिगो विकास, समन्यायिक वितरण र समतामूलक समृद्धिको आकांक्षा अग्रगमन हो । संक्षेपमा सहभागितामूलक लोकतन्त्र, समावेशिता, सुशासन र समृद्धिको समुच्चय नै यतिखेरको अग्रगमन हो ।

यी सवाल मूलतः अहिले जसपाले बोकिरहेको छ । त्यसैगरी विवेकशील साझाको विवेकशील पक्ष पनि यी सवालको नजिक देखिन्छ । लोसपा एजेण्डाले यही धारको दल हो तर राजनीतिक व्यवहारले त्यसले ठूलो गल्ती गर्‍यो । ओली प्रतिगमनलाई साथ दिएर आफ्नो राजनीतिक भविष्य नै दाउमा हाल्यो । माओवादी केन्द्र र नेकपा (एस) ले चाहेमा यथास्थितिवादी कित्ता छोड्ने र अग्रगामी कित्तामा आउन सक्ने सम्भावना छ ।

जसपाः केही स्पष्टीकरण

नयाँ शक्तिबाट समाजवादी पार्टी हुँदै जसपासम्म आइपुग्दा कतिपयको तर्क हुन्छ- यो फोरममा विलयन भइसक्यो । प्रष्ट हुन के जरूरी छ भने फोरम आफैंमा एक वैकल्पिक अभ्यास थियो । त्यो राजावादी, कांग्रेस वा कम्युनिष्ट थिएन । फोरम धारबाट आएका सबै नेता र कार्यकर्तामा अग्रगमनका उपरोक्त एजेण्डाप्रति स्वामित्वभाव छ । समर्थन, लगाव र गौरवपूर्ण अनुभूति छ । त्यो कायमै छ ।

पार्टीहरूको नाम र चुनाव चिहृन कानूनी र प्राविधिक पक्ष हो, राजनीतिको मूल विषय त्यो हैन । पार्टीको नाम र चुनावचिहृनका आधारमा पार्टी फेरेको, विचार, एजेण्डा छोडेको भन्न मिल्दैन । यस्तो त फेरि पनि हुन सक्दछ । पार्टीको नाम हैन, विचार एजेण्डामा ध्यान दिनुपर्छ । यसमा निरन्तरता छ । एजेण्डा निरन्तरतामा छन् भने ब्राण्ड महत्वपूर्ण हैन ।

क्षेत्रीय पार्टीको आरोप

कस्तो पार्टीलाई क्षेत्रीय, कस्तोलाई राष्ट्रिय वा कस्तोलाई संघीय पार्टी भनिन्छ, त्यसको प्रष्ट मानक र परिभाषा हुन्छ, त्यो त्यसै पूर्वाग्रहको भरमा भन्न मिल्ने कुरा हैन । सामान्यतः कुनै एक प्रदेशको पार्टीलाई क्षेत्रीय पार्टी भनिन्छ । त्यस्तो पार्टीले अरू प्रदेशमा विकास गर्ने लक्ष्य नै राख्दैन ।

जस्तो कि भारतको सिक्किममा अहिले सिक्किम क्रान्तिकारी मोर्चा नामको पार्टी सत्तामा छ । यसको नाममै सिक्किम भएपछि यो सिक्किमको मात्र पार्टी भयो, अरू प्रदेशमा हुने भएन । झारखण्ड मुक्ति मोर्चा झारखण्ड प्रदेशमा मात्रै हुने भयो अरू प्रदेशमा हुने भएन ।

नेपालमा पनि कसैले कुनै प्रदेशलाई मात्र लक्षित गरेर पार्टी बनाउँछ भने त्यो क्षेत्रीय पार्टी हुन्छ । संघीय शासन प्रणालीमा क्षेत्रीय पार्टी हुनु पनि कुनै नराम्रो कुरा हैन । भारतमा यस्ता थुप्रै क्षेत्रीय वा प्रादेशिक पार्टी छन् । तमिलनाडुका डिएमके, एआईडिएके अरू प्रदेशमा हुँदैन । तर, तमिलनाडुलाई ती दलले राम्रो शासन प्रशासन दिएका छन् । तर, नयाँदिल्लीको आप भने दिल्लीमा मात्र भए पनि क्षेत्रीय वा प्रादेशिक पार्टी हैन । आप दिल्लीमा मात्र हुन चाहेको हैन, अरू प्रदेशमा बढ्न नसकेको हो, अहिले फैलिन खोज्दैछ ।

कर्णाली पार्टी, गण्डकी मोर्चा, मधेश मोर्चा, थरुहट मोर्चा आदि यस्ता पार्टी बन्छन् भने ती क्षेत्रीय पार्टी हुन् । राष्ट्रिय पार्टी भनेको चाहिं एक कानूनी मानक हो । तीन प्रतिशत भोट ल्याउने सबै पार्टी राष्ट्रिय हुन्, चाहे त्यो कुनै एक प्रदेशको मात्र भोटबाट आएको किन नहोस् । संघीय शासन प्रणालीमा सबै प्रदेशमा फैलिएको, फैलिन चाहने, सबै प्रदेशका मुद्दालाई एकठाउँ एकीकरण गर्ने पार्टीलाई ‘फेडेरल पार्टी’ भनिन्छ । चरित्रले जसपा यथार्थमा फेडेरल पार्टी हो, तीन प्रतिशत थ्रेसहोल्ड काटेको हुँदा कानूनतः राष्ट्रिय पार्टी भन्न मिल्ला तर मूलतः यो फेडेरल पार्टी हो ।

सात वटै प्रदेशमा यसका प्रदेश कमिटी छन् । सात मध्ये ६ वटा प्रदेशका प्रदेश सभामा यसका निर्वाचित प्रदेश सांसद छन् । एउटा प्रदेशमा सरकारको नेतृत्व गर्दैछ । बाँकी तीन वटा प्रदेशमा सरकारको साझेदार दल हो । ७७ मध्ये ७५ जिल्लामा यसका कमिटी र पार्टी सदस्य छन् । ७५३ मध्ये करीब ७०० गाउँपालिका/नगरपालिकामा यसका पालिका कमिटी छन्, यस्तो पार्टीलाई क्षेत्रीय पार्टी भन्न मिल्ने हो र ?

अर्काे तर्क-जसपाले जातीय पहिचानका आधारमा प्रदेश बनाउन चाहन्छ । यो जातीय वा पहिचानवादी पार्टी हो । झट्ट हेर्दा यो तर्क ठीकै हो जस्तो लाग्दछ । तर, यथार्थमा मधेशवाद वा पहिचानवाद भन्ने राजनीतिक विचारधारा संसारको कुनै पनि देशमा हुँदैन । राजनीतिक विचारधारा विश्वव्यापी हुन्छ । यो पार्टीको मूल विचारधारा संघवाद र समाजवाद हो, मधेशवाद र पहिचानवाद हैन । मधेश र पहिचान भनेका मुद्दा हुन्, सवाल हुन् । संघवादको विचारधाराले त्यसलाई सम्बोधन गर्न सक्दछ । सवाल, एजेण्डा वा इस्यु आफैंमा वाद वा विचारधारा हुँदैनन् ।

जस्तो कि भारतमा भाजपाले उत्तराखण्ड, झारखण्ड, तेलङ्गाना आदि प्रदेश गठन गर्न राजी भयो । यसको अर्थ भाजपा अब उत्तराखण्डवादी, झारखण्डवादी, तेलङ्गानावादी पार्टी भयो भन्न मिल्दैन । विचारधाराका दृष्टिले भाजपा हिन्दू-राष्ट्रवादी पार्टी हो । ती राज्य गठन त सवाल थिए, इस्यु थिए ।

कुनै अमूक समुदायको व्यक्ति मूल नेता हुनुले त्यो पार्टी त्यही समुदायको मात्र हुँदैन । खसआर्य बाहेक अरू समुदायका मानिस मूल पार्टीको मूल नेता र राज्यको मूल कार्यकारी हुन सक्दैनन् भन्ने मनोवैज्ञानिक समस्याबाट अब सबै मुक्त हुनुपर्दछ । यो दोषभागिताबाट बाहिर निस्कनै पर्छ । जुनसुकै जाति र समुदायका सक्षम र जिम्मेवार व्यक्ति पार्टीको मूल नेता र मूल कार्यकारी हुन सक्दछन् भन्ने पुष्टि गर्नै पर्दछ । अनि मात्र देशको एकता बलियो हुन्छ ।

अमेरिकाले समेत बाराक ओबामा जस्ता राष्ट्रपति र कमला हृयारिस जस्ता उपराष्ट्रपति दिइसक्यो । नेपालले यो काममा अब ढिलो गर्नुहुँदैन ।

इतिहासको जटिल बाटो

ठीक यतिखेर एजेण्डाका दृष्टिकोणले जसपा नै नेपालको सबैभन्दा अग्रगामी पार्टी हो भन्न कुनै हिचकिचाहट राख्नुपर्दैन । तर, यो नै नेपालको बौद्धिक, शहरिया मध्यम वर्ग, पढालेखा युवापुस्ताले कल्पना गरेको ‘वैकल्पिक शक्ति’ हो भन्ने दाबी कमजोर हुन्छ । कतिपयलाई हास्यास्पद दाबी पनि लाग्न सक्दछ । पक्कै, जसपा र यसका नेताहरूसँग इतिहासका थुप्रै ‘ब्यागेज’ हरू छन् ।

तर, बिल्कुल नयाँहरू चाहिं ‘वैकल्पिक’ हुन्छन् भन्ने दाबी पनि आखिर पुष्टि त भएन । विवेकशील साझाका अनुभव र अभ्यासहरू, टुटफुट, गुट र अविश्वासहरू, सनकका भरमा पार्टीको स्थापनाकालीन उद्देश्य नै कुनै अमूक व्यक्तिले ‘मार्ग परिवर्तन’ गर्दिन सक्नेसम्मको धोकाबाजी र गद्दारीलाई खै के भन्ने ?

हो, संगठनात्मक संस्कार र व्यवहारमा ब्यागेज छन् तर कम्तीमा जसपा धारका नेताहरूले विचार र एजेण्डाप्रति यो स्तरको धोकाबाजी गरेका छैनन् । शायद गर्दैनन् पनि ।

इतिहासको कोर्स निःसन्देह जटिल हुन्छ । यो जटिल बाटोमा यात्रा गर्दा सबै चिज खोजे जस्तो, सोचे जस्तो पाइँदैन । चाहे जस्तो पाइँदैन, पाएको लिएर हिंड्नुपर्दछ ।

यी सबै यथार्थलाई एकठाउँमा ल्याउँदा वैकल्पिक राजनीतिक शक्ति निर्माणको महाभियान हरिबिजोग भइसक्यो भन्ने लाग्दैन । बरु यो कठोर परीक्षाको चरणमा छ, निर्मम प्रयोग र सम्परीक्षणको चरणमा छ भन्न सकिन्छ ।

लेखकको बारेमा
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक डम्बर खतिवडाको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?